अमेरिका, बोस्टन। अमेरिकाको म्यासाच्युसेट्स राज्यको एभरेड सिटी स्थित ग्लेन्डल पार्कमा गत जुलाई २०,२०२५ आइतवार ‘नेपाल डे-२०२५’ आयोजना गरिएको थियो। उक्त कार्यक्रम ग्रेटर बोस्टन नेपाली समुदाय (जिबिएनसि) र एभरेट सिटीको संयुक्त आयोजनामा सम्पन्न भएको थियो। न्यू इङ्गल्याण्ड क्षेत्रमा बसोबास गर्ने प्रवासी नेपालीहरुले नेपाली हुनुमा गर्व गर्दै र नेपाल र नेपालीप्रति सम्मान प्रकट गर्दै ‘नेपाल डे-२०२५’ हर्षोल्लासका साथ भव्य रुपमा मनाएका थिए।
आयोजकले जनाए अनुसार उक्त कार्यक्रमका लागि प्रमुख अतिथिका रुपमा अमेरिकाका लागि नेपालका राजदूत लोक दर्शन रेग्मीलाई निमन्त्रणा गरिएको थियो। तर, ‘नेपाल डे’ आयोजना गरिएको दिन बोस्टनमै रहेर पनि ‘नेपाल डे’ मा भने राजदूत रेग्मीको उपस्थिति रहेन। उनि जुलाई १९ र २०, २०२५(शनिवार र आइतवार) बोस्टनमा आयोजित ब्लड डोनर्स अफ अमेरिका(बिडिए)को पाँचौं राष्ट्रिय अधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागी हुन बोस्टन आएका थिए। त्यसका लागि उनि एक दिन अगाडि जुलाई १८, २०२५, सुक्रबार मै बोस्टन उत्रिएका थिए। गजल उत्सव-६ सहितको बिडिएको अधिवेशन उद्घाटनको दिन जुलाई १९, २०२५ शनिबार र समापनको दिन जुलाई २०,२०२५ आइतबार उनको सहभागिता रहेको थियो। श्रोतले जनाए अनुसार उनि जुलाई २२, २०२५ मङ्गलवार वासिङ्टन डिसि फर्किएका थिए।
नेपाली हुनुमा गर्व गर्दै नेपाल र नेपालीप्रति श्रद्धा प्रकट गर्न र नेपाल र नेपालीलाई चिनाउनका लागि नेपालीपन, नेपाली पहिचान, नेपालीत्व र सामुदायिक एकतामा केन्द्रीकृत भएर आयोजना गरिएको एक महत्वपूर्ण उत्सव ‘नेपाल डे’ मा बोस्टनमै रहेर पनि राजदूत रेग्मीको उपस्थिति नहुदा प्रवासी नेपाली समुदाय आश्चर्यचकित भएका छन्। ‘नेपाल डे’ सकिए पनि यस विषयले भने समुदाय भित्र आशङ्का, चासो र चिन्ता व्यक्त गर्दै बहस चलिरहेको छ।
यस सम्बन्धमा आयोजकको भूमिकाका बारेमा आशङ्का सहित प्रश्नचिह्न खडा भएपछि जिबिएनसिले प्रस्ट्याउने प्रयास गरेको छ। जिबिएनसिका अध्यक्ष सन्दिप भट्टराईले राजदूत रेग्मीलाई ‘नेपाल डे’ मा प्रमुख अतिथिकै रुपमा सहभागिता जनाउन औपचारिक रुपमै लिखित निमन्त्रणा पठाइएको बताए। उनले अमेरिकाको म्यासाचुसेट्स राज्यका लागि नेपालका अवैतनिक वाणिज्यदूत प्रल्हाद केसीसंग समन्वय गरिएको र उनकै सल्लाह बमोजिम राजदूत रेग्मीलाई जुलाई ११,२०२५ मै औपचारिक निमन्त्रणा पठाइएको जानकारी दिए। जिबिएनसिका पूर्व अध्यक्ष तथा अमेरिकाको बोस्टनका लागि नेपालका पर्यटन प्रवर्धक मिलन गुरुङ मार्फत पनि कुरा गरिएको र पुन: निमन्त्रणा दिइएको अध्यक्ष भट्टराईले बताए।
उनले राजदूत बोस्टनमै रहदाको बखत भएको नेपालीहरुले गर्व गर्ने विशेष उत्सव ‘नेपाल डे’ कार्यक्रममा राजदूतको उपस्थिति नरहनु दु:खद र दुर्भाग्यपूर्ण रहेको बताए। यस सम्बन्धमा जिबिएनसिका पूर्व अध्यक्ष तथा पर्यटन प्रवर्धक मिलन गुरुङले पनि राजदूत रेग्मीलाई आयोजकले प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरेको कुरा सत्य भएको जानकारी दिए। उनले आफ्नो तर्फबाट पनि ‘नेपाल डे’ मा राजदूतको उपस्थिति गराउन सक्दो प्रयास गरेको बताए। अवैतनिक वाणिज्यदूत प्रल्हाद केसीले ‘नेपाल डे’ मा राजदूतलाई सहभागी गराउन आफूले सक्दो कोसिस गरेको र आफू पनि सहभागी हुन चाहदा चाहदै परिबन्दमा परेका कारण सहभागी हुन नसकिएको बताए। यस सम्बन्धमा समयमै आपसमा प्रभावकारी सञ्चार हुन नसकेका कारण ‘नेपाल डे’ मा उपस्थित हुन नसकिएको भन्दै उनले दु:ख व्यक्त गरे।
यस सम्बन्धन समुदाय भित्र उब्जिएका आशङ्का, जिज्ञासा, चिन्ता, चासो र प्रश्नहरुलाई सम्बोधन गर्न, भएका घटना क्रमलाई उल्लेख गर्दै जिबिएनसिले सार्वजनिक रुपमा स्पष्टिकरण सहितको वक्तव्य जारी गरेको छ। जुन यस प्रकार रहेको छ :
ग्रेटर बोस्टन नेपाली कम्युनिटी (GBNC) परिवारको तर्फबाट वक्तव्य
विषय: नेपाल डे २०२५ मा महामहिम राजदूतको अनुपस्थितिका सम्बन्धमा स्पष्टिकरण
ग्रेटर बोस्टन नेपाली कम्युनिटी (GBNC) परिवार नेपाल डे २०२५ को अवसरमा महामहिम अमेरिका स्थित नेपालका राजदूतको अनुपस्थिति सम्बन्धमा चासो र जिज्ञासा राख्नु भएका सम्पूर्ण समुदाय सदस्यहरूप्रति आभार प्रकट गर्दछौं। GBNC परिवारको तर्फबाट हामी घटनाक्रमको स्पष्टीकरण प्रस्तुत गर्दै, सबै विशिष्ट पाहुनाहरूप्रति हाम्रो आदर, सम्मान, र हार्दिकता पुनः व्यक्त गर्न चाहन्छौं।
निमन्त्रणा तथा समन्वयको समयरेखा
औपचारिक निमन्त्रणा:
म्यासाचुसेट्स राज्यका लागि नेपालका मानार्थ महावाणिज्यदूत श्री प्रलाद केसीको सुझावअनुसार, GBNC परिवारले महामहिम नेपालका राजदूतज्यूलाई नेपाल डे २०२५ मा प्रमुख अतिथिको रूपमा सहभागी हुनका लागि ११ जुलाई २०२५, साँझ ४:५१ बजे औपचारिक निमन्त्रणा पठाएको थियो।
सञ्चार प्रयासहरू:
हामीले समयमै निमन्त्रणा पठाएको भए पनि, कार्यक्रमअघि राजदूतज्यू वा दूतावासबाट कुनै औपचारिक प्रतिक्रिया प्राप्त भएन। कार्यक्रम नजिकिँदै गर्दा हामीले सहभागिता सुनिश्चित गर्न थप सम्पर्क प्रयासहरू गरेका थियौं।
थप सम्पर्क:
कार्यक्रमको अघिल्लो साँझ, हाम्रा आदरणीय पूर्व अध्यक्ष श्री मिलन गुरुङले पुनः निमन्त्रणा पठाउन र महामहिमलाई “मुख्य अतिथि” को रूपमा उल्लेख गर्न सल्लाह दिनुभयो। उहाँको सल्लाहअनुसार हामीले तत्कालै पुरानो र परिमार्जित दुवै निमन्त्रणा पुनः दूतावासमा पठायौं, जसमा श्री गुरुङलाई प्रतिलिपि गरिएको थियो।
कार्यक्रमको दिन:
हामीले गरेका सम्पूर्ण प्रयासहरूका बावजुद महामहिम राजदूत नेपाल डे २०२५ मा उपस्थित हुन सक्नु भएन। हामी बुझ्दछौं कि अप्रत्याशित तालिकाजन्य व्यस्तता वा सञ्चार सम्बन्धी समस्या यसमा कारण हुन सक्दछ।
कार्यक्रमपछिको समन्वय:
कार्यक्रमपश्चात, GBNC परिवारले वाशिङ्टन, डी.सी. स्थित नेपाल दूतावासलाई औपचारिक रूपमा प्रतिक्रिया नआएको विषयमा सन्देश पठायो। जवाफस्वरूप दूतावासले अघिका निमन्त्रणा सन्देशहरू प्राप्त नभएको जानकारी गरायो।
भविष्यप्रतिको हाम्रो प्रतिबद्धता
GBNC परिवार ग्रेटर बोस्टन क्षेत्रका नेपाली समुदायलाई एकतामा बाँध्दै सशक्त बनाउने र अमेरिकाभरिका नेपाली संघसंस्थाहरूका लागि सहयोग, समावेशिता र पारदर्शिताको उदाहरण बन्ने उद्देश्यका साथ अघि बढिरहेको छ।
हामी सबै सरोकारवाला निकायहरूसँग, विशेषतः नेपाल सरकार र दूतावाससँग, पारदर्शी र सम्मानजनक सम्बन्ध कायम राख्दै भविष्यका कार्यक्रमहरू अझ समावेशी र सशक्त बनाउने प्रयास जारी राख्नेछौं।
GBNC परिवार
ग्रेटर बोस्टन नेपाली कम्युनिटी












प्रतिक्रिया