टेक्सस

नेपाली समाजको स्मारिकाको विमोचन

नेपाली समाजको स्मारिकाको विमोचन


ड्यालस (टेक्सस) । नेपाली समाज टेक्ससले आफ्नो २५ बर्षे इतिहासको दस्तावेज आइतबार ड्यालसमा सार्वजनिक गरेको छ ।

समाजका पूर्ब अध्यक्षहरु लगायत समुदायका लव्ध प्रतिष्ठित व्यक्तित्वहरुले सामुहिक रुपमा स्मारिकाको विमोचन गरेका थिए ।

Advertisement

सार्वजनिक कार्यक्रममा समाजका पूर्ब अध्यक्षहरुले संस्था जति परिपक्व हुँदै गएको छ, नेतृत्वमा हुने व्यक्तिहरुको दायित्व एवं जिम्मेवारी बढ्दै गएको हुँदा संस्थालाई समय दिन सक्नेले मात्र नेतृत्वमा आउने चाहना राख्नुपर्नेमा सुझाव दिए ।

कार्यक्रममा नेपाली समाज टेक्ससका पूर्ब अध्यक्ष एवं एनआरएनए आइसिसीका महासचिव गौरीराज जोशीले आपूmलाई समाजमा परिचय र नेतृत्वको क्षमता एनएसटीलेनै दिएको स्मरण गर्दैै संस्थामा आउन पार्टीगत राजनीतिको सहाराले मात्र नहुने धारणा राखे । ‘म अध्यक्षमा निर्वाचित हुँदा पार्टीगत रुपमा उम्मेदवार भएका साथीले हार्नुभयो, म स्वतन्त्र भएकोले सबैले विश्वास गरेर जिताउनुभएको थियो’ जोशीले भने ।

जोशीले समाजको इतिहासलाई स्मारिकाको माध्यमबाट लिपिवद्ध गरेकोमा पदाधिकारीहरुलाई धन्यवाद समेत ज्ञापन गरेका थिए ।

सोही अवसरमा युलेस सिटीका मेयर प्रो टेम टिका पौडेलले संस्थाहरुका इतिहास सबैले लिपिवद्ध गरेर भावी पुस्ताका लागि हस्तान्तरण गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता बस्नेत सापकोटाले मन्दिर र समाजको विगतदेखि वर्तमानसम्मको अन्योन्याश्रीत सम्बन्धको चर्चा गर्दैै समुदायका दुई संस्थाहरु मिलेर अघि बढिरहेको उल्लेख गरिन् ।

एनएसटीका अध्यक्ष राजेन्द्र वाग्लेको सञ्चालनमा भएको कार्यक्रममा बोर्ड अफ ट्रष्टी अध्यक्ष बैकुण्ठ विक्रम थापाले २१ वर्ष अघि आफू अध्यक्ष हुँदा भएका कार्यहरु र तत्कालिन परिवेशको चर्चा गर्दै स्मारिकाले कतिपय सन्दर्भहरु छुट्न पुगेको बताए । ‘संस्था भएकोले राजनीतिक प्रभाव पार्ने प्रयास हुन्छ, त्यसलाई सदस्यहरुले चिरेर सही नेतृत्व चयन गर्ने हो भने समस्याहरु समाधान हुन्छन्’ उनले भने ।

त्यस अवसरमा पूर्ब अध्यक्ष तथा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र बोर्ड अफ ट्रष्टी अध्यक्ष डा. प्रेम अधिकारी, महाबाणिज्यदुतावासका प्रवक्ता प्रविण अधिकारी, एनएसटी स्कुलका प्रिन्सिपल भोजबहादुर बलायर, पूर्ब अध्यक्ष दिनेश शर्मा, बासुदेव भण्डारी, किरण पौडेल, महेश नेपाल लगायतले समाजको विगत देखि वर्तमानसम्मको संक्षिप्त चर्चा र स्मरण गरेका थिए । साहित्यकार तथा समाजका संस्थापक भीम कार्कीले एनएसटी सोभेनियर स्मारिका माथि समिक्षा गर्दै नेपाली समाज टेक्ससलाई जान्न र बुझ्न चाहनेका निम्ति एउटा गतिलो दस्तावेज तयार भएको उल्लेख गरे ।

सन् १९९८ मा त्यतिखेरका नेपाली समुदायलाई सहयोग गर्नका लागि नेपाली समाज टेक्सस स्थापना भएको थियो । हरिदेव जोशी यो संस्थाको संस्थापक अध्यक्ष थिए । त्यसयता संस्थामा जगदीश उपाध्याय, सुदिपराज शर्मा, वैकुण्ठ बिक्रम थापा, गौरीराज जोशी, राम सी पोखरेल, प्रेम अधिकारी, भुवन आचार्य, कृष्ण लामिछाने, सुमन थापा, दिनेश शर्मा र राजेन्द्र वाग्ले अध्यक्ष भएर नेतृत्व गरिसकेको छन् ।

शेयर गर्नुहोस:

1.7k
Shares