मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking

धन्यवाद म्याडम प्राइम मिनिस्टर!

धन्यवाद म्याडम प्राइम मिनिस्टर!

चुनाव भयो, जेनजी आन्दोलन सफल भयो


देशभित्र युवाहरूमा चुलिएको चरम असन्तुष्टि ६ महिना अघि सडकमा पोखिएको थियो। दुई दिनमै यसले देशको राजनीतिमा उथलपुथल ल्यायो। त्यही युवाहरूको आन्दोलनको बलमा सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बन्यो। यो सरकारले सुरुदेखि नै ६ महिनाभित्र चुनाव गराउने र नयाँ जनादेश पाउने पार्टीलाई सत्ता हस्तान्तरण गर्ने मुख्य र एक मात्र लक्ष्य राखेको थियो। धेरैले यसलाई पत्याएका थिएनन्। कसरी ६ महिनामा चुनाव हुन्छ भन्ने प्रश्न व्यापक थियो। विशेष गरी परिवर्तन नचाहनेहरूले यस्तो प्रश्न उठाउँदै आएका थिए।

चुनावका लागि थुप्रै चुनौती थिए। चुनाव नचाहनेहरूको संख्या पनि कम थिएन। पुरानो संसद पुनर्स्थापना हुनुपर्छ भनेर अदालतमा पनि मुद्दा परेको थियो। यो सरकार नै वैधानिक होइन भन्नेहरू पनि थिए। यो युवाको आन्दोलनले ल्याएको सरकार थियो। पुरानो सत्ता ढलिसकेकाले चुनाव बाहेक देशमा अर्को विकल्प थिएन। जनताको अभिमत पनि देश सञ्चालनको मुख्य आधार हो। त्यसका लागि चुनावको विकल्प थिएन।

Advertisement

प्रधानमन्त्री सुशीला कार्कीको सरकारले तोकिएको समयमै शान्तिपूर्ण र धाँधलीरहित चुनाव गराएर देशलाई ठूलो गुण लगाएको छ। यसले सुशीला कार्कीको नाम इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको रूपमा मात्र होइन, तोकिएको समयमै चुनाव गराउन सक्षम नेताका रूपमा पनि लेखिनेछ। यसका लागि उनको टिम—अर्थमन्त्री, गृहमन्त्री लगायतलाई पनि धन्यवाद दिनै पर्छ। चुनावका लागि बनेको यो सरकारमा बसेका केही मन्त्री बीचमै छाडेर गए। तर कार्की लगायत उनका केही मन्त्री आफ्नो प्रतिबद्धतामा अडिग रहे। उनीहरूको उचित मूल्यांकन देशले गर्नेछ।

यो चुनावको माहोल बनाउन नेपाली कांग्रेसका सभापति गगन थापालाई पनि विशेष धन्यवाद दिनुपर्छ। उनले सुरुदेखि नै जेनजी आन्दोलन र आफ्ना विगतका कमजोरीहरू स्वीकारे मात्र होइन, चुनावलाई पनि पूर्ण समर्थन गरे। मतदानपछि उनले सरकारलाई चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गरेकोमा धन्यवाद पनि दिए। निर्वाचन नतिजा जे जस्तो आए पनि चुनावलाई स्वीकार गरेर गगनले एउटा परिपक्व राजनेताको छवि बनाएका छन्। यसलाई पनि इतिहासले भुल्ने छैन।

चुनाव भइसकेपछि यसको नतिजालाई स्वीकार गरेर जानुको विकल्प छैन। मान्नै पर्छ। कुनै पार्टी वा उम्मेदवारको हार वा जितले देशको लोकतान्त्रिक प्रक्रियालाई फरक पार्दैन। संसदमा संख्या पुर्‍याउनेले सरकार बनाउँछन्, अर्को पक्ष प्रतिपक्षमा बस्छ। बस्नै पर्छ। सत्तामा हुनेहरूले जनतासँग गरेको बाचा अनुसार काम गरेनन् भने अर्को चुनावमा भोट नदिने हो। “खै त काम गरेको?” भनेर प्रश्न गर्ने हो। यो अधिकार सबै नेपालीसँग छ।

यो चुनाव दलाली गरेर पैसा खान पल्केका राजनीतिक कार्यकर्ता र बिचौलियाहरू विरुद्ध थियो। यो पार्टी कार्यकर्ता र समर्थकबीचको लडाइँ पनि थियो। अब कार्यकर्ता होइन, समर्थकले जितहारको निर्णय गर्छन् भन्ने पुष्टि गर्ने चुनाव थियो। यो चुनावले धेरै असक्षम, भ्रष्ट र लिसोझैँ सत्तामा टासिनेहरूलाई पाखा लगाउनेछ। यस्ता लिसोहरूको समर्थन गरेर आफ्नो स्वार्थ पूरा गर्ने जमात पनि विस्तारै समाप्त हुनेछ।

देशमा अहिले धेरै समस्या छन्। तीमध्ये धेरैजसो आर्थिक पक्षसँग जोडिएका छन्। देशका युवाहरू हुलका हुल बाँधेर विदेश गइरहेका छन्। विदेशबाट नेपाल फर्किन चाहनेहरूलाई पनि विभिन्न कानुन देखाएर त्रास देखाइन्छ। कर्मचारी प्रशासन खत्तम छ। यहाँ व्यापक सुधारको आवश्यकता छ। ७० किलोमिटर सडक बनाउन सुरु गरेको १० वर्ष भयो, तर ५० प्रतिशत पनि सकिएको छैन। काठमाडौं–मुग्लिन सडक देशको मुख्य राजमार्ग हो। ५० वर्षदेखि यहाँ गुड्नेहरूले खासै परिवर्तन देखेका छैनन्।

शहरीकरण भएको छ। राम्रा राम्रा घर बनेका छन्। गरिबी केही घटेको छ। तर यो सबै विदेश जाने युवाले कमाएर पठाएको पैसाले देखिएको हो। युवाहरू देशमा राम्रो रोजगारीका अवसर नपाएर विदेश गए। घरमा भएका बा–आमाले पनि “मेरो छोरा–छोरी किन विदेश जानुपर्‍यो?” भन्ने प्रश्नको उत्तर खोज्न थालेका छन्। नेतृत्वमा बस्नेहरू इमान्दार भइदिए मात्र पनि सुशासन कायम गर्न सकिन्छ। अब सक्षम नेतृत्व आउँछ भन्ने आशा गर्ने ठाउँ यही हो।

देशसँग जनमत अस्वीकार गर्ने ठाउँ हुँदैन। जनताले चुनावबाट जे म्यान्डेट दिए, त्यसलाई मानेर जानुपर्छ।

जे होस्, देश फेरि कानुनी बाटोमा फर्किएको छ। राजनीतिक अन्योल कम भएको छ। यसको जस ६ महिनाभित्र चुनाव गराउने म्याडम प्राइम मिनिस्टर सुशीला कार्की र उनको टिमलाई दिनै पर्छ। हामी भन्छौँ—धन्यवाद म्याडम प्राइम मिनिस्टर, तपाईंले देशलाई निकास दिनुभयो। उद्देश्य पूरा गर्नुभयो।

शेयर गर्नुहोस:

486
Shares