बिजनेस/ इकोनोमी

बजारमा दसैँको चहलपहल, महँगीले उपभोक्ता चिन्तित

बजारमा दसैँको चहलपहल, महँगीले उपभोक्ता चिन्तित


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने सर्वसाधारणको भीड लागेको छ।

दसैँ नजिकिँदै गर्दा खासगरी सहरी क्षेत्रका भोटाहिटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशालबजार, सुन्धरा, खिचापोखरी, नयाँसडक, बागबजार, डिल्लीबजार, बानेश्वर, पुतली सडकलगायतका क्षेत्रमा लुगाफाँटा र आवश्यक सरसामान खरिद गर्नेको चहलपहल बाक्लो रूपमा रहेको पाइएको छ।

Advertisement

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि छिमेकी मुलुक चीनतर्फका दुई वटा नाका ठप्प भएकाले पनि अघिल्लो वर्षको तुलनामा बजारमा खासगरी लत्ताकपडाको मूल्य केही बढेको हुन सक्ने उपभोक्ताको अनुमान छ। दैनिक उपभोग्य वस्तुसहित खाद्यान्नको मूल्य पनि पछिल्लो समय निकै बढेको उपभोक्ताको गुनासो छ।

काठमाडौँ महानगरपालिका–३२ का शालिकचन्द्र शर्माले महँगी बढेसँगै चाडपर्व मनाउन पनि अप्ठेरो हुँदै गएको गुनासो गरे। “जिरा मसिनो चामलको भाउ एक बोरामा नै रु ३०० बढेको छ,” उनले भने, “दसैँमा खानुपर्ने खसीको मासुको भाउ पनि प्रतिकिलो रु ३०० देखि ४०० ले बढेको छ। न्यून आय हुनेका लागि त दसैँ मनाउन पनि मुस्किल हुने देखिएको छ।”

शालिकचन्द्र मात्रै होइन, तिनकुनेकी स्मिता खत्री पनि यसपालिको दसैँमा आफ्ना परिवारका सदस्यलाई एक जोर नयाँ लुगा फेरिदिने सोचमा छिन्। तर, लत्ताकपडाको भाउ बढे पनि जेनतेन तीन सन्तानका लागि नयाँ लुगा किनमेल गरिसकेको उनले बताइन्। “दसैँमा एकसरो लुगा त फेरिदिनुपर्‍यो नि,” उनले भनिन्, “सीमित आयस्रोत हुनेलाई दसैँ त दशाजस्तै हुने, के गर्नु नमनाएर पनि नहुने।”

आम्दानीको स्रोत कम हुनेलाई दसैँ मनाउने विषय निकै सास्तीपूर्ण हुने गरेको सर्वसाधारण उपभोक्ताको भनाइ छ। उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले यसपालिको दसैँमा खाद्यान्न, लत्ताकपडा र अन्य अत्यावश्यक सरसामानको भाउ निकै वृद्धि भएको बताए। “बजारमा सबैखालको खाद्यान्नमा भाउ बढेको छ,” उनले भने, “अहिले त ताजा तरकारी, फलफूलदेखि मासुजन्य पदार्थको मूल्य आकासिएको छ।”

अध्यक्ष तिमल्सिनाले नियमित रूपमा बजार अनुगमन गरी मूल्यवृद्धि नियन्त्रण गर्नेतर्फ सरकारका संयन्त्र अग्रसर हुनुपर्ने बताए। “सरकारले आपूर्ति शृङ्खलालाई नियमित गर्ने र मूल्यवृद्धि नियन्त्रणमा हस्तक्षेप गरेर नै अघि बढ्नुपर्ने जरुरी देखिएको छ,” उनले भने।

नेपाल हिमालयन सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले छिमेकी मुलुक चीनसँग जोडिएका मुख्य लाइफलाइनका रूपमा रहेका रसुवा र तातोपानीका नाका अवरुद्ध हुँदा वस्तु तथा सामान ल्याउन असहज भइरहेको बताए।

“चीनसँग जोडिएका नाका अवरुद्ध हुँदा व्यापारमा पनि ठूलो असर परेको छ,” उनले भने, “चीनतर्फबाट दसैँलगायतका पर्वलाई लक्षित गरी ल्याउन लागिएका करिब रु पाँच अर्ब मूल्य बराबरका सामान नाकामा रोकिएको छ।”

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रितेशकुमार शाक्यले विभागले चाडपर्व लक्षित अनुगमनलाई तीव्रता दिँदै आएको बताए। उनले भने, “अहिले दैनिक २५ देखि ५० वटा विभिन्न फर्म तथा कम्पनीहरूको अनुगमन गर्दै आएका छौँ। अधिकतम खुद्रा मूल्यभन्दा धेरै मूल्य लिने व्यापारी तथा व्यवसायीलाई पनि आवश्यक कानुनी दायरामा ल्याइरहेका छौँ।”

महानिर्देशक शाक्यले कुनै पनि वस्तु तथा सामान तोकिएको मूल्यअनुसार बिक्रीवितरण गर्न सबैलाई अनुरोध गरे ।