साहित्य/सिर्जना

प्रवासमा नेपाली पाठ्यक्रम सुधार्न गोष्ठी

प्रवासमा नेपाली पाठ्यक्रम सुधार्न गोष्ठी


ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससको आयोजनामा शनिबारदेखि प्रवासमा नेपाली भाषाको पाठ्यक्रमका विषयमा वृहद अन्तरकृया गोष्ठी कार्यक्रम सुरू भएको छ ।

नेपाल बाहिर नेपालीमुलका बालबालिकाहरुका लागि बिभिन्न संघसंस्थाहरुले पढाउने पाठ्यक्रमलाई समयानुकुल सुधार गर्ने र एकरुपता तयार गर्ने उद्वेश्यले गोष्ठी आयोजना गरिएको हो । यो कार्यक्रममा अमेरिकामा नेपालीभाषा पढाइरहेका बिभिन्न संघसंस्थाहरुको तर्फबाट प्रत्यक्ष र अनलाइन मार्फत सहभागिता रहेको छ ।

Advertisement

एनएसटी ग्लोबल पाठशाला तथा एलायन्स फर नेपाली अर्गनाइजेसन इन अमेरिकाको संयोजनमा भएको कार्यक्रममा बोस्टन, कोलोराडो लगायतका राज्यहरुबाट पनि नेपाली संस्थाका पदाधिकारीहरुको सहभागिता छ ।

कार्यक्रमको उदघाटन शत्रमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटा, नेपाली समाजका अध्यक्ष विजय भुसाल, पूर्व अध्यक्ष राजेन्द्र वाग्ले लगायतले अमेरिकादेखि युरोप, अष्ट्रेलियादेखि खाडी देशमा रहेका नेपाली बालबालिकाहरुलाई सहजताका लागि एकै पाठ्यक्रम हँुदा त्यसले बालबालिकाहरुमा अन्यौलता पनि हट्ने र उनीहरुले सहज रुपमा बुझ्न पनि सक्ने धारणा राखेका थिए ।

यस किसिमको कार्यक्रम प्रवासमै पहिलो पटक आयोजना गरिएको कार्यक्रमका संयाजक डा. भोजबहादुर बलायरले बताए ।

आइतबारसम्म चल्ने कार्यक्रमले पाठ्यक्रमका विषयमा स्पष्ट खाका तयार पार्ने र आवश्यक परेमा नेपालबाट सहयोग लिएर थप परिमार्जित गरिने समेत सहभागीहरुले बताएका छन् ।