मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नयाँ संविधानमा मृत्यदण्ड दिइने कानुन नबन्ने

नयाँ संविधानमा मृत्यदण्ड दिइने कानुन नबन्ने


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नयाँ संविधानमा मृत्यदण्ड दिने कानुन बनाउन नहुने बरु सर्वस्वसहित कारावासको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

अठारौँ गणेश–उज्जन (भुवन) को वार्षिक स्मृतिमा आज आयोजित ‘गणेश–उज्जन स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रम’मा उहाँले तत्कालीन राणा प्रधानमन्त्री भीमशम्शेर राणाले १९८० सालमै मत्युदण्ड उन्मूलन गरेकाले त्यसलाई पुनःदोहो¥याउन नहुने बरु सजाय बढाउन सकिने बताउनुभयो । अध्यक्ष शर्माले भन्नुभयो, “संविधानमा ज्यान लिने अधिकार हुनुहँदैन, बरु सर्वस्वसहित आजीवन काराबासको व्यवस्था गर्न सकिन्छ ।”

Advertisement

सभासद् रामहरि खतिवडाले हत्या, बलात्कारजस्ता जघन्य अपराधमा संलग्न दोषीलाई छुट हुने संविधान ल्याउन नहुने बताउनुभयो । सभासद् शकुन्तला राजभण्डारीले बलात्कार र हत्यामा संलग्न दोषीलाई मृत्युदण्डको सजाय हुनेपर्ने माग आफूले संसद्मा उठाइरहेको जानकारी दिनुभयो ।

सभासद् हर्कबोध राई र नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं सभासद् यज्ञराज सुनुवारले नयाँ संविधान कानुनी राज्य र मानव अधिकारको संरक्षण गर्ने खालको हुनुपर्ने र संविधान आएपछि व्यक्ति हत्या गर्ने दोषी उम्किन नहुने माग गर्नुभयो ।

मानव अधिकारकर्मी कनकमणि दीक्षितले भावी संविधानमा ‘आम माफी’ भन्ने शब्द आउन नहुने र हत्या, यातना, बलात्कारजस्ता जघन्य अपराधमा संलग्न दोषीलाई ठाउँ नदिने संविधान आउनुपर्ने माग गर्नुभयो । अर्का मानवअधिकारकर्मी सुबोधराज प्याकु¥यालले सशस्त्र सङ्घर्षमा एउटै परिवारका तीन व्यक्तिको हत्याजस्तो मानवताविरोधी काम पनि भएको टिप्पणी गर्नुभयो ।

गणेश उज्जन (भुवन) स्मृति प्रतिष्ठानका अध्यक्ष सावित्री श्रेष्ठले भाइको हत्या भएको १८ वर्षसम्म पनि न्यायको अनुभूति हुन नपाएको भन्दै सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिए पनि सरकारले उन्मुक्ति दिएको आरोप लगाउनुभयो । “एउटा परिवारका तीनको हत्या हुुँदा, बन्दुक पड्काएर घर भत्काइँदा, १८ वर्षसम्म पीडितले न्याय नपाउँदा पनि किन अपराधीलाई आममाफी दिने कानुन बनाइँदैछ ?”–उहाँले भक्कानिएर आक्रोशित शैलीमा प्रश्न गर्नुभयो ।

कार्यक्रममा बोल्ने सबैले आफ्ना भाइको हत्याका दोषीलाई कारबाहीको माग गरेर एउटै दिदी सावित्रीले निडरका साथ आवाज उठाउनु वास्तवमै ठूलो आँट र सङ्घर्ष भएको धारणा राख्नुभएको थियो । अठार वर्षअघि ओखलढुङ्गा जिल्लाको पोकली गाविसमा श्रेष्ठ दाजुभाइको हत्या भएको थियो ।

गणेश–उज्जन पत्रकारिता पुरस्कार तीन जनालाई 

यस वर्षको गणेश–उज्जन स्मृति पत्रकारितका पुरस्कार कानुन र मानव अधिकारका क्षेत्रमा कलम चलाउने ‘अन्नपूर्ण पोष्ट’ दैनिकका बालकुमार नेपाल, ‘कान्तिपुर’ दैनिकका घनश्याम खड्का र ‘नागरिक’ दैनिकका पवित्रा सुनारलाई प्रदान गरिएको छ । उहाँहरूलाई जनही रु ११ हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो । 

पुरस्कृत व्यक्तित्व पत्रकारद्वय नेपाल र खड्काले श्रेष्ठ दाजुभाइको हत्याका समाचार लेख्दा धम्कीपूर्ण फोन र सन्देश आउने गरे पनि आफूहरूले अन्यायका विरुद्धमा कलम चलाउन नडराएको बताउनुभयो ।

सो प्रतिष्ठानले श्रेष्ठ दाजुभाइका स्मरणमा प्रत्येक वर्ष कानुन र मानव अधिकारका क्षेत्रमा कलम चलाउने तीन पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ । रासस

शेयर गर्नुहोस:

0
Shares