मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नेकपा एनआरएनमैत्री पार्टी होः पहारी

नेकपा एनआरएनमैत्री पार्टी होः पहारी


हिमालयखवर संवाददाता
टेक्सस (अमेरिका) – नेपालका प्रदेश सभाका सांसद राजीब पहारीले नेपाल कम्युनिष्ट पार्टीनै गैर आवासीय नेपाली मैत्री पार्टी भएको दावी गरेका छन् । 
 
आइतबार टेक्ससको ड्यालसमा उक्त पार्टी निकटहरुसँगको अन्तरकृयामा सांसद पहारीले नेकपा नेपालको सबैभन्दा ठूलो एनआरएनमैत्री पार्टी भएको बताएका हुन् । ‘हामीलेनै जापानमा स्थापित भएका डा. सूर्य पाठकलाई नेपालमा लगेर सांसद बनायौँ, अमेरिकाबाट गएकालाई मेयर बनायौँ । अब भन्नुस कस्ले तपाई एनआरएनलाई महत्व दिइरहेको छ?’ उनले प्रश्न गरे ।
 
एनआरएनलाई नागरिकताको संबन्धमा डा. पाठकको पहलमै संशोधन प्रस्ताव दर्ता भएको र सबैले नागरिकता पाउनेमा आफू विश्वस्त रहेको बताए । शनिबार पूर्ब प्रधानमन्त्री तथा नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले एनआरएनहरुलाई राजनीतिक अधिकार सहितको नागरिकता दिने पक्षमा आफू रहेको बताएका थिए । 
 
पहारी तत्कालिन एमाले निकट प्रजातान्त्रिक राष्ट्रिय युवा संघका अध्यक्ष थिए । सांसद निर्वाचित भएपछि उनले अध्यक्ष पद छाडेका थिए । हाल उनी गण्डकी प्रदेशका सभासद् हुन् । 
 
नेपालमा अहिलेनै लगानीका लागि यहाँ कमाएको रकम ओइर्याउनुस् भनेर आफूले नभन्ने बताउँदै पहारीले सरकारले उचित वातावरण बनाइरहेको र त्यसपछि लगानी गर्न उनले आग्रह गरे । ‘अहिले ८/१० करोड नेपालमा लगानी गर्ने उद्वेश्यले कोही गयो भने २/४ करोड त अण्डर टेबुल ख्वाउनुपर्छ । अझै एनआरएन भनेर जानुभयो भने त झनै दुहुनो गाई बनाउने सरकारी संयन्त्र छ,’ पहारीले भने । उनले नेपालमा लगानी भित्राउनका लागि उचित नीति, नियम, वातावरण बनाउन वर्तमान सरकार लागिपरको बताए । 
 
गण्डकी प्रदेशका सभासद रहेका पहारीले आफु फेवातालको क्षेत्रफल बढाउन लागिपरेको उल्लेख गरे । फेवाताल अहिले आसपासका क्षेत्रबाट बगेर आउने माटो, बालुवाले पुरिँदै गएको छ । 
 
त्यस्तै मानिसको अतिक्रमण, जलकुम्भी झारले गर्दा पनि फेवाताल साँघुरो भैरहेकोले त्यसलाई पुरानै अवस्थामा पुर्याउन आफू लागिरहेको बताए । 
 
कर्ण शाक्यको वाटरफ्रन्ट रिसोर्टले समेत फेवाताल मिचेको अदालतले प्रमाणित गरिसकेको उनले बताए । ‘मिचिएको संरचना भत्काएर फेवातालको क्षेत्रफल बढाउन खोज्दा फेरि अदालतमा मुद्धा परेको छ । जसले गर्दा कामहरु देखिनेगरि गर्न सकिएको छैन,’ उनले भने । 
 
प्रदेश सरकारसँग क्षमता हुँदाहुँदै पनि अधिकार नपाएको र क्षमता नहुने स्थानीय सरकारलाई भने जवरजस्ती अधिकारहरु थोपरिएको प्रति समेत उनले गुनासो गरेका थिए । 
 
सहभागीहरुले सरकारको कामकारवाही सन्तोषजनक र जनतामा उत्साह ल्याउने, राहतमुखी नभएको भन्दै प्रश्न राखेका थिए । 
 
सहभागीहरुले विवादास्पद दिगम्बर झाको नियुक्तिले सरकारले सुशासनको संकेत नदिएको धारणा राखेका थिए । त्यसक्रममा पहारीले झा अयोग्य रहेको बताउँदै जनता र सरकारले निरन्तर निगरानी गर्नुपर्नेमा जोड दिएका थिए । 
 
प्रवासी मञ्च टेक्ससले आयोजना गरेको कार्यक्रमको सभापतित्व अध्यक्ष मणि भण्डारीले गरेका थिए । त्यस अवसरमा भीम कार्की, जनक राना, कमल ओझा, सुशील क्षेत्री, कृष्ण भट्टराई, चन्द्रमणि पाण्डे, राजेन्द्र वाग्ले, सोफिन थापा लगायतले पहारीसँग बिभिन्न विषयमा जिज्ञासा राखेका थिए ।

शेयर गर्नुहोस:

0
Shares