चितवन । आगामी पुस २५ देखि माघ ४ गतेसम्म नारायणगढको नारायणी नदी किनारमा हुने १२औँ चितवन महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवको मिति नजिकिँदै जाँदा महोत्सव स्थल निर्माण तथा अन्य कामहरुलाई अगाडि बढाइएको हो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानका अनुसार यस वर्षको चितवन महोत्सव पर्यटन प्रवद्र्धनमा केन्द्रित हुनेछ । नेपाल सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्य लिएअनुसार यस वर्षको चितवन महोत्सवले पर्यटकीय गतिविधिलाई बढाउने काम गर्ने प्रधानले बताए ।
प्रधानका अनुसार महोत्सव परिसरमा कृत्रिम चियाखाना, फनपार्क, ¥याफ्टिङ, राष्ट्रियस्तरको पर्यटन सेमिनार, आईसीटी परिसर, पोल्ट्री परिसर, नेपाली उत्पादन परिसर रहनेछन् ।
कृत्रिम चिडियाखानामा गैँडा, हात्तीसहितका १० वटा जीवजन्तु तथा डाइनासोरलगायतका नेपालमा नपाइने १० प्रजातिका जीवजन्तुहरुको प्रतिमूर्ति राखिने प्रधानले बताए । यस वर्षको चितवन महोत्सवमा बालउद्यान समेत रहने उल्लेख गर्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानले बाल उद्यानका लागि टेन्डर खुला गरिएको बताए ।
यस वर्षको चितवन महोत्सवमा पाँच सयभन्दा बढी स्टलहरु रहने उल्लेख गर्दै प्रधानले थारु, कुमाल, गुरूङ जातिको संस्कृति झल्किने खालका सांस्कृतिक घरहरु समेत राखिने बताए ।
नारायणगढको नारायणी नदी किनारमा रहेको प्रदर्शनी मैदान हरेक दुई/दुई वर्षमा आयोजना हुने महोत्सवमा यस वर्ष करिब पाँच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।
माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवलाई सफल पार्नका लागि विभिन्न समितिहरुको कार्यगत बैठकसमेत भइरहेको प्रधानले बताए ।
प्रतिक्रिया