बिश्व घटना

क्षेत्रीय युद्धबारे इरान, रुस र भारतबीच कूटनीतिक संवाद

क्षेत्रीय युद्धबारे इरान, रुस र भारतबीच कूटनीतिक संवाद


शेयर गर्नुहोस:

297
Shares

  • change font
  • change font

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पश्चिम एशियामा जारी क्षेत्रीय द्वन्द्वका विषयमा रुस र भारतका विदेशमन्त्रीहरूसँग टेलिफोनमार्फत छुट्टाछुट्टै छलफल गरेका छन् ।

इरानको विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको विवरणअनुसार उनले रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभ र भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरसँग पश्चिम एसियामा भइरहेको पछिल्लो अवस्थाबारे तथा संयुक्त राज्य अमेरिका र इजरायलका आक्रमणका कारण उत्पन्न सुरक्षा र आर्थिक प्रभावबारे विचार आदानप्रदान गरेका हुन् ।

Advertisement

अराघचीले पछिल्ला ३७ दिनमा अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएका आक्रमणहरूबारे विस्तृत जानकारी दिँदै औद्योगिक संरचना, उत्पादन केन्द्र, अस्पताल, विद्यालय, आवासीय क्षेत्र तथा आणविक केन्द्रहरूमा भएको क्षतिबारे चर्चा गरेका थिए ।

उनले संयुक्त राष्ट्र सुरक्षा परिषद् का प्रभावशाली सदस्यहरूलाई अन्तर्राष्ट्रिय कानुनअनुसार जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे । उनले इरानी जनता र सुरक्षा बलहरू आफ्नो राष्ट्रिय हित र सुरक्षाको रक्षा गर्न दृढ रहेको उल्लेख गर्दै अमेरिका र इजरायलका कदमले क्षेत्रीय तथा विश्व स्थिरतामा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन् ।

यसैबीच, लाभ्रोभले नागरिक लक्षित आक्रमणहरू, विशेषगरी बुशेहर आणविक विद्युत् केन्द्रमा गरिएका हमलाहरू तत्काल रोक्नुपर्नेमा जोड दिए र द्वन्द्व विस्तार हुन नदिन सबै अवसरहरूको उपयोग गर्नुपर्ने बताए । त्यस्तै, जयशङ्करले क्षेत्रीय स्थिरता र सुरक्षालाई पुनःस्थापित गर्न कूटनीतिक प्रयासहरूको महत्त्व औंल्याउँदै युद्ध रोक्न भइरहेका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय पहलप्रति भारतको समर्थन रहेको बताएका छन् ।

फेब्रुअरी २८ देखि अमेरिका र इजरायलद्वारा इरानमाथि संयुक्त आक्रमण सुरु भएपछि क्षेत्रीय तनाव बढेको हो, जसको प्रत्युत्तरमा इरान र उसका सहयोगीहरूले मध्यपूर्व क्षेत्रमा अमेरिकी र इजरायली हितहरूलाई लक्षित गर्दै आक्रमण गरेका छन् । सिन्ह्वा