ड्यालस (अमेरिका) । नाम प्रदीप गिरि । तर उनलाई प्रदीपका नामले असाध्यै थोरैले मात्र चिन्दछन् । सामाजीक सञ्जालबाट उनीसँग जोडिएका र पछिल्लो समयमा चिनिएका अधिकांशले उनलाई ‘मम गिरि’ का नामले मात्र जान्दछन् ।
विशेषगरि चीनबाट उत्पत्ति भएको मम अहिले अमेरिकामा नेपाली परिकार (डिस) को रुपमा परिचित भएको छ । यही ममलाई फेस्टिबल अर्थात महोत्सव आयोजना गरेर अझै चिनाउनका लागि प्रदीप विगत केही वर्षदेखि निरन्तर समर्पित छन् । ममलाई अमेरिकामा चिनाउने र प्रख्यात बनाउने क्रममा शनिबार चौथो मम फेस्टिबल सम्पन्न भयो ।
महोत्सवमा नेपाली र नेपालीमुलका मात्र थिएनन् । विश्वका बिभिन्न कुनाबाट आएकाहरु जस्ले ममको स्वाद लिएका छन् उनीहरुले समेत सहभागिता जनाएका थिए । ममका विभिन्न परिकारहरु बिक्रीका लागि मात्र १५ वटा स्टलहरु राखिएका थिए । जहाँ सर्वसाधारणहरुले एक घण्टासम्म कुरेर ममको स्वाद लिइरहेका थिए ।
‘मलाई एउटा छुटटै प्रकारको मेला महोत्सव गर्ने केही वर्ष अघिदेखिकै सपना थियो । सुरुमा ममको रेष्टुरेन्ट पनि चलाएँ । नेपाली ग्राहकहरु रेष्टुरेन्टमा आएपछि सबैभन्दा पहिले अर्डर गर्ने र सबैभन्दा बढी बिक्री हुने परिकार यही देखेपछि यसैलाई किन प्रवर्द्धन नगर्ने भन्ने लागेर मम फेस्टिवल आयोजना गर्ने सोच आएको हो’ उनले विगत तर्फ फर्किदै भने ।
सन् २०२२ मा आर्लिङ्गटनबाट सुरु भएको मम फेस्टिबल सुरुका तीन वर्ष त्यही आयोजना भए । यो वर्षदेखि भने अझै ठूलो ठाउँ र प्रयाप्त पार्किंगको स्थल खोज्ने क्रममा अर्भिङ्गको भ्यालीरेञ्च स्थित लेबी इभेन्ट प्लाजामा राखिएको आयोजकले जानकारी दिएका छन् ।
शनिबार अपरान्ह २ बजेबाट सहभागीहरु आउन सुरु गरेका थिए । राति १० बजेसम्म भएको कार्यक्रममा सहभागीहरुले मम, सेलरोटी, मासुका बिभिन्न परिकारका साथमा नेपालका ख्यातीप्राप्त कलाकारहरुका साथमा हाँसे, नाचे र गाए ।
हाँस्यकलाकारहरु शिवहरि पौडेल, दीपकराज गिरी, दीपाश्री निरौला थिए भने स्थानीय हाँस्य कलाकार नारायण त्रिपाठीले सहभागीहरुलाई पेट मिच्नेगरि हँसाएका थिए ।
पौडेलले कार्यक्रममा सहभागी ‘अस्टिनबासीहरुलाई प्रति आभार व्यक्त गर्दछु’ भन्दा दर्शकहरुले ‘मुखाँ हान्नुजस्तो’ भन्दै व्यंग्य गरेका थिए । पौडेलले ड्यालस भन्नुपर्नेमा अस्टिन भनेका थिए । ‘मुखाँ हान्नुजस्तो’ थेगो पाैडेलले हाँस्य सिरियलहरूमा प्रयोग गर्छन् ।
गायक गायीकाहरु मिना निरौला, अस्मिता अधिकारी, महेश काफ्ले, प्रेमराजा महत, शान्ति भण्डारी, एड्रियन प्रधान लगायतले राति निकै अबेरसम्म मनोरञ्जन दिएका थिए ।
मम फेस्टिबलले पछिल्लो समयमा ड्यालसमा चाडपर्वकै स्वरुप लिदै गएको सहभागीहरुको प्रतिकृया थियो । चुस्त व्यबस्थापन, दर्शकहरुले रोजे जस्तै र खोजेजस्तै कलाकारहरुको सहभागिताका कारण यसले स्थानीय रुपमा निकै महत्व समेत पाउँदै गएको छ ।
अर्को वर्षको महोत्सव सन् २०२६ सेप्टेम्बर २६ शनिबार आयोजना हुने घोषणा आयोजकहरुले त्यही गरेका थिए ।
मम फेस्टिबलको शनिबार सम्पन्न चौथो सिरिजमा साँढे नौ हजार टिकट बिक्री भएको जनाइएको छ । फेस्टिबलमा ४० वटा व्यापारिक स्टलहरु थिए । स्थानीय रेष्टुरेन्टहरुका अतिरिक्त ग्रोसरी स्टोर, शैक्षिक परामर्श, वित्तिय संस्थाहरुको समेत सहभागिता थियो ।













प्रतिक्रिया