गोरखा- प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको जीर्णोद्धारका लागि भक्तजनबाट छ करोड रुपैयाँ भन्दा बढी आर्थिक सहयोग संकलन गरेको मनकामना मन्दिर जीर्णोद्धार समितिले मन्दिरको छानामा राख्ने तामाको पातामा जलप लगाउनका लागि भन्दै सुन मागेको छ।
	मन्दिर पुनःनिर्माण गर्न बजेट अभाव भएपछि समितिले केही वर्षअघिदेखि निरन्तर स्वेच्छिक रुपमा भक्तजनबाट आर्थिक सहयोग लिँदै आइरहेको छ। ुमन्दिरको छानामा जलप लगाउन सुन अभाव भयो। सुन किन्न पर्याप्त बजेट भएन, मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले भने, सुन चढाउन चाहने भक्तजनलाई खुल्ला गरेका छौँ।
	मन्दिरमा चढाइएको भेटी तथा सुन मन्दिर जीर्णोद्धारमा लगानी गरिएको छैन। चढाइएको भेटी तथा सुनलगायत जिन्सी सामग्री पुजारीले लिन्छन्। मन्दिरभित्र सुन चढाउनुभन्दा मन्दिर जीर्णोद्धार समितिलाई सुन उपलब्ध गराएमा मन्दिरको छानामा जलप लगाउन पाइन्छ भने अर्कोतिर भक्तजनको नाम पनि रहन्छ, संयोजक श्रेष्ठले भने।
	मन्दिर दर्शनका लागि नेपाल र भारतबाट भक्तजन आउँछन्। प्रायःगरी सुन ब्यापारीले भाकलस्वरुप मन्दिरमा सुन चढाउँछन्। मन्दिरको छानामा जलप लगाउन भक्तजनले सुन दिन थालेका छन्। एकजना भक्तजनले दिएको २० ग्राम सुन उहाँकै आँखा अगाडि गाल्यौँ, पेस्ट बनाएर तामाको पातामा जलप लगायौं, श्रेष्ठले भने।
	मन्दिरको छाना चार हजार वर्गफुट छ। एक तोला सुनले तीन वर्गफुटमा जलप लगाउन सकिने पुरातत्वको मापदण्ड छ। जलप लगाउन कम्तीमा १८ किलोग्राम सुन आवश्यक पर्ने जीर्णोद्धार समितिको अनुमान छ।
	काठमाडौँ निवासी सुन्दरकृष्ण शाहीले तामाको पाता र मन्दिर जीर्णोद्धारमा आवश्यक इँट्टा काठमाडौँकै हिराकाजी महर्जनले दान गरेका थिए। मन्दिर जीर्णोद्धारमा अहिलेसम्म आठ करोड रुपैयाँ खर्च भइसकेको छ। कम्तीमा १२ करोड रुपैयाँ खर्च गरेपछि मात्रै मन्दिर पुरानै स्वरुपमा फर्कने समितिले जनाएको छ। मन्दिर पुनःनिर्माण गर्न सरकारले भने जीर्णोद्धार समितिलाई चार करोड दिएको थियो। रासस
             
 
                                                    


                    
                    
                    
                    
प्रतिक्रिया