मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बन्दबाट विराटनगरको जनजीवन थप कष्टकर

बन्दबाट विराटनगरको जनजीवन थप कष्टकर


विराटनगर । संयुक्त मधेसी मोर्चाले विराटनगरमा आइतबार बिहानदेखि बन्दका कार्यक्रमलाई अझ सशक्त बनाएपछि जनजीवन थप कष्टकर बनेको छ । यसअघिका दिनमा बन्दको अवधिमा मोटरसाइकल र विद्युतीय रिक्सा र रिक्सा कुदिरहेको भए पनि आइतबार बिहानदेखि विद्युतीय रिक्साको आवतजावत ठप्प भएकाले जनजीवन थप कष्टकर भएको हो । 
 
यस सम्बन्धमा सङ्घीय समाजवादी फोरम नेपाल मोरङका सदस्य जीतेन्द्र यादवले कूटनीतिक निकायका गाडी, एम्बुलेन्स, फोहर सङ्कलनका गाडी, शववाहन, दूधका गाडी र पत्रकारका गाडी निर्वाध रुपमा चल्न दिने र यसबाहेकका गाडीलाई चल्न नदिने जानकारी गराए । बन्दको सबैभन्दा बढी प्रभाव विराटनगरको दक्षिणी क्षेत्रको रोडशेषदेखि जोगबनीसम्मको मार्गमा बिहानैदेखि देखिएको छ । बन्दकर्ताले सो क्षेत्रमा मोटरसाइकल, रिक्सासमेतको आवागमनलाई ठप्प पारेका छन् । 
 
विराटनगरको महेन्द्र चोकदेखि उत्तर र पूर्वी क्षेत्रमा मोटरसाइकल र रिक्सा निर्वाधरुपमा कुदिरहेको देखिन्छ । अनिश्चितकालीन बन्दका कारण अधिकांश व्यक्ति सीमावर्ती भारतीय बजार जोगवनीमा किनमेल गर्न रिक्सा र मोटरसाइकलबाट जाने गरेकामा आइतबारदेखि ती साधन पनि बन्दकर्ताले चल्न नदिएपछि यसको प्रत्यक्ष असर जोगबनी बजारमा समेत परेको छ ।
 
लगातार १८औँ दिनदेखि बन्द जारी रहेकाले पूर्णरुपले शिक्षण संस्था र सार्वजनिक यातायातका साधन ठप्प छन् । रासस