मायामी, (अमेरिका) । नेपाली मूलका अमेरिकी धावक बाल जोशीले दौरा सुरुवालमा ‘विश्व म्याराथन च्यालेञ्ज’ पुरा गरेर गिनिज बुकमा नाम लेखाएका छन् ।
जोशीले ‘विश्व म्याराथन च्यालेञ्ज’ अन्तर्गत सात महादेशमा, सात दिन लगातार सञ्चालन भएको सात वटा म्याराथनमा दौरा सुरुवालमा दौडिएर विश्व किर्तिमान कायम गर्दै गिनिज बुकमा नाम लेखाएका हुन् ।
शुक्रवार फ्लोरिडाको मायामीमा आयोजित ‘विश्व म्याराथन च्यालेञ्ज’को समापन समारोहमा गिनिज बुकका प्रतिनिधि माईकल ईम्प्रिकले जोशीलाई प्रमाण पत्र प्रदान गरे ।
अन्टार्टिकाबाट शुरु भएको म्याराथन, अफ्रिकाको केप टाउन, अष्ट्रेलियाको पर्थ, एशियाको दुबई, स्पेनको म्याड्रिड, ब्राजिल हुदै सातौ दिनमा अमेरिकाको मायामीमा सम्पन्न भएको हो ।
अत्यन्त चुनौतीपूर्ण मानिने ‘विश्व म्याराथन च्यालेञ्ज’ २०१५ बाट सञ्चालन हुदै आएको छ । सात महादेशमा लगातार सात दिनसम्म सात म्याराथन सञ्चालन हुने भएकोले यो प्रतियोगितालाई ‘७७७ म्याराथन’ भनिन्छ । म्याराथनमा जोशी सहित ३२ देशका ५६ धावक सहभागी थिए ।
जोशीले आफू जन्मेको माटो र सम्पदाप्रतिको सम्मानका लागि दौरा सुरुवालमा म्याराथन पुरा गरेको बताए । दौरा सुरुवाल काठमाण्डौंका विश्व गौतमले तयार गरेका थिए ।
टेक्ससको ग्रेपभाईनवासी जोशी पशुपतिनाथ मन्दिर, चेम्बरको संस्थापक हुन् । उनी पेशाले बैंकर्स हुन् ।













प्रतिक्रिया