मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
विचार / ब्लग    

मन्दिर छन् र पो अमेरिकामा यी पर्वको अर्थ छ, नत्र भने बाटुली…..

मन्दिर छन् र पो अमेरिकामा यी पर्वको अर्थ छ, नत्र भने बाटुली…..

‘उनी छन् र पो सिन्दुरको अर्थ छ, नत्र भने जिन्दगी व्यर्थ छ हो बाटुली…’ हो, ठ्याक्कै यहि गीतको लय जस्तै ‘मन्दिर छन् र पो अमेरिकामा यी पर्वको अर्थ छ, नत्र भने बाटुली….’ अवस्था तपाई हाम्रो हुनेछ । नेपालबाट आएका हामीलाई हाम्रै मन्दिर, बौद्ध बिहार छन् र पो चाडपर्व आएको अनुभूति दिलाउँछन् । नत्र भने न चाडपर्व आएको पत्तो, न गएकै पत्तो ।

टेक्ससको ड्यालसमा नेपाली हिन्दु महिलाहरुले मंगलबार धुमधामका साथ तीजको पूजा गरे । युलेस सिटीमा रहेको पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारमा त्यस दिन बिहान ८ देखि साँझ ८ बजेसम्म पाइला राख्न नसकिने र थामिनसक्नुको भीड थियो । मन्दिरका पुरोहित, पूजारीहरुलाई भ्याई नभ्याई थियो । पुरा दुई घण्टा लाग्ने तीजको पूजाको निम्ति महिला दिदीबहिनीहरुको पाँच सिफ्ट थियो । एउटै सिफ्टमा पनि एउटै हलमा नअटाएर दुईवटा हलमा फरक फरक पुरोहितले महिलाहरुलाई पूजामा सरिक गराइरहेका थिए ।

एउटा सिफ्ट र अर्को सिफ्टबीचको अन्तर आधा घण्टामात्र थियो । स्वयमसेवकहरूलाई व्यबस्थापनका लागि हम्मेहम्मे परिरहेको देखिन्थ्यो । मन्दिरका दुबै ठूला हलहरुमा आफ्नो अघिल्तिर फ्वाइलको ट्रेमा शिवलिङ्ग सहितको पूजा सामाग्री लिएर अविवाहित देखि लिएर हालसालै बिहे भएका, उमेर तीन बीस नाघिसकेका महिलाहरुको समेत पण्डितको निर्देशन अनुसार पूजामा सरिक भैरहेका थिए ।

पूजा गरिसकेका महिलाहरु मुख्य मन्दिर रहेको हलमा प्रवेश गरेर टीका, प्रसाद ग्रहण गरिसकेर बाहिर प्राङ्गणमा नाचिरहेका थिए । यही वर्षको तीजको पूर्वसन्ध्यामा निस्किएको गीत ‘उनी छन् र पो सिन्दुरको अर्थ छ, नत्र भने जिन्दगी व्यर्थ छ हो बाटुली…’ मा दुबो रोपिएको चौर थर्काइरहेका थिए । अहिलेकी चलेकी गायिका समिक्षा अधिकारीको स्वर रहेको यो गीतमा जाने पनि नजानेपनि, कम्मर हल्लिए पनि, नहल्लिए पनि नाच्नेहरु थुप्रै थिए ।

अगष्ट महिनाका अधिकांश दिनहरु ड्यालस फोर्टवर्थमा एकसय डिग्री फरेनहाइट (३७ डिग्री सेल्सियस) भन्दा माथि पुग्थ्यो । यो वर्ष भने पाँच दिनमात्र एकसय डिग्री नाध्यो । मंगलबार त यो महिनाको अधिकतमको औसत तापक्रम भन्दा पनि तल (८९ डिग्री फरेनहाइट) मा रह्यो । जसले गर्दा तीजको व्रत, प्यास केही नभनी मौसमले दिएको साथलाई महिलाहरुले अधिकतम रुपमा फाइदा उठाएर राति अबेरसम्म मन्दिर प्राङ्गणलाई गीत संगीतमय तुल्याए ।

मन्दिर भित्रको भीडले गर्दा बेलाबेलामा स्वयम्सेवकहरु भित्र भीड नगरिदिनुस्, बाहिर गएर रमाइलो गर्नुस् भन्दै आग्रह गरिरहन्थे । व्रतालु महिलाहरु भने ‘भित्रबाट बाहिर जा भन्छन, बाहिर गयो भित्र जा भन्छन् । कता जानु ?’ भन्दै हाँस्थे । थेगिनक्नुको अवस्थालाई उनीहरुले पनि बुझेका देखिन्थ्यो । त्यसैले त नरिसाइकन, झर्कोफर्को नगरि उनीहरु हाँसेरै भनिरहेका थिए ।

‘१०/१२ वर्ष पहिले यसरी तीज मनाउनु कहाँ पाइएइको थियो र ?’ बाहिर जुत्ता चप्पल राखिएको र्याकमा आफ्नो चप्पल खोज्दै एक महिला सँगै रहेकी अर्की महिलासँग भन्दैथिइन् – ‘त्यतिबेला पूजा गर्ने ठाउँ नभएर हामीले अपार्टमेन्टमा बस्ने १५/२०जना मिलेर पुरेतलाई अपार्टमेन्टमै बोलाएर एकै ठाउँमा पूजा गरेका थियौै ।’

प्लानोबाट आएको बताउने अर्की एक महिला अमेरिकामा यसरी तीजको पूजा गर्न पाइएला भनेर सोच्दा पनि नसोचिएको बताउँदै थिइन् । ‘यहाँ त आफ्नो गाउँघरको मन्दिरमा भन्दा पनि बढी मान्छेहरु देख्दा नेपालभरिका महिलाहरु यतै आएका छन् कि जस्तो लाग्ने रहेछ’ उनी भन्दै थिइन् ।

ड्यालसको नेपाली समुदायले एक दशक अघि दुःखजिलो गरेर, घरघरमा धाएर चन्दा उठाएर, घण्टाको सात डलरको पारिश्रमिकमा काम गर्नेदेखि लिएर मल्टिमिलियन डलर व्यबसायका धनीहरु सबैको साथ, सहयोगले अर्भिंगमा भवन किनेर मन्दिर सुरु गरेको हो । त्यतिखेर पूजारीलाई नियमित तलब दिनसक्ने क्षमता समेत थिएन । त्यस्तो अवस्थामा लामो समय तत्कालिन राजप्रासाद सेवामा गुरुज्यू समेत भैसक्नु भएका डा. शेखर पण्डितलाई स्वयमसेवक पूजारी नियुक्त गरेर मन्दिर सुरुवात गरेको दिन सम्झिनेहरु धेरै छन् । डा. पण्डितको नाम अाउनासाथ बासु भण्डारी, तारा भुसाल अहिले पनि उहाँले त्यतिखेर निशुल्क रूपमा सेवा गरेको कुरा सम्झिएर त्यो योगदानलाइ कुनै पनि हालतमा भुल्न नहुने धारणा राख्नुहुन्छ । नेपाली समुदायको संख्या वृद्धिसँगै अर्भिङ्गको मन्दिर साँघुरो भयो । कोठाहरु प्रयाप्त नभएको, पार्किङ्गलट सानो भएपछि चार वर्ष अघि युलेसको जग्गामा भव्य गुरुयोजना सहितको मन्दिर निर्माण सुरु भयो ।

तर त्यही बीचमा सुरु भएको कोभिडले गर्दा समयमा निर्माण पुरा हुन सकेन । कोभिडले सामानको सप्लाई चेनमा ल्याएको अवरोधले लागत बढ्यो, कामदारको ज्यालामा भएको वृद्धिले अनुमानित मूल्य भन्दा धेरै माथि पुग्यो बजेट ।

गुरुयोजना अनुसार पशुपतिनाथ र बुद्ध बिहारका अलग्गै भवन हुनेछन् । अहिले जसरी पशुपतिनाथ र शाक्यमुनि बुद्धको मूर्ति नजिकै राखिएका छन् । नयाँमा निकै फरक दुरी र भिन्दै संरचनामा यी दुई भगवानका मूर्ति रहनेछन् । यी दुईका बीचमा विश्रामगृह, अन्य हिन्दू देवीदेवताहरुका मूर्तिहरु, मेडिटेसन हल हुनेछन् । पशुपतिनाथको मन्दिर नेपालकै जस्तो आकार प्रकार र साइजको बनाउने योजना छ भने बौद्ध बिहार पनि स्तुपा शैलीमा नेपालकै जस्तो तयार हुनेछ ।

पशुपतिनाथ मन्दिर र बौद्ध बिहार निर्माण भैसकेपछि अहिले रहेको भवनबाट मूर्तिहरु सर्नेछन् । त्यसपछि अहिलेको मन्दिरको भवन पुरै सामुदायिक गतिविधि (बिहे, व्रतवन्ध, सामुदायिक गतिविधि, स्कूल, बिजनेस स्विट) मा परिणत हुनेछ ।

अहिले भएको मन्दिर तत्कालिक काम चलाउ मन्दिर मात्र हो । वास्तविक मन्दिरको स्वरुप धेरै भव्य र अमेरिकामा रहेका हरेक नेपालीले गर्व गर्ने किसिमले कुनै कञ्जुस्याई नराखि बनाउने योजना रहेको प्रोजेक्ट समितिका संयोजक निरज श्रेष्ठ सुनाउनुहुन्छ ।

मन्दिर भएकै कारण नेपाली समुदायले हरेक चाडपर्वहरु नेपालबाट यति टाढा आएर पनि भव्य रुपमा मनाउने अवसर पाएका छन् । लोग्ने मानिसले महत्वका साथ लिने जनैपूर्णिमा होस् या नारीको मुख्य पर्व हरितालिका तीज, हिन्दुहरुको ठूलो पर्व दशैं होस् या नेपाली हिन्दूले विशेष रुपमा मनाउने शिवरात्री, नागपञ्चमी होस् या कृष्णजन्माष्टमी यस्ता पर्वहरु मन्दिर भएकै कारण तनाव बिना समुदायले मनाउन पाएको छ ।

केही दिन अघि एकजना मित्रले भन्नुभयो-जनै फेर्न र रक्षावन्धन बाँध्न किन मन्दिरै चाहियो र ? जनैपूर्णिमामा नेपालका मठमन्दिरहरुले कहाँ त्यो गरेका हुन्छन् र ? त्यहाँ त स्फूर्त रुपमा ब्राह्मणहरुले त्यो सेवा प्रदान गरेका हुन्छन् ।

उहाँ भन्दै हुनुहुन्थ्यो दशैंको जमरा राख्न पनि मन्दिरै किन चाहियो र ? मानिसले आफ्नो घरमा राखेकै हुन्छन् । सर्सती हिसाब र नेपालको आँखाले हेर्दा मित्रको उक्त टिप्पणी नाजायज होइन । तर नेपाल छाडेर आएकाहरुलाई नजिक तुल्याउने भाषा, संस्कार र संस्कृतिले हो । जनैपूर्णिमामा तागाधारीले जनै फेर्नेपर्छ भनिन्छ । सबै ब्राह्मणहरु नेपालका जसरी जजमानका घरमा गएर यहाँ संभव छैन ।

फेरि प्रवासमा मठ मन्दिरको आवश्यकता ठानिएकै एउटा कारण पर्वलाई मान्नका निम्ति हो । जहाँ मन्दिर छन्, त्यहाँका नेपाली समुदायले नेपाली हिन्दु पर्व उल्लासमय वातावरणमा मनाएका दृश्य हामीले सामाजीक सञ्जाल, अनलाइन समाचारहरुमा देखेकै छौँ । हिन्दु भएपनि नेपाली र भारतीयका कतिपय चाडपर्वहरु मिल्दैनन् । भारतीय हिन्दु संस्कारमा तीज छैन । नत भारतीयहरुले नेपालीले जसरी दशैंमा जमरा र टीकाको प्रयोग गर्छन् । सोही कारण अमेरिकामा नेपाली मन्दिर नभएका स्थानका नेपालीहरु पर्व मनाउने क्रममा भारतीय मन्दिर पुग्दा चाडपर्व मनाउने शैली नमिलेको र त्यसले गर्दा अपनत्व पनि नभएको महसुस गर्न सक्दैनन् । धर्म एउटै हिन्दु भएपनि संस्कार, रित नमिल्दा त्यसले आत्मियता प्रदान गर्न सक्दैन ।

हिन्दु पर्व मनाउने नेपालको छुट्टै परम्परा र तरिका छन् । जुन हिन्दु भएर पनि भारतीयहरुसँग मेल खाँदैन । भारतीय हिन्दुमै पनि उत्तर प्रदेशको हिन्दु र केरलाको हिन्दुबीच पर्व मनाउने तरिकामा फरकपन पाइन्छ । आसामको हिन्दु र महाराष्ट्रको हिन्दुबीच पर्व मनाउने रितीमा फरक देखिन्छ ।

पर्व मनाउनकै लागि कोही नेपाली अमेरिका आएको त होइन । तर जहाँ भएपनि हामीले हाम्रो जरा, संस्कार, संस्कृति छाड्न सक्दैनौ । नेपालीले मात्र होइन, यो संसारका हरेक समुदाय, भाषाभाषीबीचको समान प्रवृत्ति हो ।

पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार

ड्यालसमा पशुपतिनाथ मन्दिर र बौद्ध बिहार छ । टेक्ससकै अस्टिन र ह्युस्टनमा अलग्गै पशुपतिनाथ मन्दिरहरु छन् । क्यालिफोर्नियाको सानफ्रान्सिस्को र लसएञ्जलसमा पनि नेपाली समुदायका मन्दिरहरु छन् । मनासस भर्जिनिया, बोस्टन, बाल्टिमोर, डेनभर, न्यूयोर्कमा पनि नेपाली समुदायले मन्दिर स्थापना गरेका छन् । यी मन्दिरहरुको मुख्य उद्वेश्य भनेको नेपाली पर्व, संस्कृतिलाई जगेर्ना गर्ने र सामुहिक रुपमा मनाउने हो ।

माथिनै उल्लेख भैसक्याे युलेसको मन्दिर अझै पूर्ण हुन सकेको छैन । गुरुयोजना अनुसार बन्नका लागि अझै निकै ठूलो स्रोत, धनराशीको जरुरत देखिएको छ । एककरोड १० लाख अमेरिकी डलर अझै लाग्ने अनुमान छ । यो रकम एकजना व्यक्ति, एउटा कुनै संस्थाले मात्र जुटाउन सक्दैन । फेरि मन्दिरको लागि नत कुनै अमेरिकी संस्था या सरकारबाट सहयोग प्राप्त हुन्छ । नत नेपाल सरकारलेनै अमेरिकामा मन्दिर बनाउन बजेट विनियोजन गर्न मिल्छ । यो मन्दिर बन्ने भनेको मन्दिरलाई मायाँ गर्ने, नेपाली हिन्दु धर्म संस्कार प्रति चासो राख्ने, आफ्ना बालबच्चाहरुले नेपाली संस्कार प्राप्त गरुन् भन्ने चाहना राख्नेहरुबाट मिल्ने सहयोगनै हो ।

हाम्रो समुदायका धेरै मानिसहरुले भनेको सुनिन्छ ‘मलाई त नेपालनै ठीक थियो । तर बच्चाहरुको भविष्यका लागि अमेरिका आएको हो ।’

यसो भन्नेहरु मध्य कतिजनाले छोराछोरीको पढाई प्रति चासो राख्छन् ? कतिले आफ्नो छोराछोरीले नेपाली भाषा, संस्कार, संस्कृति नभुलुन् भनेर मन्दिर, नेपाली समाज टेक्ससले सञ्चालन गर्ने कक्षाहरुमा भर्ना गर्छन ? एकदम थोरै देखिन्छ यस्तो संख्या ।

फेरि तीजकै पूजाको प्रसङ्ग । बिहानदेखि दिउँसोसम्मकै पूजाको सिफ्टमा पालो नपाएपछि झण्डै तीन दर्जन महिलाहरु मंगलबार साँझ ६ बजे पूजा गर्दैथिए । बिहानदेखि भोको पेट लिएर, पानी समेत नपिएर निराहार बसेका थिए । कतिपयले बिहान र दिउँसै पूजा गर्न खोजेका थिए । तर एकै पटक सबैलाई पूजा गर्न ठूलो हलको अभावले सिफ्ट छुट्याइएको थियो ।

यदी पाँचसय जना अटाउने क्षमताको एउटै हल मन्दिरसँग हुँदो हो त दुई सिफटमा गरेर १२ बजेसम्म पूजा गर्नेहरुले अवसर पाउनेथिए । साँझ ८ बजेसम्म कुर्नैपर्ने थिएन ।

ठूलो हल हुँदो हो त जनै पूर्णिमाको दिन पनि प्रचण्ड घाम र गर्मी कोहीकसैले सहनु पर्ने थिएन । किनकी एकै पटक धेरै जनाले जनैफेर्ने, डोरो बाँध्न पाउनेथिए । ठूलो मन्दिर हुने हो भने एकै पटकमा धेरैलाई मन्दिरले सेवा दिनसक्ने थियो ।

मन्दिर कत्रो बनाउने ? कस्तो बनाउने ? कहिले बनाउने ? अब यो सबै मन्दिर र बिहारलाई आफ्नो सम्झिनेहरु, आवश्यक देख्नेहरु र संस्कार संस्कृतिलाई जोगाउनुपर्छ भन्ने सोच राख्नेहरुमै निर्भर छ । आफ्नो क्षमताले जस्तो सहयोग, जति रकमको सहयोग गरेर हुन्छ मन्दिर बनाउने अभियानमा, बौद्ध बिहार बनाउने अभियानमा छिटो जोडिउँ । ताकी आगामी धार्मिक पर्व, सांस्कृतिक कार्य, रितिथितीका कर्महरु सहजताका साथ हुन सकोस् ।

अमेरिकामा अग्रजहरुले मन्दिर स्थापना गरिदिएका छन् र पो हिन्दु चाडपर्व आएको अनुभूति दिन्छन् । बौद्ध बिहार, स्तुपा खडा भएका छन् र पो बुद्ध पूर्णिमा आएको महसुस हुन्छन् । नत्र भने पर्व आयो कि बाँकी छ कुनै पत्तो हुने थिएन ।

बिट मार्नु अघि समिक्षा र खेम सेन्चुरीले गाएको उनी छन् र पो यो सिन्दुरको अर्थ छ गीतलाई मैले चाँही यसरी लिन थालेको छु-
मन्दिर छन् र पो अमेरिकामा यो पर्वको अर्थ छ
नत्र भने बाटुली…..।

 

मन्दिर कत्रो बनाउने ? कस्तो बनाउने ? कहिले बनाउने ? अब यो सबै मन्दिर र बिहारलाई आफ्नो सम्झिने

शेयर गर्नुहोस:

18.4k
Shares