मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बलात्कारका सबै आरोपी पक्राउ

बलात्कारका सबै आरोपी पक्राउ


नवलपरासी । नवलपरासीको कावासोतीका १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने मध्येका मुख्य योजनाकार कृष्ण महतो, विनोद गुरूङ र केशव थापा गरी तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ ।
 
तीनमध्ये एक जनालाई गत शुक्रबार दिउँसो विराटनगरबाट, एक जनालाई सोमबार कावासोतीको थकाली चोकबाट र अर्का आरोपीलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो ।
 
इलाका प्रहरी कार्यालय नवलपुरबाट गएको प्रहरीको टोलीले विशेष अपरेसनको क्रममा कावासोती–१३ लौखानीका कृष्ण महतोलाई मोरङको विराटनगरबाट शुक्रबार दिउँसो पक्राउ गरेको थियो ।
 
केशव थापालाई मंगलबार प्रहरीले काठमाडौंबाट पक्राउ गरेपछि तीनै जना पक्राउ परेका हुन् । उनलाई काठमाडौंको कलंकीबाट प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक परशुराम तिवारीले बताए । थापालाई मंगलबार नै कावासोती ल्याइएको छ । गत चैत १८ गते साँझ १३ वर्षीया बालिकालाई तीन जनाको समूहले सामूहिकरुपमा बलात्कार गरेको आरोप छ ।  
 
बलात्कारको घटनाको अभियुक्तविरुद्ध बालिकाका आफन्तले किटानी जाहेरी दिएको दुई साता बित्दासमेत पक्राउ गर्न नसकेको भन्दै प्रहरीको व्यापक आलोचना भएको थियो । महिला अधिकारकर्मी, आफन्त, स्थानीय बासिन्दा, बालअधिकारकर्मीलगायतले दिनहुँजसो आन्दोलन गरेका थिए । अन्ततः प्रहरीले सबै आरोपी समातेर स्याबासी पाएको छ ।