मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सडकपेटीमा अलपत्र माझी दाजुभाइको उद्धार

सडकपेटीमा अलपत्र माझी दाजुभाइको उद्धार


चितवन । आमाले छाड्ने र बाबुले वास्ता नगरेका कारण रत्ननगर १६ को दोबाटोचोकमा अलपत्र परेका दुई माझी बालकको बुधबार उद्धार गरिएको छ । 
 
अभिभावकको बेवास्ताका कारण बिचल्लीमा परेका ९ वर्षीय नवीन र ७ वर्षीय निमेष माझीको विषयमा समाचार प्रकाशित भएपछि दुई बालकको उद्धार गरिएको हो । 
 
सर्लाहीको हजरियाबाट पिठुवास्थित एक इँटा चिम्नीमा काम गर्न आएका मंगले माझीकी श्रीमती ६ वर्षअघि अर्कैसँग बिहे गरेर गएकी थिइन् । त्यसबेला नवीन ३ वर्ष र निमेष ११ महिनाका मात्रै थिए । पारिवारिक विचलनका कारण मंगले आफैँ बेवारिसे बनेपछि दुई छोराको बिचल्ली भएको थियो । 
 
बाबुले हेरविचार नगर्दा बालकहरु पिठुवाको दोबाटोचोकस्थित प्रतीक्षालयमा कुकुरसँगै सुत्नुपर्ने नियति बनेको थियो । 
 
बालकहरुको विषयमा समाचार प्रकाशित भएपछि बुधबार अपाङ्ग जीवन विकास संस्था, गैँडाकोट १० नवलपुरले संरक्षण गर्ने प्रतिबद्धता जनाएको छ । जसमा सुनौलो समाज चितवनका अध्यक्ष विमल सापकोटाले समन्वयकारी भूमिका खेलेका छन् । 
 
रत्ननगर नगरपालिका–१६ वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष हेमराज थापा र जनजागृति माविका प्रधानाध्यापक विनोद अधिकारीले अपाङ्ग जीवन विकास संस्थाका अध्यक्ष बालकृष्ण सापकोटालाई दुई बालक हस्तान्तरण गरेका हुन् । 
 
कार्यक्रममा महिला बालबालिका कार्यालयकी सामुदायिक परिचालक शोभा ढुंगाना, चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मा, जुटपानी प्रहरी चौकीका इन्चार्ज नवीनकुमार झा, बाबु मंगले माझी, पिठुवा हेल्थपोष्टका इन्चार्ज केशव पौडेल, वडा सचिव शंकरबहादुर गिरीलगायतले बालकहरुको उज्ज्वल भविष्यको कामना गरे । 
 
बालक हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष थापाले बालकहरुलाई भविष्यमा राष्ट्रनिर्माण गर्ने असल व्यक्ति निर्माण गर्न संरक्षण गर्ने संस्थासँग अनुरोध गरे । जनजागृतिका प्रअ अधिकारीले विद्यालयको संस्थागत बाध्यताका कारण दुई बालकलाई संरक्षण गर्न नसकिएको बताए ।
 
उनले बालकहरुलाई असल संस्कार सिकाएर बालअधिकार संरक्षित हुने गरी उनीहरुकै रोजाइको शिक्षा आर्जन गर्ने वातावरण सिर्जना गर्न संरक्षण गर्ने संस्थासँग अनुरोध गरे । माझी बालकहरु भविष्यमा देश हाँक्न सक्ने सक्षम व्यक्ति बन्ने विश्वाससमेत उनले व्यक्त गरे । 
 
अपाङ्ग जीवन विकास संस्थाका अध्यक्ष बालकृष्ण सापकोटाले बालआश्रममा खाने, बस्नेलगायत सम्पूर्ण जिम्मेवारी पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए ।