मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

जैविक विविधताको संरक्षण नगरे मानव अस्तित्वमा नै खतरा : राष्ट्रपति

जैविक विविधताको संरक्षण नगरे मानव अस्तित्वमा नै खतरा : राष्ट्रपति


चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको असरबाट जैविक विविधताको संरक्षण गर्न नसके मानव अस्तित्वमा नै खतरा उत्पन्न हुनसक्ने बताएकी छन् । १५ औँ चितवन हात्ती महोत्सवको सौराहामा उद्घाटन गर्नुहुँदै उनले भविष्यमा जलवायु परिवर्तनको असरबाट बचाउनेतर्फ सबै क्षेत्र लाग्नुपर्ने बताइन् । 
 
उनले भनिन्, “भविष्यमा जलवायु परिवर्तनको असरबाट चितवन राष्ट्रिय निकुञ्जबाट हात्ती, गैँडा र जैविक विविधता लोप हुन पुगे र पर्यटक आउन छाडे भने हाम्रो पर्यटन क्षेत्रमा ठूलो असर पर्ने नै छ ।” उनले थपिन्, “भविष्यका सन्ततिलाई समेत यी प्राकृतिक स्रोत र साधन नासोका रुपमा सुम्पिन सकेनौँ भने वन्यजन्तु र वनस्पति त लोप हुने नै छन्, त्योभन्दा बढी समग्र मानव अस्तित्वमा नै खतरा उत्पन्न नहोला भनेर भन्न सकिँदैन ।” 
 
राष्ट्रपति भण्डारीले सर्वश्रेष्ठ चेतनशील प्राणीका रुपमा रहेको मानव समाजलाई समृद्ध बनाई रहन जीवजन्तु र प्रकृतिलाई दुःख दिन र सङ्कट थुपार्नु राम्रो कुरा नभएको बताइन् । 
 
यस क्षेत्र भएर बग्ने महत्वपूर्ण नदीले चितवन राष्ट्रिय निकुञ्जको जैविक विविधतालाई जीवन्त राख्न ठूलो भूमिका निर्वाह गरिरहेको भन्दै उनले विश्व सम्पदा तथा रामसार सूचीमा सूचीकृत यहाँका सम्पदाको संरक्षण र सम्बद्र्धनमा ध्यान पु¥याउँदा ठूलो सांस्कृतिक गन्तव्यको रुपमा रहेको देवघाट क्षेत्रको समेत विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।  
 
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा पर्यावरणमैत्री भौतिक पूर्वाधारको विकास गरी पर्यटन प्रवद्र्धनमा ध्यान दिनु आवश्यक रहेको उनले बताइन् । राष्ट्रपति भण्डारीले पर्यापर्यटनको दिगो विकासका लागि सोही अनुकूलको शैक्षिक जनशक्ति उत्पादनमा पनि जोड दिनुपर्ने खाँचो औँल्याइन् । 
 
देशको अर्थतन्त्रलाई महत्वपूर्ण योगदान पु¥याउने पर्यटन उद्योगले सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपाली भन्ने सङ्कल्प साकार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ भन्ने आफ्नो पूर्ण विश्वास रहेको उनको भनाइ थियो । 
 
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वन र वन्यजन्तु मानव जीवनको अभिन्न अङ्ग भएकाले यिनीहरुको संरक्षणमा सरकारले प्रमुख दायित्व लिएको बताए । उनले पर्यापर्यटनको अथाह सम्भावना भएको नेपालमा वन र वन्यजन्तुमा आधारित यस्ता गतिविधिले पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको बताए । 
 
सोही अवसरमा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पर्यटनको ठोस योजना नहुँदा प्रदेश सरकार अलमलमा रहेको भन्दै पर्यटनको विकासलाई ओझेलमा राखेर देशमा समृद्धि ल्याउन नसकिने बताए । 
वन र वन्यजन्तु देशका अमूल्य निधि भएको भन्दै उनले यस्ता मेलामहोत्सवले वन्यजन्तु र मानवबीचको द्वन्द्व घटाउन सहयोग पुग्ने विचार राखे । 
 
कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, नेपाल होटल सङ्घका केन्द्रीय अध्यक्ष अमरमान शाक्य, क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरे, प्रथम उपाध्यक्ष दीपक भट्टराईले चितवनको पर्यटन विकासका संभावनाबारे प्रकाश पारे । 
 
सो अवसरमा संरक्षणतर्फ चितवन राष्ट्रिय निकुञ्जका पूर्वसहायक संरक्षण अधिकृत नुरेन्द अर्याल र पुरुषोत्तम पाण्डे तथा पर्यटन व्यवसायतर्फ अमरमान शाक्य र हरिहर सैजुलाई सम्मान गरिएको थियो ।