राजनीति-समाज

सुन तस्करीमा गोरेसहित उनकी पत्नी र प्रेमिकाको पनि लगानी !

सुन तस्करीमा गोरेसहित उनकी पत्नी र प्रेमिकाको पनि लगानी !


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा सक्रिय रहेका मोरङ उर्लाबारीका चुडामणी उप्रेती ‘गोरे’का लगानीकर्ता उनकी पत्नी नर्बदा खरेल ‘निरू’ र प्रेमिका रक्षा भण्डारी ‘आरबी’ रहेका छन् । ३८ क्विन्टल सुन तस्करी र सनम हत्या काण्डका फरार अभियुक्त गोरेमाथि पत्नी र प्रेमिकासहित एक दर्जन अन्यको पनि लगानी रहेको अभियोगपत्रमा उल्लेख छ ।
 
गृह मन्त्रालयका सह–सचिव इश्वर पौडेलको संयोजकत्वको छानविन टोलीले तयार पारेको प्रतिवेदनमा पत्नी नर्बदा खरेल, प्रेमिका रक्षा भण्डारीसहित एमके मामा भनिने मोहन कुमार अग्रवाल, बेनु श्रेष्ठ, भुजुङ गुरुङ, प्रमोद कुमार श्रेष्ठ, सुनिल श्रेष्ठ, अर्जुन प्रसाद खरेल, चेतन भन्ने चेतनाथ भण्डारी, रोशन भुषाल भन्ने गुप्तलाल भुषाल, प्रयास पराजुली, संजय अधिकारी, समिर अधिकारी, कमल कार्की, बोउला भन्ने सुनील कुमार अग्रवाल, आरके भन्ने राजेन्द्र कुमार शाक्यको लगानी रहेको उल्लेख छ ।
 
यस्तै, हरिशरण खड्का, चाचा भन्ने महावीर प्रसाद गोल्यान, रामहरी कार्की, डेवीटरडा। भन्ने छिरिङ वाङ्गेल घले, खन्जन भन्ने दिनेश श्रेष्ठ, मिनराज चौलागाई, शिव कुमार गुभाजु, गीता श्रेष्ठ, किसनरकालुरकाले भन्ने कृष्ण गोपाल अग्रवाल, गोपी अधिकारी, बिष्णु जोशी, पेम्वा शेर्पा, रमेश उप्रेती, माधव आचार्य, ओम प्रकाश नेवार रहेको अभियोगपत्रमा पनि उल्लेख छ ।
 
तस्करीका लगानी गर्ने अन्य दर्जन बढिको नाम स्पष्ट खुल्न सकेको छैन । ‘कोड भाषामा नाम लेखिएका व्यक्तिहरु आपराधिक समुहमा संस्थापक र सदस्यको रुपमा आवद्ध भई गोरे भन्ने चुडामणी उप्रेतीलाई आर्थिक लगानी जुटाई नेपालमा सुन अवैध तवरले चोरी पैठारी गर्ने गिरोह स्थापना र संचालन गरेको देखिन्छ’, छानविन टोलीको प्रतिवेदनमा उल्लेख छ ।
 
उप्रेतीले आपराधिक समुहको सञ्चालन र सञ्जाल विस्तार गर्ने क्रममा रमेश उप्रेती, पत्नी खरेल, प्रेमिका भण्डारीलाई २०६९ सालमा, डेविटरडा। भन्ने छिरिङ वाङ्गेल गुरुङलाई २०७० सालमा, टेकराज मल्ल ठकुरीलाई २०६९ सालमा, मोहन काफ्लेलाई २०७२ सालको जेठमा, माधव भन्ने मोहन घिमिरेलाई २०७२ असोजमा, कृष्ण भन्ने नरेन्द्र कार्कीलाई २०७२ साल मंसिरमा आवद्ध गराएको अभियुक्तहरूको बयानले खुलाएको छ ।
 
गोरेको आपराधिक समुहमा सुरेन्द्र गौतम, भोजराज भण्डारी, रुस्तम भन्ने मोहमद उस्तम मियाँ, टुक बहादुर मगर, दावा शेर्पा, लाक्पा शेर्पा, रोहित आचार्य, कृष्ण बस्नेत, मृतक सनम शाक्य, मोहन काफ्ले, कृष्ण भन्ने नरेन्द्र कार्की, भविन राई भन्ने भविन तामाङ, राजन कुमार समेतका व्यक्तिहरु २०७० देखि २०७२ सालको बीचको अवधिमा आवद्ध रही निरन्तर रुपमा रहेको भन्ने प्रतिवादीहरुको बयान र संकलित प्रमाण कागजातबाट खुलेको देखिन्छ ।
 
२०६९र७० साल देखि नै विभानस्थलस्थित थाई एयरवेजका इन्जिनियरिङ तर्फका प्राविधिक कर्मचारीहरु गोपाल कुमार श्रेष्ठको नेतृत्वमा, बीरेन्द्रमान श्रेष्ठ, मृतक सानु बन, तक्ले भन्ने पुण्य प्रसाद लामा तामाङ, दोराम खत्री, बालकृष्ण श्रेष्ठ, हेमन्त गौतम, कपिलराज पुरी, एल।बि।मगर भन्ने लाल बहादुर मगर, सम्वीर प्रसाद तोलाङ्गे र नेपाल वायु सेवा निगम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको इन्जिनियरीङ तथा प्राविधिक विभाग अन्तर्गत कार्यरत कर्मचारीहरु राजु महर्जन, मृतक प्रेमलाल चौधरी, राजन थापा, अमरमान डंगोल र तुलाराम थारु गोरको आपराधिक समुहमा आवद्ध रहेको अनुसन्धानबाट खुलेको प्रतिवेदनमा उल्लेख छ ।
 
प्रहरीको सहयोग
 
गोरे आफै र उनको आपराधिक समुहले अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड कार्यालयमा तत्कालीन समयमा कार्यरत प्रहरी नायब महानिरीक्षक गोविन्द प्रसाद निरौला, प्रहरी बरिष्ठ उपरीक्षक श्याम बहादुर खत्री, प्रहरी उपरीक्षक बिकासराज खनाल, प्रहरी नायव उपरीक्षक सञ्जय राउत समेतलाई आर्थिक लाभ उपलब्ध गराई सञ्जाल भित्र समावेश गरी अवैध सुन चोरी पैठारी गर्ने कारोवारमा सहयोग लिएको अनुसन्धान टोलीको प्रतिवेदनमा उल्लेख छ ।
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड कार्यालयमा तत्कालीन समयमा कार्यरत उल्लिखित प्रहरी अधिकृतहरुले सरकारी कार्यकक्ष, साधन, श्रोत, जनशक्ति र अन्य फोर्सको लजिष्टिक्स लगायत अधिकृतहरुका ड्राइभर, व्यक्तिगत सुरक्षा गार्डहरूलाई आपराधिक समुहको गतिविधिमा उपयोग गर्न दिएको प्रतिवेदनमा छ ।
 
यस्तै, विमानस्थलस्थित नागरिक उड्ड्यन कार्यालयबाट सुरक्षा शक्तिको आडमा पास झिकी झिकाई आपराधिक समुहलाई उपलब्ध गराउने र उल्लिखित आपराधिक समुह भित्र समावेश भई गतिविधि सञ्चालन गरेको तथ्य बुझिएका बिष्णु कार्कीको बयान तथा कागज ब्यहोरा, सुरक्षा अधिकृतहरुले बरामद रजिष्टरबाट प्राप्त गरेको देखिएको टोलीको प्रतिवेदनमा उल्लेख छ ।