मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

यमन सरकार र विद्रोहीबीच शान्ति वार्ता सुरू

यमन सरकार र विद्रोहीबीच शान्ति वार्ता सुरू


कुवेत । यमन सरकारका प्रतिनिधि र विद्रोही पक्षबीच सोमबार प्रत्यक्ष वार्ता भएको समाचार छ । गएको पाँच दिनदेखि शान्ति वार्ताका लागि भन्दै कुवेतमा जम्मा भएका यी पक्षहरुबीच सोमबार प्रत्यक्ष वार्ता भएको यमनका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिनिधिले जानकारी दिनुभएको छ । 
 
उहाँले गएको पाँच दिनदेखि अवरुद्ध भएको वार्ता सोमबार भने त्रिपक्षीय सहमतिमा सम्पन्न भएको भन्दै आगामी दिनमा यसले सहमतिको मार्गप्रसस्त गर्ने अपेक्षा गरिएको बताउनुभयो । विशेष प्रतिनिधि इस्माइल अल्ड चेख अहमदले गत हप्ता तीन वटा छुट्टाछुट्टै कार्यदल गठन गरेको र उनीहरुले सोमबार आ आफ्ना तर्फबाट सहमतिका प्रयासका प्रस्तावहरु प्रस्तुत गरेको जानकारी दिनुभयो । 
 
उहाँले प्रकाशन गर्नुभएको विज्ञप्तिमा भनिएको छ– तीन वटा कार्यदल गठन गरिएको छ र यसले आ–आफ्ना प्रस्ताव प्रस्तुत गरेका छन् । विशेषगरी यी पक्षले राजनीतिक र अन्य सुरक्षाका विषयमा छलफल भएको जानकारी उहाँले दिनुभयो । सो वार्ताका क्रममा दुवै पक्षबाट आ–आफ्ना कैदी बन्दीको रिहाइको माग दुवै पक्षबाट भएको थियो ।
 
गएको पाँच दिनदेखि वार्ता अवरुद्ध भएपछि अहिलेसम्मको प्रयासलाई बचाउन र शान्ति वार्ताका लागि सबै पक्षबाट पहल गर्न संयुक्त राष्ट्रसङ्घले सोमबार आग्रह गरेको थियो । सोही आग्रहपछि सोमबार अबेरतिर यो वार्ता भएको हो । संयुक्त राष्ट्रसङ्घले यस वार्ताको अगुवाई एवम् मध्यस्थता गरिरहेको जानकारी दिइएको छ । 
   
विशेष दूत इस्माइलले कुवेतमा गतहप्तादेखि शान्ति वार्ताका लागि निकै प्रयत्नहरु भएका तर दुवै पक्षबीच आइतबार हुने भनेको वार्ता पनि हुन नसकेपछि दुवै पक्षलाई निराश नहुन आग्रह गर्नुभएको थियो ।
 
विशेष दूत इस्लामी आउल्ड चेइख अहमदले वार्ताका लागि करिब दुई महिनाअघिदेखि युद्धविराम जारी रहेको र त्यसका कारण वातावरण निर्माण भइरहेको भन्दै यसका लागि आवश्यक सबै पक्षलाई संयमता अपनाउन पनि आग्रह गर्नुभएको हो । यमनमा सरकार र विद्रोही शान्तिवार्ताका लागि तयार भएर गएको अप्रिल महिनाको १० तारिखदेखि त्यहाँका विद्रोही युद्धविराम गर्न तयार भएका थिए । 
 
यो वार्ताका लागि साउदी अरेबिया सरकारले प्रयत्न गरेको थियो र संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधिले विशेष अगुवाई गरिरहेका छन् । यसअघि अनौपचारिक रुपमा सरकार र विद्रोही पक्षले वार्ता गरेका भएपनि आजका मितिसम्म पनि यमनमा सकारात्मक काम भने हुन सकिरहेको छैन । 
 
युद्धविराम भङ्ग भएको पनि छैन र वार्ताको प्रयासले मुर्त रुप लिन पनि सकिरहेको छैन । सरकारले भने विभिन्न स्थानमा सेनामाथि हमला गरेर हुथी विद्रोही र उसका अन्य समूहरुहरुले आक्रमण गरिरहेको भन्दै वार्तामा नबस्ने बताउदै आएको थियो । 
 
यमनमा गएको १३ महिनादेखि हिंसा जारी छ । हिंसाका क्रममा हजारौँ नागरिकले ज्यान गुमाइसकेका छन् । यमनी हुथी विद्रोहीले यमनमा विद्रोह गरिरहेका छन् । उनीहरुलाई इरानको साथ रहेको छ । 
 
यसअघि वार्ताका लागि विद्रोही पक्ष नै तयार भएका थिए । उनीहरूले आफ्नो पहिलो कामका रुपमा दुवै पक्षबाट बन्दी बनाइएका व्यक्तिहरूको सूची आदानप्रदान गर्ने र उनीहरूलाई रिहा गर्नेसम्मको सहमति भएको थियो । तर यमनका कतिपय स्थानमा हिंसा मच्चिएपछि त्यसको जिम्मेवारी विद्रोहीले लिनुपर्ने भन्दै सरकारले वार्तामा नबस्ने बताएको हो । 
 
सुरक्षा अधिकारीले पनि सरकारी निर्णयको स्वागत गरी हुथीको विद्रोह जारी रहेकोले वार्ताको औचित्य नभएको बताएका थिए । साउदी नेतृत्वको गठबन्धन सेनाले सन् २०१४ को सेप्टेम्बरदेखि विद्रोहीको कब्जामा रहेको यमनी राजधानी सानालाई फिर्ता लिएको थियो । यमन सरकारलाई साउदी अरेबियाको सरकारको साथ रहेको छ । रासस / एपी