चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–९ स्थित सुर्तनीमा देखिएको बर्डफ्लु के कारणले फैलियो भन्ने पत्ता लाग्न सकेको छैन ।
स्थानीय कुखुरापालक किसान राजन राजन चौधरी र लक्ष्मण चौधरीले पालेको २५ सय कुखुरामा बर्डफ्लु देखा परेपछि सो सो क्षेत्रमा रहेका विभिन्न फर्मका ११ हजार कुखुरा नष्ट गरिएको छ ।
जिल्ला पशु सेवा कार्यालय भरतपुरका प्रमुख डा चेतनारायण खरेलका अनुसार पाँच वर्षपछि कुखुरामा बर्डफ्लु भएको पुष्टि भएको हो । के कारण्ले संक्रमण देखियो भन्नेचाहिँ अहिलेसम्मको अध्ययनबाट पत्ता लाग्न नसकेको उनी बताउँछन् ।
उनी भन्छन्, ‘दक्ष तथा विज्ञ टोलीको लामो खोज र अनुसन्धानपछि पत्ता लाग्न सक्छ । अहिलेको छोटो समयको अध्ययनले बर्डफ्लु कहाँबाट कसरी फैलियो पत्ता लागेन ।’
सुर्तनीमा अचानक बर्डफ्लु देखिएकाले यसको अनुसन्धान र खोजमा विज्ञहरु लागिरहेका छन् । बर्डफ्लु देखिएको पुष्टि भएपछि प्रभावित सो क्षेत्रमा रहेका पोल्ट्रीफर्मका कुखुरा नष्ट गर्ने काम सकिएको छ । तीन दिन लगातार कुखुरा नष्ट गरिएको थियोे ।
जिल्ला पशु सेवा कार्यालयका डा विकास श्रेष्ठका अनुसार ‘चारकिल्ला भित्रका पक्षी र पक्षीजन्य पदार्थ नष्ट गरी खाडलमा पुरिएको हो । खाली रहेका खोरलाई पनि निसंक्रमण गरिएको छ । बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा खोरहरुमा चुना र भिर्कोन स्प्रे छर्किएको छ ।
बर्डफ्लु प्रभावित क्षेत्रका विभिन्न खोरमा रहेका ११ हजार ९५० लेयर्स कुखुराहरु नष्ट गरिएको छ । ब्रोइलर चारवटा, छ हप्तामाथिका लोकल चारवटा, हाँस ७० वटा, छ हप्तामुनिका लोकल कुखुरा १९ वटा, हाँस ७४ वटा नष्ट गरिएको छ ।
यसैगरी ६०७ केजी दानासमेत नष्ट गरिएको डा श्रेष्ठले जानकारी दिए । कुखरा नष्ट गर्न आरआरटी ९रेपिड रेस्पोन्स टिम० को तीन टोली परिचालन भएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।
पशु सेवा विभाग काठमाडौँबाट बर्डफ्लु नियन्त्रणको लागि आएका सुपरीवेक्षक डा डिल्लीराम सेढाईंले चितवन बर्डफ्लुबाट सुरक्षित रहेको बताए ।
डा सेढाईंका अनुसार संक्रमित खोर, संकटग्रस्त क्षेत्रको पक्षी, पक्षीजन्य सामग्री तथा पक्षी उत्पादन सामग्री सबै नष्ट गरिएकोले बर्डफ्लुको भाइरस रहने कुनै संभावना छैन । उनले भने, ‘बर्डफ्लु भाइरस जीवित प्राणीमा मात्र बाँच्छ । सबै नष्ट भएपछि यसको नियन्त्रण भइसक्यो । जहाँ देखियो, त्यो ठाउँमा बर्डफ्लु छैन । जिल्लाको अन्य भागमा पनि छैन ।’
बर्डफ्लु देखिएपछि सतर्कता
पोल्ट्रीको राजधानी भनेर चिनिने चितवनमा बर्डफ्लु देखिएपछि कुखुरापालक किसान यतिबेला सतर्क बनेका छन् । बर्डफ्लुबाट त्रसित किसान रोग लाग्नबाट कसरी जोगाउने भनेर सतर्कता अपनाइरहेका छन् ।
‘एक ठाउँमा देख्दैमा सबै ठाउँमा रोग लागेको छ भन्न मिल्दैन’ नेपाल कुखुरापालक किसान संघका केन्द्रीय अध्यक्ष झनक पौडेलले भने, ‘तर, डराउनुपर्ने अवस्था भएकै हो । यसको लागि हामी सतर्कता अपनाएका छौँँ ।’
उनका अनुसार चितवनमा कुखुरापालनमा मात्रै करिब एक हजार किसानको १० करोडभन्दा बढी लगानी छ । तर, सबै खालका किसान संघमा आबद्ध नभएकोले यति नै भनेर यकिन गर्न सक्ने अवस्था नरहेको उनले बताए ।






प्रतिक्रिया