टेक्सस

लेखक सिग्देलको ‘रिक्यालिब्रेट’को भव्य विमोचन

लेखक सिग्देलको ‘रिक्यालिब्रेट’को भव्य विमोचन

विमोचनबाट संकलित २२ लाख ६८ हजार रुपैयाँ बाढी प्रभावितका लागि नेपाल पठाइने


ड्यालस (अमेरिका) । टेक्ससका युवा लेखक मनोज सिग्देलद्वारा लिखित पुस्तक ‘रिक्यालिब्रेट’ को आइतबार ड्यालसमा भव्य समारोहबीच विमोचन गरिएको छ। अंग्रेजी भाषामा लेखिएको ‘रिक्यालिब्रेट’ सिग्देलको पहिलो पुस्तक हो।

लेखक मनोज सिग्देलकी श्रीमती कविता सिग्देल तथा मातापिता

लेखक मनोज सिग्देलकी श्रीमती कविता सिग्देल तथा मातापिताले संयुक्त रूपमा ‘रिक्यालिब्रेट’ पुस्तकको विमोचन गर्नुभएको थियो। कार्यक्रममा सिग्देलले पुस्तक लेख्दाको अनुभव, पुस्तकको उद्देश्य तथा यसमा समेटिएका विषयवस्तुबारे प्रकाश पारेका थिए।

Advertisement

विमोचन समारोहलाई विशेष बनाउने अर्को पक्ष पुस्तक बिक्री तथा कार्यक्रममा प्राप्त सहयोग रकम नेपालमा हालै आएको भोटेकोशी महाप्रलयकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि नेपाल पठाउने घोषणा हो।

‘रिक्यालिब्रेट’ — लेखक मनोज सिग्देल

सिग्देलले हिमालय खबरसँगको कुराकानीमा विमोचन समारोहमा पुस्तक बिक्रीबाट १ हजार ७२२ अमेरिकी डलर संकलन भएको र कार्यक्रममा विभिन्न व्यक्ति तथा टेक्ससमा रहेका प्रविधि कम्पनीलगायतबाट थप १३ हजार २०० अमेरिकी डलर सहयोग प्राप्त भएको जानकारी दिए। पुस्तक बिक्री तथा सहयोग गरी हालसम्म संकलित कुल १४ हजार ९२२ अमेरिकी डलर, अर्थात् करिब २२ लाख ६८ हजार १४४ नेपाली रुपैयाँ, नेपालमा बाढी प्रभावितका लागि पठाइने उनले बताए। उनका अनुसार नेपाल रकम पठाउने समयसम्म सहयोग रकम अझै बढ्नेछ। थप सहयोगका लागि धेरै व्यक्ति तथा संस्थाहरूले प्रतिबद्धता जनाएकाले अन्तिम संकलित रकम हालको भन्दा बढी हुने उनले जानकारी दिए।

सायुरी सिग्देल

सिग्देलका अनुसार उक्त सम्पूर्ण रकम नेपाल सरकारको सम्बन्धित राहत कोषमा पठाइनेछ। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम नेपाल पठाउन लागिएको उनले बताए।

Steven Klohn — CIO, Dave & Buster’s

‘यतिबेला मुलुकलाई संसारभर छरिएर रहेका नेपालीको सहयोगको खाँचो छ। तपाईंहरूको यो सहयोगले अरूलाई पनि आफ्नो मातृभूमिका लागि सहयोग गर्न प्रेरणा दिनेछ,’ सिग्देलले हिमालय खबरसँग भने।

Ed Wolf — CEO, Aerwave

लामो समयदेखि ड्यालस–फोर्टवर्थ मेट्रोप्लेक्समा रहेर पेशागत तथा सामाजिक क्षेत्रमा सक्रिय सिग्देलले आफूले जीवन तथा पेशागत यात्राका क्रममा हासिल गरेका व्यवहारिक ज्ञान र अनुभवलाई समाजसँग बाँड्ने उद्देश्यले ‘रिक्यालिब्रेट’ लेखेको बताए।

Jennifer Legere — Head of Client Operations, Funnel

‘रिक्यालिब्रेट’ विमोचन कार्यक्रममा सुदीप शेखावत, जेनिफर लेगेरे, स्टिभेन क्लोन, एड वुल्फ, लेखक सिग्देलकी छोरी सायुरी सिग्देल र श्रद्धा श्रेष्ठले मन्तव्य राखेका थिए। कार्यक्रममा वक्ताहरूले पुस्तकको विषयवस्तु तथा लेखक सिग्देलको प्रयासको प्रशंसा गर्दै सामाजिक उत्तरदायित्वका लागि गरिएको पहलको सराहना गरेका थिए। विमोचन समारोहमा नेपाली समुदायका अगुवा, विभिन्न संघसंस्थाका पदाधिकारी, सामाजिक अभियन्ता, व्यवसायी तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।

Sudip Shekhawat — CPTO, LeaseLock

सिग्देलले पुस्तक विमोचन कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, शुभेच्छुक, सहयोगदाता तथा नेपाली समुदायप्रति आभार व्यक्त गरेका छन्। उनले पुस्तकप्रति देखाइएको माया, समर्थन र उत्साहका लागि सबैलाई धन्यवाद दिँदै एकपटक ‘रिक्यालिब्रेट’ पढ्न पनि पाठकहरूलाई आग्रह गरेका छन्।

श्रद्धा श्रेष्ठ

‘यो पुस्तक मेरो व्यक्तिगत अनुभव र सिकाइलाई समाजसँग बाँड्ने एउटा प्रयास हो। एकपटक पुस्तक पढेर यसमा समेटिएका विचार र अनुभवलाई आत्मसात् गरिदिनुहुन सबै पाठकलाई अनुरोध गर्दछु,’ सिग्देलले भने।

Recalibrate: Human Rhythm in the Age of AI By Manoj Sigdel