चितवन । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पूर्वी चितवनको पहिलो बिबिए कलेज जिएसटी कलेजले प्लस टु उत्तीर्ण गरेका तथा परीक्षा दिएर नतिजाको प्रतीक्षामा रहेका विद्यार्थीहरूका लागि ‘लन्चप्याड भोलुम–२’ कार्यक्रम आयोजना गर्ने भएको छ । यस वर्षको कार्यक्रमको मुख्य विषय ‘फ्रम ब्रेन ड्रेन टु ब्रेन गेन : द राइज अफ जेन–जेड इन नेपाल’ रहेको छ ।
कलेजले यही साउन १० गते बिहान ११ः०० बजेदेखि रत्ननगर–१, निपनीस्थित होटल स्टारमा आयोजना गर्न लागेको सो कार्यक्रममा प्लस टु पास गरेका तथा परीक्षा दिएर बसेका सम्पूर्ण विद्यार्थीहरूलाई निःशुल्क सहभागी गराइने जनाएको छ ।
कलेजका प्राचार्य राजकुमार दाहालले विद्यार्थीहरूलाई उच्च शिक्षाको सही दिशा, करियर छनोट तथा भविष्यका अवसरबारे जानकारी गराउने उद्देश्यले सो कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए । उनका अनुसार कार्यक्रममा जिएसटी कलेजका शैक्षिक कार्यक्रम, अध्ययनको वातावरण, उपलब्ध सुविधा तथा बिबिए अध्ययनका अवसरबारे विस्तृत जानकारी प्रदान गरिने छ । कार्यक्रमको विशेष आकर्षणका रूपमा ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ विषयमा ‘प्यानल डिस्कसन’समेत हुनेछ ।
प्यानल डिस्कसनमार्फत नेपालबाट हुने ब्रेन ड्रेन रोक्ने र स्थानीय शैक्षिक स्रोत तथा प्रतिभालाई देशको विकासमा प्रयोग गर्ने उपायबारे पूर्वी चितवनका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्वहरूको सहभागिता रहनेछ, जहाँ नेपालमै गुणस्तरीय शिक्षा, युवाको भविष्य, विदेश अध्ययनको आकर्षण र स्वदेशमै अवसर सिर्जनाका विषयमा अन्तरक्रिया हुनेछ ।
यसैगरी कार्यक्रममा सहभागी विद्यार्थीहरूका लागि रिफ्रेसमेन्ट, डिजे प्रस्तुतिलगायत समावेश गरिएको कलेजले जनाएको छ । कलेजका प्राचार्य दाहालले विद्यार्थीहरूलाई उच्च शिक्षाको सही निर्णय लिन सहयोग पुग्ने भएकाले कार्यक्रममा सहभागी भई अवसरको सदुपयोग गर्न आग्रह गरेका छन् ।
जिएसटी कलेजले यो कार्यक्रम विद्यार्थीहरूलाई प्रेरणा, मार्गदर्शन र करियर निर्माणको स्पष्ट दृष्टिकोण प्रदान गर्ने उद्देश्यका साथ आयोजना गरिएको जनाएको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा कलेजका प्रबन्ध निर्देशक ईं. दिवस मैनाली र कलेजका अध्यक्ष हरिशरण पाठकले जिएसटी कलेज डिग्री प्रदान गर्ने संस्थामात्र नभएर राष्ट्रलाई आवश्यक पर्ने दक्ष, जिम्मेवार, नैतिकवान् र प्रतिस्पर्धी नेतृत्व उत्पादन गर्ने शैक्षिक संस्थाका रुपमा स्थापित रहेको बताए ।












प्रतिक्रिया