अमेरिका, बोस्टन । श्रीमतभागवत कथा वाचक पण्डित दीनबन्धु पोखरेलले अमेरिकाको भूमिमा “मिनी नेपाल” निर्माण गर्ने अभियानको मूलभूत उद्देश्य रहेको बताएका छन्। “बोस्टन सप्ताह ज्ञान महायज्ञ-२०२६” को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पण्डित पोखरेलले यस्तो बताएका हुन्।

नेपालको ढुङ्गा, माटो, घर, भूगोल ल्याए नभई नेपालको कला, संस्कार, संस्कृति, भाषा, भेषभुषा, ऐतिहासिक बिरासतलाई अमेरिकाको भूमिमा ल्याएर पुस्तान्तर गर्दै मिनी नेपाल निर्माण गर्नुपर्ने उनले बताए। संसारको सबैभन्दा पुरानो हिमवत् सभ्यताको केन्द्र, योग, ध्यान र प्रकृति पूजनको पवित्र भूमि नेपाल भएको पण्डित पोखरेलले दावी थियो। उनले भने, “सगौरव सनातन सभ्यताको उद्भव भूमि नेपालको गरिमालाई प्रवासमा ल्याएर बिस्तारित गर्ने हो।” उनले नेपालीहरु विदेशमा पलायन भए भन्ने गरिएको भनाइप्रति असहमति जनाउदै भने, “नेपाल अमेरिकामा बिस्तार भयो। नेपाल अष्ट्रेलियामा बिस्तार भयो। नेपाल युरोपमा बिस्तार भयो।”


पण्डित पोखरेलले महायज्ञको दौरानमा पूर्वीय दर्शन बुझाउने, नेपाली मनलाई जोड्ने, दान स्वरुप आर्थिक संकलन गर्ने र जीवन, जगत र परमात्मालाई बुझाउने पनि उद्देश्यहरु रहेकाले उक्त उद्देश्यहरु प्राप्त गर्न सबै एकजुट हुन अनुरोध गरे। महायज्ञ जस्तो पवित्र कार्यको आयोजना गरेर आफूहरूलाई सहभागी हुने अवसर प्रदान गरेकोमा आयोजक तथा न्यू इङ्गल्याण्डबासी प्रवासी नेपाली समुदायप्रति आभार प्रकट गर्दै उनले महायज्ञमा सपरिवार सहभागिता जनाउन चुले निम्तो गरे ।


कार्यक्रममा बौद्ध गुरु गेशे न्गावाङ ट्यान्ले भान्टेले कार्यक्रमको प्रशंसा गर्दै सहभागी हुन पाएकोमा निकै खुशी प्रकट गरे। उनले संक्षिप्त मन्तब्य दिदै समुदायलाई बलियो बनाउन धर्म जे जे माने पनि एकताबद्ध भएर काम गर्न आग्रह गरे। नयाँ युवा पुस्ता समुदायका लागि निकै महत्वपूर्ण रहेको जनाउदै उनले नयाँ पुस्तालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
धार्मिक ज्ञान प्रवाह गर्ने, सामुदायिक एकतालाई थप बलियो बनाउने, नेपाली भाषा, धर्म, संस्कार, संस्कृति आदिको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्ने, पुस्तान्तरण गर्ने र संस्थाका लागि आवश्यक आर्थिक सहयोग संकलन गर्ने मुख्य उद्देश्य लिएर आयोजना गरिएको महायज्ञ अगष्ट १६देखि २३, २०२६ सम्म ब्रेनट्री स्थित नेपाली सामुदायिक भवनमा हुदैछ।

समुद्घाटन कार्यक्रममा संस्थाका ट्रस्टीज अध्यक्ष सुशील पौडेलले संस्थाको अभियान र महायज्ञको उद्देश्यका बारेमा प्रकाश पारेका थिए। उनले महायज्ञ धार्मिक कार्यक्रम भएको र यसबाट मन्दिरको स्थापनालाई परिपूर्ण गर्ने उद्देश्य रहेको बताए। ट्रस्टीजका अध्यक्ष पौडेलले धार्मिक उद्देश्यका साथ आयोजना गरिएको महायज्ञ आध्यात्मिक उर्जा केन्द्र हुने जिकिर गर्दै महायज्ञमा सहभागी भएर आध्यात्मिक उर्जा अनुभव गर्न सबैलाई अनुरोध गरे। सम्बोधनका क्रममा उनले संस्थालाई वर्तमान अवस्थामा ल्याइपुर्याउन साथ सहयोग गर्ने सबैप्रति कृतज्ञता प्रकट गरे।
कार्यक्रममा कार्यसमितिका अध्यक्ष ध्रुव घिमिरेले स्वागत मन्तब्य व्यक्त गर्दै प्रमुख अतिथि, अतिथि तथा सहभागी भक्तजनहरुलाई स्वागत गरेका थिए। उनले महायज्ञबाट प्राप्त हुने आध्यात्मिक ज्ञान, सकारात्मक उर्जा र सत्कर्मको प्रेणा सबैको जीवनमा फैलियोस् भनी कामना गरे। उनले महायज्ञ सफलतापूर्वक सम्पन्न गर्न समुदायको अमूल्य योगदान प्राप्त हुने विश्वाससमेत व्यक्त गरे।

यसैगरी, महायज्ञ मूल समारोह समितिका संयोजक मिलन कुमार कार्कीले महायज्ञमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे। महायज्ञको पहिलो दिनमा देखिएको भक्तजनहरुको उत्साहजनक उपस्थितिप्रति निकै खुशी प्रकट गर्दै उनले महायज्ञ सफलतापूर्वक सम्पन्न हुनेमा आयोजक ठुक्क रहेको बताए। उनले भक्तजनहरुको यस्तै साथ, सहयोग र ऐच्छिक दान भावी दिनहरुमा पनि प्राप्त भइरहने अपेक्षासमेत प्रकट गरे।

महायज्ञ अन्तर्गत गठित कलश यात्रा उपसमितिकी संयोजक रुकमिणी कार्कीले कलश यात्रा ऐतिहासिक रुपमा भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको दावी गरिन्। उनले उक्त सफलतामा सबैको सफलता भएको इंगित गर्दै योगदान पुर्याउने सबैलाई धन्यवाद व्यक्त गरिन्।

कार्यक्रममा एनआरएन,एनसिसि,अमेरिका म्यासाच्युसेट्स च्याप्टरले दान स्वरुप ६ हजार पाँच सय डलरको चेक प्याब्फोनलाई हस्तान्तरण गरेको थियो।
कार्यक्रमको उद्घाटन महायज्ञका प्रमुख कथा वाचक पण्डित दीनबन्धु पोखरेल र बौद्ध गुरु गेशे न्गावाङ ट्यान्ले भान्टेले पानसमा बत्ती बालेर संयुक्त रुपमा महायज्ञको समुद्घाटन गरेका थिए। कार्यक्रममा भक्तजनहरुको उत्साहजनक सहभागिता रहेको थियो।


उद्घाटन समारोह समाप्त भएपछि मन्दिरमा भजन कीर्तन तथा विशेष आरती गरिएको थियो। आयोजकले भक्तजनहरुलाई प्रसाद तथा महाप्रसादको व्यवस्थासमेत गरेको थियो।














प्रतिक्रिया