ड्यालस (अमेरिका) नेपाली समाज टेक्ससको गत डिसेम्बरमा निर्वाचित नयाँ पदाधिकारीहरुले शनिबारदेखि पदभार ग्रहण गरेका छन् ।
डिसेम्बर १३ तारिखमा भएको निर्वाचनबाट विजय भुसालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । उक्त टिमले शनिबार एक कार्यक्रमबीच शपथ ग्रहण गर्नुका साथै पदभार ग्रहण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि मेरिल्याण्ड राज्यका सांसद् ह्यारी भण्डारीले विशेषरुपमा सम्बोधन गर्दै संसारभरिमा नेपाल हेपिएको अवस्थामा पुगेको उल्लेख गर्दै नेपालको इज्जत प्रतिष्ठा बढाउन अमेरिकामा रहेका अमेरिकी नेपालीहरुले क्षमता अनुसार सक्रिय हुनुपर्ने आवश्यकता औँल्याए ।
‘हामी पनि अमेरिकी अर्थतन्त्रको इन्जिन हौँ भन्ने कुरा अमेरिकी सरकारसम्म पु¥याउनुपर्छ । अमेरिकामा २१ मिलियन (दुई करोड १० लाख) एसियन अमेरिकन रहेको र राजस्वको हिसाबले यो समूहको ठूलो योगदान रहेको छ’, भण्डारीले उल्लेख गरेका छन् ।
‘हामीले यहाँ हुर्किएका हाम्रा बालबालिकाहरु भोलि ठूलो भएर नेपालको लागि राजदूत भएर जाऊन् भन्ने सोचका साथ काम गर्नुपर्छ र नेपाली समाज टेक्ससजस्ता संस्था त्यसमा फोकस हुनुपर्छ’, उनले भने ।
कार्यक्रममा नवस्थापित कन्सुलेट अफिसका प्रमुख महावाणिज्यदूत सुरेश अधिकारीले आफ्नो कार्यालयबाट नेपाली राहदानी वितरण, भिसा लगायतका सुविधाहरु प्रदान गरिँदै आएकोमा गैरआवासीय परिचयपत्र पनि केही हप्ताभित्रै सुरु हुने चरणमा रहेको जानकारी दिए ।
त्यस अवसरमा अध्यक्ष राजेन्द्र वाग्लेले आफ्नो दुई कार्यकाल (चार वर्ष)मा नेपाली समाज टेक्ससले सम्पन्न गरेका कार्यक्रमहरुको फेहरिस्त प्रस्तुत गर्दै अमेरिकी मुलधारमा समावेश गरेर संस्थालाई ९११ नम्बर पछिको नेपाली समुदायले सम्झने निकायका रुपमा परिचित बनाएको उल्लेख गरे ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष विकास उप्रेती, लसएन्जलसबाट सहभागी विमल श्रेष्ठ, ग्यान्सका अध्यक्ष विदुर खतिवडा, नेपाली समाज टेक्ससका पूर्वअध्यक्ष दिनेश शर्मा लगायतले नयाँ टिमलाई शुभकामना ज्ञापन गरेका थिए ।
त्यस अवसरमा नवनिर्वाचित अध्यक्ष भुसालले संस्थाको प्रमुख फोकस ग्लोबल पाठशाला, नेपाली समुदायमा आवश्यक सेवा सहयोग र मन्दिर बनाउनका लागि हरतरहले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाली समाज टेक्ससले मन्दिर निर्माणका लागि पाँचलाख डलर दिने घोषणा यसअघि नै गरिसकेको छ ।
त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त महेश नेपालले अध्यक्ष भुसालसहितका पदाधिकारीहरु एवं सदस्यहरुलाई पदको शपथ गराएका थिए ।
निर्वाचनका क्रममा स्वयमसेवकका रुपमा तथा अन्य विभिन्न ढङ्गबाट सहयोग गर्नेहरुलाई समते कार्यक्रममा सम्मान गरिएको थियो । निर्वाचन सफल बनाउन डेढसय जनाले सहयोग गरेको त्यस अवसरमा जानकारी दिइएको थियो ।
त्यस्तै, नेपाली समाज टेक्ससले विगतका बिभिन्न रुपबाट संस्थालाई सहयोग गर्नेहरुलाई समेत सम्मान र प्रशंसापत्र प्रदान गरेको थियो ।
त्यस अवसरमा निवर्तमान कोषाध्यक्ष रामकृष्ण यादवले ५ लाख ८५ हजार ६ सय ७९ डलर ४७ सेन्ट सहितको कोषको विवरण, चेकबुक र सम्पत्ति विवरण नयाँ कोषाध्यक्ष आदित्य थापालाइ हस्तान्तरण गरेका थिए । त्यस्तै, महासचिवको कार्यभार समेत सम्हालेका अध्यक्ष राजेन्द्र वाग्लेले नवनिर्वाचित महासचिव प्रविश श्रेष्ठलाइ माइन्युट लगायत हस्तान्तरण गरेका थिए ।













प्रतिक्रिया