मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नक्कली नोटको कारोबारी पक्राउ

नक्कली नोटको कारोबारी पक्राउ


काठमाडौँ । नक्कली नेपाली नोटको कारोबार गर्ने वागेश्वरी–७ नुवाकोट निवासी २० वर्षीय दीपक न्यौपाने पक्राउ परेका छन् ।

गँगबु बसपार्क नजिकैको आकाशे पुलमा रु एक हजारका ८० थान नक्कली नोटसहित यही भदौ १४ गते पक्राउ परेका न्यौपानेलाई महानगरीय प्रहरी परिसर टेकुमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरियो ।

उनी कार्यरत फोटोकपी पसलमा थप ५५ थान तयारी अवस्थामा र १३ थान नक्कली नोट एकातर्फ मात्र फोटोकपी गरेको अवस्थामा भेटिएको छ ।

हाल नेपालटार बस्दै आएका न्यौपाने बाफलस्थित ‘प्राइम लाइफ वैदेशिक रोजगार म्यादी जीवा बिमा’ मा काम गर्ने गरेको र सोही स्थानबाट उनले फोटोकपी गरी नक्कली नोट बनाउने गरेका प्रहरीले जनाएको छ ।

न्यौपानेलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलको टोलीले पक्राउ गरेको हो । राजधानीका भिडभाड हुने ठाउँमा यस्ता नोट कारोबार हुने गरेको र कारोबारीले एक हजार नक्कली बराबर डेढ सय सक्कली नोट साट्ने गरेको अनुसन्धानका क्रममा खुलेको नायब उपरीक्षक पोखरेलले बताउनुभयो ।

स्नातक तहमा अध्ययनरत अभियुक्त न्यौपानेले कसैले सिकाएर नभएर आफँैले प्रयोगका रुपमा नक्कली नोट छापे पनि आफूले हालसम्म प्रयोग नगरेको बताए । अभियुक्त न्यौपानेलाई मङ्गलबार काठमाडौँ जिल्ला अदालतबाट खोटा चलनअनुसार मुद्दा अगाडि बढाइएको प्रहरीले जनाएको छ । रासस