टेक्सस

पिकनिक बन्यो बुढेशकालको अनुभव साट्ने थलो

पिकनिक बन्यो बुढेशकालको अनुभव साट्ने थलो


ड्यालस (अमेरिका) । बसन्ती श्रेष्ठ लामो समय नेपालको सिराहामा शिक्षिका भएर काम गर्नुभयो । ७९ बर्षिया उहाँ विगत केही वर्षदेखि टेक्ससको केलर सिटीमा छोराबुहारी, नातिनातिनासँग बस्दै आउनुभएको छ ।

आइतबार टेक्ससको ग्रेपभाइनमा बा आमाका लागि आयोजित पिकनिकमा भेटिनुभएको उहाँ अमेरिकामा आफ्नो उमेर समूहका धेरैजना नेपालीसँग भेट हुँदा असाध्यै खुशी देखिनुहुन्थ्यो । ‘बाबु दिनभरि घरमा बसिरहँदा कति पट्यार लाग्छ, त्यो पट्यार नलागोस् भनेर म त अझै करेसाबारी बनाएर काम गर्छु, योग गर्छु, बिहान हिँड्छु’ उहाँले भन्नुभयो ।

Advertisement

उहाँ ड्यालस फोर्टवर्थमै रहेर पनि पिकनिकमा आउन नसकेका अरु धेरै आफ्नै उमेर समूहका प्रति चिन्ता गर्दै हुनुहुन्थ्यो । ‘मैले चिनेकै कति जना आउनु भएको छैन । यस्तो ठाउँमा त छोराबुहारी, छोरी ज्वाईले ल्याइदिनुपर्छ नि ।’

बसन्ती जस्तै उमेर समूहका सयौँ बा आमाहरु आइतबार दिनभरि पिकनिकमा रमाएका थिए । उनीहरुले गीत, नाचगान, बिभिन्न खेलहरु खेलेर रमाइलो गरे । कतिले आफ्नो विगत सुनाए । अमेरिका बसाइको रहर सुनाए, वाध्यता बताए ।

भरखरै नेपालबाट घुम्न आएका बा आमा मात्र होइनन्, टेक्ससमा तीन दशकदेखि बस्दै आएकाहरु पनि रमाइलोसँग आइतबारको दिन बिताएका थिए । ग्रेपभाइन तालको छेउमा रहेको रमणीय पार्क, घमाइलो मौसम, सिरिरी चलिरहेको तालको हावाले वातावरण निकै रमाइलो र पाको उमेरका व्यक्तिहरुलाई सहज बनाइरहेको थियो ।

नेपालमा रहँदा हुलाक सेवा विभागमा अधिकृत रहनुभएका गोपाल गौतम पनि पिकनिकमा भेटिनुभयो । बिभिन्न जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएर जिल्ला हाँक्नुभएका थुप्रै सहसचिवहरु यहाँ भेटिँदा निकै खुशी र भावुक देखिनुहुन्थ्यो । आफ्नो ती विगत याद गर्दै, सुनाउँदै निकै नोस्टाल्जिक हुनुहुन्थ्यो उहाँहरु ।

‘हामी क्यानडामा बसेको २० वर्ष जति भैसक्यो । यहाँ छोरा भेट्न आउँदा कार्यक्रममा सहभागी हुन पाइयो । साह्रै रमाइलो लाग्यो’ एक दम्पत्तिले भन्नुभयो । छोराबुहारी भेट्न अमेरिका आउनुभएका उहाँ नेपालमा छँदा वन विभाग अन्तरगत विभिन्न जिल्लाहरुमा कार्यालय प्रमुख भएर काम गर्नुभएको बताउनुभयो । ‘कहिल्यै नभेटिएका अलिक टाढाका आफन्तहरु पनि यहाँ भेटिनुभयो’ उहाँले भन्नुभयो ।

आयोजक वाक फर नेपालले हरेक वर्ष अप्रिल महिनामा नेपालबाट घुम्न आउनुभएका, परिवार भेट्न आउनुभएका बा आमाहरुका निम्ति यस्तो पिकनिक आयोजना गर्दै आएको छ । गत वर्ष यसमा ब्रेक लागेपनि यसवर्षदेखि फेरि निरन्तरता दिन सुरु गरिएको छ ।

आयोजक संस्थाका प्रदीप गिरी, जीवन घिमिरे, सुमन कार्की, जुविन राजभण्डारी, दिपक सिलवाल लगायतको दुई महिनादेखिको सकृयता र खटाइ साँच्चै सार्थक बनेको अनुभव सहभागीहरुले गरेका छन् । झण्डै पाँचसयको हाराहारीमा रहेका व्यक्तिहरुलाई निशुल्क रुपमा बिहानको खाजादेखि लिएर स्वास्थ अनुसार दिउँसो खाना, फलफूलको व्यबस्था गर्नु सानोतिनो सकृयताले संभव हुने विषय होइन ।

छोराबुहारीलाई भेट्न दुई साता अघिमात्र अमेरिका आइपुग्नुभएका अर्जुन पुडासैनी पिकनिक देखेर दंग पर्दै हुनुहुन्थ्यो । नेपालको सरकारी सेवाबाट केही समय अघिमात्र अवकाश लिनुभएका पुडासैनीले दशकौँ पुरानो सहकर्मीलाई पिकनिकथलोमै भेट्नुभयो । ‘टेक्ससमै हो भन्नुभएको थियो, कहाँ हुनुहोला भन्ने लागेको थियो । यहिँ भेट भयो’ उहाँ उत्साहित हुँदै भन्नुभयो ।

आयोजकहरुले हरेक व्यक्तिलाई ख्याल गर्दै कस्तो प्रकारको खाना (सादा, मांशाहारी, लसुन प्याज नभएको) मा व्यबस्था गरेका थिए । दर्जनौ स्वयम्सेवकहरु खाना बनाउने, ख्वाउने काममा स्वपूर्त रुपमा परिचालित थिए ।

बा आमाहरुको अनुहारमा खुशी देख्दा हामीलाई साह्रै आनन्द लाग्छ । आयोजक संस्थाका प्रदीप गिरीले भने । घरमा बस्दा बस्दा पट्यार हुने, छिमेकमा पनि आफ्नो भाषा बोल्ने र बुझ्ने नहुँदा मनका कुरा मनमै गुम्साएर राख्नुपर्ने वाध्यता हुन्छ । यस्तो अवस्थामा केही घण्टा भएपनि बा आमाहरुलाई एकै ठाउँमा जम्मा हुँदा उहाँहरु निकै खुशी हुनुहुन्छ गिरीले भने ।

सँगै खाने क्रममा होस् या खेल्ने क्रममा चिनजान भएपनि धेरै बा आमाहरु आफ्नो फेसबुक साटासाट गर्दै हुनुहुन्थ्यो । कोही भने तालको छेउमा पुगेर टिकटक बनाउँदै हुनुहुन्थ्यो ।

‘म त करेसाबारीमा एक्टिभ भैरहन्छु । करेसाबारी समूह अमेरिकाको फेसबुकमा भिडियो, अरुले फलाएको तरकारी हेर्दा रमाइलो लाग्छ’ बसन्तीले सुनाउनुभयो ।

ग्रीनकार्डमा आएका बा आमाहरु भने एक आपसमा पीडा साट्दै हुनुहुन्थ्यो । पहिले त नेपाल गएर एक वर्ष बसेर आइन्थ्यो । अहिले त ६ महिना कट्नै नहुने रहेछ । उता भए छरछिमेक, आफन्तको नजिक बस्दा छुट्टै हुन्थ्यो । यता ग्रीनकार्ड निल्नु न ओकल्नु भएको छ एकजना बृद्ध आमा आफ्नै उमेर समूहकी अर्की महिलासँग दुःखेसो पोख्दै हुुनुहुन्थ्यो ।

बृद्ध बा आमालाई भरपूर मनोरञ्जन दिन र सकृय गराउन खटिएका थिए सुमन कार्की । कार्कीले हरेक बा आमालाई उहाँहरुको रुची अनुसारको प्रस्तुती गर्ने अवसर दिएका थिए ।

हिमालय हेल्थ क्लिनिकले निशुल्क स्वास्थ उपचारको लागि नर्सहरु परिचालन गरेर स्टल राखेको थियो । जहाँ आधा दर्जन नेपाली नर्सहरु बा आमाको स्वास्थ जाँच, परामर्श दिन व्यस्त थिए ।

वाक फर नेपालले आयोजक गर्ने हरेक कार्यक्रमले ड्यालस फोर्टवर्थमा विशेष छाप छोडने खालका हुन्छन् । आइतबारको पिकनिक कार्यक्रमले अझै विशेष प्रकारको छाप छाडेको महसुस समुदायका अगुवाहरुले गरेका छन् । कार्यक्रमलाई सफल बनाउन नेपाली समाज टेक्सस, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र लगायत स्थानीय संघसंस्थाले भरपूर सहयोग गरेका थिए ।

केही सहभागीहरु भने आफ्ना चिनजान, साथीलाई उनीहरुका छोराबुहारी, छोरी ज्वाईले नल्याइदिएकोमा आक्रोशित थिए । घरमा बा आमालाई नोकर बनाउन ल्याएका हुन् कि क्या हो तिनीहरुले ? कस्ता हुन्छन् हो कसैका छोराबुहारी, छोरी ज्वाई त ? एकजना महिला भन्दै हुनुहुन्थ्यो ।

आयोजक संस्थाका अनुसार बा आमाका लागि मात्र स्विकृत भएकोले पाँचसयको हाराहारीमा सहभागी हुन दर्ता भएका थिए । कोही दर्ता नभएका पनि आउनुभयो, कोहीकोही दर्ता भएर पनि आउन नभ्याउनुभएको देखियो आयोजक संस्थाका दीपक सिलवालले भने ।