चितवन । जन्मँदैमा दिसा नहुने समस्याबाट पीडित बनेकी भरतपुर–५ बेलचोककी ६ वर्षीया वर्षा श्रेष्ठको सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।
कान्ति बाल अस्पताल महाराजगञ्जमा जेठ १३ गतेदेखि भर्ना गरिएकी वर्षाको जेठ २२ गते सफल शल्यक्रिया भएको थियो । उनको उपचारमा बाल शल्य चिकित्सकद्वय डा सुशीलकुमार शाक्य र अनुपमा बस्नेत संलग्न थिए । जेठ २९ गते अस्पतालबाट डिस्चार्ज भएकी वर्षाको स्वास्थ्य अवस्था अत्यन्त राम्रो छ ।
गत वैशाख ७ गतेको हिमालय खबर डटकम र चितवनपोष्ट दैनिकमा जन्मेदेखि दिसा नहुने समस्याकी वर्षाबारे ‘मलाई बचाउनुहोस्’ भनेर समाचार प्रकाशित भएको थियो । दक्षिणी चितवनको माडी खरकट्टाका प्रकाश र हीरा श्रेष्ठकी एकमात्र छोरी वर्षाको जन्मँदैमा मलद्धारबाट दिसा नहुने समस्या रहेको थियो । भरतपुर–५ स्थित बेलचोकमा ऋणधन गरेर मासु पसल चलाउँदै आएका यी दम्पतीले छोरीको उपचार गर्न नसकेको वेदना पोखेका थिए ।
वर्षाबारे समाचार प्रकाशित भएपछि देशविदेशमा बस्ने नेपालीहरुले वर्षाको उपचारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । समाचार हेरेर सोही दिन प्रभु हाउजिङ एण्ड पोपर्टी डिलर्स प्रालि, भरतपुर–१२ का अध्यक्ष केशव कार्कीले कम्पनीका तर्फबाट २५ हजार रुपैयाँ सहयोग गरेका थिए ।
यस्तै अष्ट्रेलिया बस्ने नेपाली दिदीबहिनीहरुले उपचार सहयोगार्थ २० हजार रुपैयाँ र बहराइन बस्ने कुमार श्रेष्ठले ५ हजार रुपैयाँ पठाएका थिए । यस्तै भरतपुरकी काजल जोशीको संयोजनमा ३ हजार ६४० रुपैयाँ, टाँडी सुनचाँदी पसलका चन्द्र सुनारले एक हजार रुपैयाँ, हाकिमचोकका राजु क्षेत्रीले २ हजार रुपैयाँ, काठमाडौँ टेकुका युवाहरुले ६ हजार रुपैयाँ, हेटौँडाका चन्द्रकुमार सिलवालले ४ हजार रुपैयाँ सहयोग गरेका थिए । अन्य दाताबाटसमेत गरी ८० हजार रुपैयाँ संकलन भएको बाबु प्रकाश श्रेष्ठले बताए ।
उपचार गरी घर फर्किएका वर्षाकी आमा हिराले छोरीको उपचारमा सघाउने सबै दाताप्रति हृदयदेखि नै धन्यवाद प्रकट गरेकी छन् । उनले छोरीको समस्याबारे समाचार लेखिदिने पत्रकार केशव भट्टराई र सहयोग गर्ने स्थानीय सुमित्रा सापकोटालाई समेत विशेष धन्यवाद दिएकी छन् ।
आर्थिक अभावले बालिकाको उपचार गर्न नसकेको र स्वास्थका कारण बोर्डिङ स्कुलहरुले भर्नासमेत लिन नमानेको प्रसङ्गमा वर्षाका बुबा प्रकाशले छोरी निको हुनासाथ स्कुल पठाउने बताए । ‘तपाईंहरुको सहयोगले गर्दा मेरी छोरीको उपचार भयो, अब छोरीलाई राम्रोसँग पढाउने सोच बनाएका छौँ’ उनले भने ।
यसअघि दिसा नहुने समस्याबाट पीडित भएकी वर्षाको पेटमा प्वाल बनाएर आन्द्रामार्फत् दिसा गर्ने अस्थायी ठाउँ बनाइएको थियो । अहिले वर्षा अन्य बच्चासरह नै मलद्धारबाटै दिसा गर्न सक्ने भएकी छन् । उनको उपचारपश्चात् श्रेष्ठ दम्पतीको अनुहारमा खुसी छाएको छ ।
उपचारअघि वर्षा आमा हिरासँग ।
प्रतिक्रिया