धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ मा पर्ने पृथ्वीराजमार्गको विशालटारमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् ।
काठमाडौँबाट काँकरभिट्टाको लागि छुटेको बस राति ३ बजेतिर पृथ्वीराजमार्गअन्तर्गत विशालटारस्थित सडकबाट २० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यलय गजुरी धादिङले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा बस चालक झापा शिवसतासी गाउँपालिका वडा नं ६ का कमल ढुङ्गाना र सोही स्थान बस्ने सह–चालक नवराज सिवाकोटी रहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । दुर्घटनामा परी घाइते भएकाहरुको स्थानीय मलेखु अस्पतालमा सामान्य उपचारपश्चात् काठमाडौँ लगिएको र उनीहरुको अवस्था खतरामुक्त रहेको पनि प्रहरीले जनाएको छ ।
यसैगरी, बुधबार साँझ पख वीरगंजबाट काठमाडौं जाँदै गरेको ना ५ ख ८७९ नं को बसले च्यापेर बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ स्थित ज्यामिरेघाटमा बुधवार एक जनाको ज्यान गएको छ । मानसिक सन्तुलन ठीक नभएको उक्त व्यक्तिको सनाखत भने हुन नसकेको प्रहरीले जनाएको छ ।
खाजा खाएर बस अघि बढाउने क्रममा अन्दाजी ४० वर्षको जस्तो देखिने तराईमुलका एक व्यक्तिको बसले च्यापेर मृत्युु भएको हो । घटनापछि बस र ड्राइभर प्रहरीको नियन्त्रणमा रहेको जोगीमारा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया