मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा साना हतियारको बिगबिगी

चितवनमा साना हतियारको बिगबिगी


चितवन । यही असार २३ गते चितवन प्रहरीले एक युवकलाई नारायणगढ पुल्चोकको एक होटलबाट एक थान गोली र एउटा पेस्तोलसहित पक्राउ ग¥यो । यस घटनामा अन्य हतियार र हतियार कारोवारमा संलग्न हुनेहरु फेला पर्ने आशामा प्रहरीले पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरेको छैन । 
 
चितवन प्रहरीका डीएसपी राजन अधिकारीको नेतृत्वमा गएको टोलीले हतियारसहित युवकलाई पक्राउ गरेपछि अन्य व्यक्तिको पनि हतियार कारोवारमा संलग्न हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान थालेको छ । 
 
विगत ५ महिनाको अन्तरालमा चितवन प्रहरीले ५ वटा यस्ता साना हतियार बरामद गरिसकेको छ । त्यस्तै झण्डै दर्जन गोलीसमेत बरामद भइसकेको छ । प्रहरीले बरामद गरेको पेस्तोलहरुमा ब्राण्डेडदेखि सामान्यसम्मका छन् । चितवन प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक राजन अधिकारीले भने, ‘फेला परेका हतियारहरुको सम्बन्धमा सम्बन्धित आरोपितहरुसँग सोधखोज गर्दा कुनै आपराधिक घटना गराउने मनसायभन्दा पनि शोखका रुपमा राख्न वा बेच्नका लागि ल्याइएको पाइन्छ ।’ 
 
साना हतियार भएकाले अपराधीहरुले लुकाएर सजिलै ल्याउने गरेको प्रवक्ता अधिकारीले बताए । बीस देखि तीस वर्ष उमेर समूहका युवाहरुबाट प्रहरीले यस्ता हतियार बरामद गरिरहेको छ । प्रहरीले गत फागुन महिनामा दैलेखका प्रकाश थापालाई भरतपुर १० स्थित उनकै कोठाबाट एक थान अमेरिकन रिभल्वर पेस्तोलसहित पक्राउ गरेको थियो । हाल उनी पुर्पक्षका लागि थुनामा छन् । भारतका एक धनाढ्य व्यक्तिको घरमा काम गर्दै आएका थापा बहुमूल्य गरगहनासमेत चोरर चितवन आएका थिए । 
 
चितवनमा लगातारजस्तो एकपछि अर्को व्यक्ति साना हतियारसहित समातिएका छन् । जसले गर्दा चितवनमा सजिलै साना हतियार
भित्रिरहेको  छ । यसले जिल्लालाई त्रासमय बनाएको छ । 
 
त्यस्तै गत जेठ महिनामा लंकू क्षेत्रमा अवैध पेस्तोल बोकी गोली चलाएको आरोपमा पक्राउ परेका प्रगतिनगर गाविस–९ का ३० वर्षीय मणिप्रसाद काफ्ले पक्राउ परे । उनले शोखका लागि भारतमा हतियार खरिद गरेको बताएका छन् । यी दुई अभियुक्तमाथि ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता भएको छ ।
 
जिल्ला प्रशासन कार्यालय चितवनका मुद्दा फाँटका नासु हरि सिग्देलका अनुसार यस घटनाका आरोपितहरु काफ्ले र उनकी दिदी नैनीदेवी रिजाल दुबैलाई बुधबारको प्रमुख जिल्ला अधिकारीको इजलासले थुनामा राख्ने आदेश गरेको हो । गत जेठ १३ गते राति यज्ञपुरी क्षेत्रमा गोली प्रहार हुँदा स्थानीय २३ वर्षीय राजन खड्का गम्भीर घाइते भएका थिए । अभियुक्त काफ्लेको साथबाट एउटा चाइनिज पेस्तोल, सोही पेस्तोलमा लाग्ने तीन राउण्ड गोली र गोलीको खोका प्रहरीले बरामद गरेको थियो ।
 
त्यस्तै, गत चैत महिनामा ४ जना युवाहरु २ वटा पेस्तोल सहित पक्राउ परे । एक थान कटुवा पेस्तोल, एक थान सिक्सर रिभल्भर, केही राउण्ड गोली सहित पाँच युवा पक्राउ परेका थिए । पक्राउ गरेको पाँच जनामध्ये चार जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको थियो । 
 
यस घटनामा प्रयोग भएका ट्याक्सी चालक भने १ लाख धरौटीमा रिहा भएका छन् । अरोपितहरुमध्ये रोका मगरले दिल्लीबाटै पेस्तोल झिकाएको र शाहले नुवाकोट चिसापानीमा माटोभित्र पेस्तोल फेला पारेको बयान दिएका थिए । घटनामा २ पेस्तोल बरामद भएको थियो । 
 
कावासोतीमा नमस्ते म्यानपावर व्यवसायी जगत थापाको हत्या गर्ने योजनाका साथ नारायणगढ आइपुगेका उनीहरु व्यवसायीको हत्याको लागि तम्तयार भएर बसेको अवस्थामा उनीहरु प्रहरी फन्दामा परेका वडा प्रहरी कार्यालय नाराढायणगढका प्रहरी निरीक्षक सत्यनारायण थापाले बताए । 
 
घटनामा रोल्पा उवा गाविस ४ का २६ वर्षिय प्रेमरोका मगर, रुकुम पोखरा गाविस ८ का ३० वर्षका विशाल घर्तीमगर, मेलम्ची १ सिन्धुपाल्चोकका प्रेम तामाङ र मोरङ हंसदह ४ का २१ वर्षका महेक शाह र ट्याक्सी चालक कोटथर ३ का २२ वर्षका मीनबहादुर राना पक्राउ परेका थिए । अब प्रहरीले यसरी खुलेयाम साना हतियार बेचबिखनमा सक्रिय भएको गिरोहलाई नै समात्न जरूरी छ । अन्यथा सहरमा साना हतियारको त्रास रहिरहनेछ ।