नवलपरासी । नवलपरासीको कावासोतीमा आफ्नै बुवाले १३ वर्षीया छोरीलाई करिब तीन महिनादेखि नियमित बलात्कार गर्दै आएको रहस्य बाहिर आएको छ ।
सोमबार राति छोरीलाई जबरजस्ती करणी गर्न खोज्दा नमानेर छोरी राति साथीकोमा गएपछि घटना बाहिर आएको हो ।
कावासोतीको एउटा विद्यालयमा क्यान्टिन सञ्चालन गरी बस्ने मध्यबिन्दु नगरपालिका निवासी पाण्डे थर गरेकाले १३ वर्षीया कक्षा सातमा अध्ययनरत छोरीलाई नियमित जबर्जस्ती करणी गर्दै आएका थिए ।
विद्यालय स्रोतका अनुसार उनले छोरी पहिलो पटक महिनावारी भएदेखि छोरीलाई नियमित नशालु पदार्थ सेवन गराउने र करणी गरेका थिए । सोमबार राति बालिका क्यान्टिन बाहिर साथीको घर गएर बसेको र साथीले राति किन आएको भन्दै सोधीखोजी गर्न थालेपछि घटना थाहा हुन आएको हो । साथीले मंगलबार विद्यालयमा शिक्षकहरुलाई जानकारी गराएपछि विद्यालयले प्रहरीलाई खबर गरेको थियो ।
बालिकाले आफू करिब चार महिना अगाडि पहिलो पटक महिनावारी भएपछि त्यसपछि नभएको समेत बताएकी छन् । पाण्डेका श्रीमती केही समय अगाडि श्रीमान्लाई छाडेर पोखरा गएकी थिइन् । विद्यालयले पाण्डेलाई प्रहरीको जिम्मा लगाएको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले घटनाको अनुसन्धान भइरहेको बताए । थापाले बालिकाको दिदीले उजुरी दिएको र बालिकालाई मेडिकल गर्न पठाइएको बताए ।
प्रतिक्रिया