रत्ननगर, चितवन । रोटरी क्लब अफ रत्ननगरले गोरखा र धादिङका भूकम्पपीडितहरुका लागि खाद्यान्न, जस्तापाता, स्टेशनरीलगायतका सामग्री वितरण गरेको छ ।
क्लबका अध्यक्ष मधुपकुमार भट्टराईको नेतृत्वमा गएको एक टोलीले हालै धादिङको सलाङ–८ स्थित आरुवासमा ४० बण्डल जस्तापाता, ५० सेट ब्लाङ्केट र स्टेशनरी सामग्री वितरण गरेको हो ।
कालीदेवी माविको प्राङ्गढमा आयोजित कार्यक्रममा क्लबका सदस्य डा. ढुण्डीराज पौडेलले भूकम्पप्रभावित गाउँका १०२ जनाको नाक, कान, घाँटीसम्बन्धी स्वास्थ्य परीक्षण गरेका थिए । सोही क्रममा जनक पौडेलको संयोजकत्वमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।
क्लबका विपिन पोखरेलको संयोजनमा राहत वितरण कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष मधुपकुमार भट्टराईले गरेका थिए । राहतका लागि क्लबका पूर्व अध्यक्ष उमेश घिमिरेका साथै विनोद पोखरेल, पुरुषेत्तम कँडेल, दिलीप घिमिरे, कुलबहादुर गूरुङ, सन्त महतोले विशेष सहयोग गरेका थिए । साथै क्लबका सबै सदस्यहरुले समेत आर्थिक सहयोग जुटाएका थिए ।
मानवीय सेवा र सामुदायको हितमा काम गर्दै आएको क्लबले गोरखाको बगुवा, तान्द्राङलगायतका गाउँमा एक ट्रक चामल र कम्बल वितरण गरिएको रोटरीयन सुरेन्द्र रेग्मीले बताए ।
यसैबीच, भूकम्पपीडित घाइतेको उपचारका क्रममा रगतको अभावलाई मध्यनजर गर्दै रोटरी क्लब अफ रत्ननगरले रत्ननगर मेडिसिनको प्राङ्गढमा रक्तदान कार्यक्रम गरेको थियो । १४४ जना रक्तदाताबाट संकलित रगत रक्त सञ्चार केन्द्र भरतपुरलाई हस्तान्तरण गरिएको थियो ।
क्लबका अध्यक्ष भट्टराईले परोपकारी कार्यमा रोटरीयन साथीहरुको सहयोग र सद्भावका कारण भूकम्प प्रभावितलाई केही हदसम्म राहत प्रदान गर्न सकेकोमा सबैप्रति आभार प्रकट गरे । उनले आगामी दिनमा पनि यस्तै मानवीय कार्यमा क्लब लागिपर्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया