बोस्टन

भोली बोस्टनमा प्याब्फोनको आयोजनामा झाँकीसहित बृहत् कलश यात्रा गरिने

भोली बोस्टनमा प्याब्फोनको आयोजनामा झाँकीसहित बृहत् कलश यात्रा गरिने


अमेरिका, बोस्टन। अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टनमा पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)ले आयोजना गर्ने श्रीमतभागवत सप्ताह ज्ञान महायज्ञ “बोस्टन सप्ताह ज्ञान महायज्ञ-२०२६” भोली अगष्ट १६,२०२६ आइतबारबाट सुरु हुदैछ। यो महायज्ञ ब्रेनट्री सिटीको ५९४ वासिङ्टन स्ट्रिट स्थित प्याब्फोनको आफ्नै सामुदायिक भवनमा अगस्ट २३, २०२६ आइतबारसम्म चल्नेछ।

महायज्ञको पहिलो दिन भोली विभिन्न झाँकीसहित बृहत् कलश यात्रा हुदैछ। महायज्ञको कार्यतालिका अनुसार नै मुख्यतः वेद-बुद्धमा आधारित पूर्वीय दर्शन, धर्म, परम्परा, रितिरिवाज, कला, संस्कार, संस्कृति, नेपाली पन तथा पहिचान आदिलाई केन्द्रमा राखेर उक्त कलश यात्रा गर्न लागिएको प्याब्फोनले जनाएको छ।

Advertisement

प्याब्फोनका संस्थापक चियर पर्सन तथा वर्तमान ट्रस्टीजका उपाध्यक्ष मिलन गुरुङले जानकारी दिए अनुसार महायज्ञको पहिलो दिन अगष्ट १६ आइतबार बिहान ८ बजे पूर्वाङ्ग गरिने र अपराह्न २ बजे बृहत् कलश यात्रा गरिने भएको छ।

३०८ कलशहरुसहित हुने उक्त कलश यात्रा ब्रेनट्रीको टाउनहलदेखि मन्दिर परिसरसम्म रहेको ०.६ माइल अर्थात् करिब १ किलोमिटर दूरीको हुनेछ। कलश यात्रामा न्यू इङ्गल्याण्ड क्षेत्रमा क्रियाशील प्रवासी नेपालीहरूको संघ संस्थाहरुले आफ्नो पहिचान झल्काउने झाँकी प्रदर्शन गर्दै सक्रिय सहभागिता जनाउने तयारी गरिरहेका छन्।

कलश यात्रामा पन्ध्र सय बढी भक्तजनहरुको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ। सहभागीहरुको सवारी साधन पार्किङ गर्न 25 Brow Ave, Braintree, MA 02184, 594 Washington st, Braintree MA 02184 र 1 JFK Memorial Dr, Braintree, MA 02184 गरी तीन स्थानको व्यवस्था गरिएको छ।

महायज्ञ अन्तर्गत गठित सञ्चार उपसमितिका संयोजकसमेत रहेका गुरुङले महायज्ञ धार्मिक कार्य मात्र नभएर समग्र समुदायको हित गर्ने महाअभियान भएको जिकिर गरे। “कलश यात्रा” कार्यक्रम नेपाल र नेपालीको पहिचान, धर्म, संस्कृति, कला, विविधतामा एकता, सामुदायिक बल, धार्मिक सहिष्णुता आदि प्रदर्शन गर्ने सुवर्ण अवसर भएको बताए। गुरुङले मुख्य गरी समुदायकै हितार्थ महान अभियानमा “सबै जुटौं, कोही नछुटौं” भन्दै न्यू इङ्गल्याण्डबासी प्रवासी नेपालीहरुलाई सहभागिताका लागि विशेष अनुरोध गरेका छन्।

कलश यात्रा पश्चात् महायज्ञका प्रमुख कथा वाचक पण्डित दीनबन्धु पोखरेलद्वारा श्रीमद्भागवत श्रवण फलसम्बन्धि प्रवचन हुनेछ।

धार्मिक ज्ञान प्रवाह गर्ने, सामुदायिक एकतालाई थप बलियो बनाउने, नेपाली धर्म, संस्कार, संस्कृति आदिको जगेर्ना गर्ने तथा पुस्तान्तरण गर्ने र संस्थाका लागि आवश्यक आर्थिक सहयोग संकलन गर्ने महायज्ञको मुख्य उद्देश्य रहेको छ।

प्याब्फोनले सन् २०१७को अगस्ट ६ देखि १२सम्म (सात दिन)शिवालय मन्दिर परिसरमा पहिलो श्रीमतभागवत सप्ताह ज्ञान महायज्ञ तथा बृहत् आध्यात्मिक महोत्सव “बोस्टन सप्ताह-२०१७” आयोना गरेको थियो। त्यही सप्ताहका दौरानमा दाताहरुले गरेको दान रकम, देउसी भैलो र अन्य अवसरहरुको दौरानमा उठेको दान रकम र सहयोगी हातहरुले गरेको आर्थिक सहयोग रकमबाट खरिद गरिएको सामुदायिक भवनमा दोस्रो महायज्ञ गर्न लागिएको हो। यस महायज्ञबाट दान स्वरुप १५ लाख डलर आर्थिक सहयोग सङ्कलन हुने आयोजकले अपेक्षा गरेको छ।