मनहरु,
अस्ति, हिजो, आज
एक पछि अर्को निहुँ मा
क्रमशः बरालिदै छ।
मनहरु –
किन यसरी बेचैन छन?
उभिएको माटो उही छ
जन्मिएको भूमी उही छ
काम उही छ, दाम उही छ ।
मनै त हो
कहिलेकाही तलमाथि हुन सक्छ
स्वभाबिक हो यदाकदा बाटो बिरिन सक्छ।
तर, सीमा नाघेर बिराउनु!?
संयोग मात्र हुन सक्दैन।
अचेल –
हतास छ्न केही थान मनहरु
युद्ध हारेको सीपाही झैँ
स्खलित यौन पिपासु झैँ
सही गलत छुट्याउन नसकेर
चन्द्र-सूर्य उठाउने हातहरु
आमाको सुन्दरता मै
बलात्कार गर्न पन्जा लम्काउदैछ।
खै किन हो कुन्नी मनहरु
आमाको ताते-ताते
को-खाई, को-खाइ बिर्सेर
हिजो तरकारीमा परेको
टाठो नूनलाई निहुँ बनाएर
दाजुभाई, दिदिबहिनी सङ्ग
पत्नी च्यापेर छुट्टिन खोज्दैछ।
हेर बाबु, आमा-आमा हुन
तिम्री पत्नी फेरिन सक्छे
आमाको माया फेरिन्न।
दाजुभाई, दिदिबहिनीको रीस साध्न
पराईका सामू आमालाई निर्बस्त्र बनाउनु?
सम्झाउ ती मनहरुलाई।
हो- मनहरु बरालिन्छ्न बेला-बेलामा
पढ त- हरेक आत्महत्या का नोटहरू
त्यहाँ बरालिएकै मनका कथाहरु हुन्छ्न।
बोलाउ सवै मनहरुलाई
आउ-सङ्गै बसौं, सल्लाह गरौं
तिमीलाई प्रष्ट थाहा छ
म नेपाली, तिमी पनि नेपाली
म भूतपूर्व, तिमी पनि भूतपूर्व।
एक पटकको नेपाली सधैंको नेपाली
नारा एउटै, बहाना एउटै
जन्मभूमी एउटै, कर्मभूमी एउटै
एजेण्डा एउटै, उद्देश्य एउटै
राष्ट्र गान एउटै, पहिचान एउटै
अनि के का लागी झण्डा फरक?
आउ, एउटै झण्डा समाएर भनौं
सम्पूर्ण नेपाली एक हौं !
हाम्रो नेपाल जिन्दावाद !!
– कोपेल, टेक्सस
सेप्टेम्बर २७, २०१८






प्रतिक्रिया