ड्यालस (टेक्सस) । अमेरिकाका बहुसंख्यक नेपाली हिन्दु मठ मन्दिरहरुले भोली शनिबार जनैपूर्णिमा तथा रक्षावन्धन गर्ने भएका छन् ।
अस्टिनको पशुपतिनाथ मन्दिर, ह्युस्टन, भर्जिनिया, न्यूयोर्क र क्यालिफोर्निया (सानफ्रान्सिस्को र लसएञ्जलस) का नेपाली मन्दिरहरुले शनिबार जनैपूर्णिमा भव्य रुपमा मनाउँदैछन् ।

ड्यालसको पशुपतिनाथ तथा बुद्ध मन्दिरले भने शुक्रबार र शनिबार दुबै दिन जनैपूर्णिमा मनाउनेगरि कार्यक्रम तय गरेको छ ।
‘हामीकहाँ आज शुक्रबार पनि केही भक्तजनहरु रक्षावन्धनका लागि आउनुभयो । पहिलेको परम्परा हेर्दा पछिल्लो दिन ठूलो भीड हुने गरेको छ’ टेक्ससको पशुपतिनाथ तथा बुद्ध मन्दिरका मुलपूजारी डा. शेखर पण्डितले भने ।
दुई दिन पर्व राखेकोमा समुदायका व्यक्तिहरु भने कन्फ्युजमा परेका थिए । दुई दिन राख्ने चलनलाई लिएर व्यक्तिगत रुपमा मन्दिरका पदाधिकारीहरुसँग गुनासोदेखि लिएर सामाजीक सञ्जालमा आक्रोश, व्यङ्ग्य समेत छ ।
‘अमेरिकामा शुक्रबार पूर्णिमा तिथि परेकोले तिथि अनुसार मनाउनेका लागि शुक्रबार र नेपालको चलन अनुसार मनाउनेलाई शनिबार गरि भक्तजनको चाहना अनुसार रक्षावन्धन कार्यक्रम राखिएको हो’ नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटा बस्नेतले भनिन् ।
युलेसको मन्दिरले रक्षावन्धनमा सहभागीहरूलाइ सदाझैँ निशुल्क रूपमा क्वाँटीको व्यबस्था गर्दैछ । व्यवस्थापन संयोजक अच्युत थापाका अनुसार क्वाँटीका लागि एकसय ५० पाउण्ड गेडागुडी भिजाइएको छ ।
ह्युस्टनस्थित पशुपतिनाथ मन्दिरका पूजारी दिलीप शास्त्रीले शनिबार बिहान ८ बजेको मुलसाइतमा रक्षावन्धन ग्रहण गर्ने कार्यक्रम रहेको जानकारी दिए । उता लसएन्जलको पशुपतिनाथ मन्दिरले पनि शनिबार बिहान ८ बजेको साइतमा रक्षावन्धन कार्यक्रम राखेको छ ।
टेक्ससकै राजधानी शहर अस्टिनमा अवस्थित पशुपतिनाथ मन्दिरले पनि शनिबार भव्य रूपमा रक्षावन्धन कार्यक्रम राखेको छ । ग्रेटर अस्टिन सोसाइटीका पूर्व अध्यक्ष भोजराज भट्टले नेपालकै चलन र तरिका अनुसार रक्षावन्धन हुने र त्यसका लागि स्वयमसेवक, पुरोहितहरूको व्यवस्था भैसकेको छ ।
भर्जिनिया र मेरिल्याण्डमा रहेका नेपाली मन्दिरहरुले पनि शनिबारै रक्षावन्धन राखेका छन् । भर्जिनियाको मनाससस्थित नेपाली सामुदायिक मन्दिरले शनिबार बिहान ७ देखि साँझ ७ बजेसम्म रक्षावन्धन कार्यक्रम राखेको छ ।
तिथिको हिसाबले शुक्रबार परेपनि नेपालसँग भावना र परम्परा जोडिएकोले नेपाली समुदायका ९९ प्रतिशतले नेपालमा लगाएपछिमात्र अमेरिकामा लगाउने गरेका छन् । अमेरिकाको तिथि अनुसार गर्न नेपाली मन्दिरहरुले प्रयास गरेपनि बहुसंख्यकले स्विकार गरेका छैनन् ।
युलेसको पशुपतिनाथ मन्दिरमा शनिबार बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मै रक्षावन्धन कार्यक्रम हुने बताइएको छ । भक्तजनहरूले अाफ्नो अनुकुलतामा मन्दिरमा पसेर रक्षावन्धन गर्नसक्ने सुविधा मिलाइएको छ ।













प्रतिक्रिया