ड्यालस (अमेरिका) । ड्यालसको नेपाली मन्दिरले अमेरिकामा नेपाली पर्व, चाडबाडको सम्वन्धमा देखिएको तिथि, मितिको समस्या हल गर्न व्यापक रुपमा सर्वेक्षण कार्य थालेको छ ।
पछिल्ला केही वर्षदेखि अमेरिका र नेपालमा हुने तिथिको फरकपनले गर्दा केही पर्वहरु नेपालमा भन्दा पहिले मनाउँदा जनमानसमा अन्यौलता बढेको व्यापक गुनासो छ । त्यसलाइ संवोधन गर्न र पर्वको द्विविधा हटाउन युलेसको पशुपतिनाथ मन्दिर तथा बुद्ध बिहारले सर्वेक्षण थालेको हो ।सर्वेक्षण मन्दिरका सदस्यहरु सबैलाई मंगलवार इमेलमा पठाइएको छ र शुक्रबारसम्म भरेर आफ्नो राय/सुझाव दिन आव्हान गरिएको छ ।
यसै हप्तामात्र जनैपूर्णिमा पर्व अमेरिकाको तिथिको हिसाबले नेपालभन्दा अगाडी परेको थियो । तर अमेरिकाको तिथिको दिनभन्दा पनि पछिल्लो दिन भक्तजनहरु मन्दिरमा आएर दर्शन गर्ने, जनै फेरेका थिए । हरेक वर्ष जनैपूर्णिमा, तीज, दशैँको टीका, भाईटीका जस्ता मुख्य पर्वहरुमा तिथिको विवाद हुँदै आएको छ ।
अमेरिकाको स्थानीय देशान्तर अनुसार निकालिएको तिथिलाइ बहुसंख्यकबाट सुरुदेखिनै अवलम्वन नगरेर अस्वीकृत जस्तै भैरहेको छ । बहुसंख्यकले नेपाली तिथिलाई आधार लिएर नेपालमा मनाइसकेपछि मात्र यहाँ चाड-पर्व मान्दै आएका छन् ।
‘साह्रै भद्रगोल थियो, अब यो सुझावले चाडपर्व एकै दिन हुने विश्वास लिएको छु’ युलेसका स्थानीय मदन अर्यालले भने । सुरुवातताका अमेरिकाको पात्रो अनुसार चाड मनाएपनि सबै आफन्त र परिवारले नमानेपछि नेपालकै पात्रोलाइ अवलम्वन गर्न थालिएको उनले बताए ।
मन्दिरले ड्यालसबासी मात्र नभएर अमेरिकाभरि रहेका नेपाली, सनातन हिन्दु धर्मावलम्वीहरुलाई सर्वेक्षणमा सहभागी भएर मत जाहेर गर्न अनुरोध गरेको छ ।
नेपाली मंदिरले दिएको जानकारी अनुसार “ यो सर्वेक्षणपछि आउँदो शनिबार (अगष्ट १६ तारिक) अपराह्न १:३०बजे वृहद टाउनहल बैठक आयोजना गर्ने र सर्वेक्षणमा बहुमतको राय अनुसार एकै दिन पर्व मनाउने निर्णय लिने बताइएको छ । यस वर्षदेखि एउटै चाड दुई दिन मनाउने प्रथा अन्त्य गर्न प्रयासमा छौँ, त्यसको लागि पठाइएको सर्वेक्षणमा राय दिनुहुन अनुरोध गर्रिन्छ “ ।
हरेकको राय, सुझावको महत्व हुने भएकोले सबैले लिंकमा भएको सर्वेक्षण भर्न र चाडपर्वको द्विविधा समाधान गर्न हिमालयखबर पनि समस्त पाठकवृन्दमा विशेष आग्रह गर्दछ । 















प्रतिक्रिया