अमेरिका, बोस्टन। नेपाल सरकारका पूर्व उपप्रधान मन्त्री नारायण काजी श्रेष्ठले नेपाललाई समृद्ध बनाउन मूलभूत रुपमा राजनितिमा शुद्धीकरण, राज्यको अङ्गहरुको पुनरसंरचना र रुपान्तरण अपरिहार्य रहेको बताएका छन्। गत जुलाई १४,२०२५ सोमबार अमेरिकाको बोस्टनमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति, म्यासाच्युसेट्स च्याप्टरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन्।
लामो सङ्घर्ष पछि देशमा लोकतन्त्र स्थापना भएतापनि राजनिति अस्थिरता, अत्यधिक राजनितिकण, कम्जोर राजनितिक संस्कार, भ्रष्टाचार, कर्मचारीतन्त्र, कुशासन तथा शासकीय स्वरुप र निर्वाचन प्रणामीमा भएका कम्जोरीहरुका कारण राजनितिक परिवर्तनले जनताको जीवन स्तरमा अपेक्षाकृत परिवर्तन ल्याउन नसकिरहेको उनको ठम्याइ थियो। पूर्व गृह तथा परराष्ट्र मन्त्री समेत रहेका श्रेष्ठले भने, ‘ यो राजनितिक परिवर्तनले हामीलाई धेरै राजनितिक अधिकार त दियो। त्यो हामीले भोग गर्न पायौं। तर, यो परिवर्तनलाई माध्यम र साधन बनाएर हाम्रो जीवन फेरिनु पर्ने। हाम्रो सामाजिक आर्थिक रुपान्तरण हुनु पर्ने। हामीले नयाँ जीवन पाउनु पर्ने। त्यो अपेक्षा चाही हामीले पुरा गर्न सकेका छैनौं।” उनले थपे, ”आजको राज्यको मुख्य कार्यभार भनेको सामाजिक आर्थिक रुपान्तरण र विकास समृद्धिलाई तिब्र बनाउनु, फड्को उन्मुख बनाउनु र त्यसको प्रतिफल आम जनतालाई भोग गर्न दिनु नै हो ।”
संसारकै प्रजातान्त्रिक भनिएका देशहरुमा भन्दा राम्रो लोकतन्त्रिक व्यवस्था नेपालमा रहेको जिकिर गर्दै राष्ट्रिय सभाका सांसद समेत रहेका श्रेष्ठले जनताको जीवन स्तरमा आमूल परिवर्तन ल्याउन राजनिति , राज्यका अङ्गहरु: अख्तियार, न्यायालय, कर्मचारीतन्त्रमा शुद्धीकरण गर्नै पर्ने अडान व्यक्त गरे। राजनितिमा राज्यका निकायहरुको संरचनामा त्रुटि भएका कारण त्यसले जनताको पक्षमा ठिक ढङ्गले कार्यसम्पादन गर्न नसकिरहेको जनाउदै त्यसमा पुनरसंरचना गरिनु पर्नेमा उनको जोड थियो। नेपालमा हाल अपनाइएका विकासका ढाँचाहरु पनि नेपालको समृद्धिको बाधक भएको उनले औल्याए। नयाँ संविधान कार्यान्वयनको दौरानमा देखिएका कमी कम्जोरीहरुलाई सम्बोधन गर्न संविधानलाई संशोधन गरेर अगाडि बढ्नै पर्ने उनको जोड थियो।
पूर्व उपप्रधान मन्त्री श्रेष्ठले नेपालको निर्वाचन प्रणाली नेपालको राजनितिक अस्थिरताको अर्को एक प्रमुख कारक रहेको तर्क गरे। नेपालको राजनितिमा वैचारिक सांस्कृतिक रुपान्तरण र राजनिति सफा नगरी देश नबन्ने ठोकुवा गर्दै उनले राजनितिमा ठूलो वैचारिक सांस्कृतिक रुपान्तरण अभियानको खाँचो रहेको र त्यसका लागि राजनितिक पार्टीहरुबाटै सुद्धीकरण र रुपान्तरण सुरु गरिनु पर्नेमा जोड दिए। उनले भने, ‘राजनिति सफा गरौं, देश बनाऔं।”
राजनितिक अस्थिरताको अन्त्यका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनु पर्ने, राज्यको कार्यकारी प्रमुख राष्ट्रपति वा प्रधानमन्त्रीलाई बनाउनु पर्ने र त्यसको चयन प्रत्यक्ष निर्चान प्रणालीबाट गरिनु पर्ने, सांसादहरुलाई मन्त्री नबनाइ उनिहरुलाई निति तथा कानुन निर्माणको जिम्मेवारी दिइनु पर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राष्ट्रपति वा प्रधानमन्त्रीको नेतृत्वमा सांसद बाहिरबाट विज्ञहरुलाई समेटेर मन्त्रिमण्डल गठन गर्ने गरी राज्यको पुनरसंरचना गरिनु पर्नेमा श्रेष्ठको जोड थियो।
एनआरएनए, म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा एनआरएनए, एनसिसिका उपाध्यक्ष प्रेम तामाङ र नेपाल सरकारको तर्फबाट बोस्टनका लागि पर्यटन प्रवर्धक मिलन गुरुङले कार्यक्रममा मन्तव्य दिने क्रममा संविधान अनुसार गैरआवासीय नेपाली नागरिकता प्राप्तिमा सहजता र अधिकारहरुको सुनिश्चितता सहितको प्रभावकारी कार्यान्वयनका लागि राजनितिक दलहरु र सम्बन्धित निकायहरुमा आवश्यक वकालत र पहलकदमी गरिदिन श्रेष्ठलाई अनुरोध गरेका थिए।
तस्बिर सौजन्य : सुरेन्द्र नापित।
गैरआवासीय नेपाली नागरिकताका सम्बन्धमा श्रेष्ठले वर्तमान संविधानमा व्यवस्था भए अनुसार गैरआवासीय नेपाली नागरिकता ‘नागरिकता’ नै भएको प्रस्ट्याउदै राजनितिक अधिकार बाहेक अन्य अधिकार नेपाली नागरिकता प्राप्त गर्ने सरह नै सुनिश्चित गरिनु पर्नेमा आफ्नो मत रहेको बताए। संविधान अनुसार गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्ने क्रममा आवश्यक कानून र नियम बनाइ सकिएको, गैरआवासीय नेपाली नागिरकता वितरण कार्य पनि सुरु भैसकेको तर कार्यविधि नबनिसकेकाले कार्यान्वयनमा कठिनाइ भइरहको उनले प्रस्ट्याए।
गैरआवासीय नेपाली नागरिकता लिएकाहरुले हालको व्यवस्था अनुसार नेपाल भित्रदा भिसा लगाउनु पर्ने तर त्यो नि:शुल्क हुने अवस्था रहेको तर भिसा लगाउनु पर्ने व्यवस्था नै हटाएर नेपाली नागरिकले सरह गैरआवासीय नेपाली नागरिकले पनि भिसा नलगाएरै नेपाल भित्रन पाउनु पर्नेमा आफ्नो निश्चित दृष्टिकोण रहेको प्रस्ट पारे। नेपाली नागरिकताको निरन्तरता र वंशजको आधारमा नेपाली नागरिकता पाउनु पर्ने मागका सम्बन्धमा भने उनले आगामी दिनहरुमा आवश्यक छल गरी सहमति जुटाइ संविधान संशोधन गरेर सम्बोधन गर्न सकिने उपाय सुझाए।
सम्बोधनको चरण समाप्त भएपछि श्रेष्ठले सहभागीहरुसंग अन्तरक्रिया गरेका थिए। गैरआवासीय नेपाली नागरिकता, नेपालको राजनितिक, आर्थिक, सामाजिक अवस्था, पार्टीको निति, भूमिका, कार्यदिशा, लक्ष लगायत अन्य समसामयिक विषयहरुमा सहभागीहरुले जिज्ञासा तथा प्रश्नहरु राखेका थिए। नेकपा(माओवादी) केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका उनले पार्टीले वैज्ञानिक समाजवादको लक्ष्य नछोडेको तर यथा स्थितिमा समाजवाद सम्भव नरहेकाले वर्तमान व्यवस्था र अवस्थाको उपयोग गरेर समाजवादका आधारहरु खडा गर्दै वैज्ञानिक समाजवादको लक्षमा पुग्ने रणनिति अख्तियार गरेको प्रस्ट पारे। यस विषयमा प्रस्ट्याउदै भने, ‘नेपालमा अहिले नै समाजवाद स्थापना गर्ने स्थिति छैन। हामी समाजवादी दिशामा जाने हो। आजको मुख्य काम चाही सामाजिक आर्थिक रुपान्तरण गरेर विकास र समृध्दिको प्रक्रिया तिब्र बनाएर समाजवादलाई आधार तयार पार्नु हो। त्यो काममा नै हामी केन्द्री हुनु पर्छ। हाम्रो वैज्ञानिक समाजवादको लक्ष त हाम्ले छोड्ने कुरा भएन।’
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अहिले अख्तियार गरिएको वैज्ञानिक समाजवाद राजनितिमा एकदलीय प्रणाली र आर्थिक प्रणामीमा सबैको राष्ट्रियकरण भन्ने पुरानो ढर्राबाट माथि उठेर २१औं सताब्दीको नयाँ मोडेल स्थापना गरेर अगाडि जानु पर्ने बताए।
कार्यक्रममा उनले इतिहासमा कहिल्यै कसैको प्रत्यक्ष उपनिवेश नभएको, प्राकृतिक सुन्दरता र सम्पदाले भरिपूर्ण भएको, पशुपतिनाथ भएको, विश्वकै उच्च शिखर सगरमाथा भएको, बुद्ध जन्मिएको र बीर गोर्खालीको देश नेपालको सन्तान हुन पाएकोमा सबै नेपालीले गर्व गर्नु पर्ने विचार व्यक्त गरे।
तस्बिर सौजन्य : सुरेन्द्र नापित।
पूर्व उपप्रधान मन्त्री श्रेष्ठले १३ वर्ष पछिको आफ्नो अमेरिका भ्रमण दोश्रो र निजी भएको बताएका छन्। यद्यपि, उनको निजी भ्रमण केवल निजी भ्रमणको लक्ष्मण रेखा भित्र मात्र सिमित रहन सकेन। प्रत्यक्ष नभए पनि परोक्ष रुपमा उनको भ्रमणले उनि आवद्ध नेकपा(माओवादी) केन्द्र भित्र र समग्र नेपालको राजनिति वृतमा विभिन्न अडकलबाजी गर्दै महत्वका साथ चर्चा परिचर्चा चलिरहेको छ।












प्रतिक्रिया