ड्यालस (अमेरिका) – टेक्ससको युलेसस्थित पशुपतिनाथ मन्दिरमा यस वर्षको महाशिवरात्रि पर्व भव्य रूपमा सम्पन्न भयो। मन्दिरमा श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति थियो ।
यस वर्ष विगतको तुलनामा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले जानकारी दिए । ‘हामीले दर्शन तथा पूजाका लागि मन्दिर प्रवेश गर्ने श्रद्धालुहरूको तथ्यांक राखेका थियौं । जसअनुसार आज १५ हजारभन्दा बढी भक्तजनले दर्शन गर्नुभएको छ,’ उनले भने ।
शिवरात्रिको दिन बिहानैदेखि भगवान् शिवको विशेष पूजा, भजन-कीर्तन तथा धार्मिक अनुष्ठानमा उल्लेख्य रूपमा श्रद्धालुहरूको सहभागिता रहेकाले आफूहरू सफल भएको मन्दिर कार्यसमितिकी अध्यक्ष सीता बस्नेत सापकोटाले बताइन्।
मन्दिरमा भक्तजनको संख्याका साथै उल्लेख्य मात्रामा रकम संकलन भएको छ । पशुपतिनाथ तथा बौद्ध विहार बोर्ड अफ ट्रष्टी अध्यक्ष डा. प्रेम अधिकारीका अनुसार आज एकै दिन ७५ हजार नगद र दुई लाख डलरभन्दा बढीको प्रतिबद्धता श्रद्धालुहरूबात प्राप्त भएको छ ।
मन्दिर परिसरमा विशेष आरती तथा प्रसाद वितरणको व्यवस्था गरिएको थियो। महाशिवरात्रि पर्वको पावन अवसरमा स्थानीय भक्तजनहरूको उल्लेखनीय संख्यामा उपस्थितिले शिवरात्रि पर्वको भव्यतालाई उजागर गरेको थियो ।
गत आइतबारबाट शुरु भएको कार्यक्रम आजबाट सम्पन्न भएको महाशिवरात्रि पर्व आयोजक समितिले जनाएको छ ।
आज सांस्कृतिककर्मी हरि थापा लगायत समूहबाट भगवान शिवको भेष सहित ताण्डवनृत्य र झाँकी समेत प्रदर्शन गरिएको थियो ।
















प्रतिक्रिया