धादिङ । धादिङको नौबिसेमा बसको ठक्करबाट एकजनाको ज्यान गएको छ । धादिङको नौबिसे–६ घर भएका ६२ वर्षीय बच्चुराम भण्डारीलाई बसले ठक्कर दिई उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा उनको ज्यान गएको इलाका प्रहरी कार्यालय खानीखोला धादिङले जनाएको छ ।
बिरामी परेर उपचारका लागि भारत गएका भण्डारी श्रीमतीसहित घर फर्कंदै गर्दा घरभन्दा आधाघण्टानजिकको दूरीमा आएपछि दुर्घटनामा परेका हुन् । भण्डारी चढेर आएको महेन्द्रनगरबाट काठमाडौँका लागि चल्ने रात्रिबस बुधबार बिहान ८ बजेतिर नौबिसेको आँधीखोला होटलअघि रोकेको थियो ।
आफू चढेको बस रोकिएपछि सडक छेउतर्फ निस्कन लाग्दा काठमाडौँबाट धादिङबेसी आउँदै गरेको बा ३ ख १६६० नम्बरको बसले भण्डारीलाई ठक्कर दिएर घाइते बनाएकोमा तत्काल उपचारका लागि काठमाडौँ पठाइएकोमा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
भण्डारीलाई ठक्कर दिने बस नियन्त्रणमा लिई चालकलाई हिरासतमा राखी अनुसन्धान भइरहेको खानीखोलास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रेमबन्धु पौडेलले जानकारी दिए ।
प्रतिक्रिया