मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

बोस्टनमा तीन दिने कन्सुलर सेवा घुम्ती शिविर सञ्चालन हुने

बोस्टनमा तीन दिने कन्सुलर सेवा घुम्ती शिविर सञ्चालन हुने


Screenshot

अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टनमा तीन दिने कन्सुलर सेवा घुम्ती शिविर हुने भएको छ। अमेरिकाको न्यूयोर्क स्थित महावाणिज्यदूतावासले आफ्ना सेवाग्राहीहरुलाई घरदैलोमै पुगेर छिटो छरितो र चुस्त दुरुस्त सेवाहरु प्रदान गर्ने मुख्य उद्देश्य राखेर घुम्ती शिविर सञ्चालन गर्न लागेको हो।

उक्त घुम्ती शिविर गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको म्यासाच्युसेट्स च्याप्टरको संयोजनमा यही नोभेम्बर ९,१० र ११ तारिख( शनिबार, आइतबार र सोमबार)का दिन 434 Massachusetts Ave, Arlington, 02474 मा सञ्चालन गर्ने गरी आवश्यक तयारी गरिएको छ। यस सम्बन्धमा महावाणिज्यदूतावास न्यू योर्कले सूचना जारी गर्दै उक्त कन्सुलर सेवा घुम्ती शिविरबाट आवश्यक कन्सुलर सेवाहरु लिन आफ्ना सेवाग्राहीहरुलाई अनुरोध गरेको छ। घुम्ती शिविर कार्यक्रमको संयोजनकारी भूमिका निर्वाह गरिरहेको संस्था एनआरएनए,एनसिसि, अमेरिकाको म्यासाच्युसेट्स च्याप्टरले पनि आवश्यक प्रचारप्रसार गर्नुका साथै व्यवस्थापकीय अन्य कामहरुलाई तिब्रता दिइरहेको छ।

महावाणिज्यददूतावासका अनुसार उक्त शिविरमार्फत सेवाग्राहीहरुलाई राहदानी नविकरण, गैर आवासीय नेपाली परिचयपत्रको आवेदन संकलन, अधिकृत वारेशनामा प्रमाणिकरण (Power of Attorney), कागजात प्रमाणिकरण(Attestation), पर्यटक भिषा जारी (Tourist Visa), अन्य Attestation सम्बन्धी कागजातहरुका सेवाहरु प्रदान गरिने छ।

घुम्ती शिविरको संयोजन गरिरहेको सहयोगी संस्था एनआरएनए, एनसिसि, अमेरिकाको म्यासाच्युसेट्स च्याप्टरकी महिला सचिव स्नेहा पन्थीले आवश्यक तयारी भइरहेको जानकारी दिइन्। उनले उक्त कन्सुलर सेवा घुम्ती शिविरबाट बढिभन्दा बढि सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले आफूहरु आवश्यक तयारीमा जुटिरहेको बताइन्। उनले घुम्ती शिविरलाई व्यवस्थित, सहज, प्रभावकारी र उपलब्धिमूलक बनाउन सेवाग्राहीहरुको सेवा लिने समय तालिका तयार गर्ने कार्य भइरहेको बताइन्।

महिला सचिव पन्थीका अनुसार सेवाग्राहीहरुको सेवा लिने समय तालिका तयार भएपछि संस्थाको फेसबुक पेजमार्फत उक्त समय तालिका सार्वजनिक गरिने  भएको छ। घरदैलोमा आउने उक्त घुम्ती शिविरबाट बढी भन्दा बढी सेवाहरु लिइ लाभान्वित हुन सेवाग्राहीहरुलाई अनुरोध गर्दै उनले सेवाग्राहीहरुलाई आफ्नो समय तालिका हेरेर सोही अनुसार सेवा लिन शिविर सञ्चालन स्थलमा आइदिन अनुरोधसमेत गरेकी छिन्।

उक्त शिविरमार्फत म्यासाच्यूसेट्स राज्यसहित छिमेकी राज्यहरु न्यू हेमसायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट राज्यहरुमा बसोबास गर्ने करिब दुइ सय पचास सेवाग्राहीहरुलाई कन्सुलर सेवा प्रदान गर्न सकिने अनुमान गरिएको छ।

नेपाली महावाणिज्यदूतावासले घुम्ती शिविरबाट प्रदान गर्न लागिएका सेवाहरु प्राप्त गर्नका लागि आवश्यक कागजात, शुल्क र प्रक्रियाबारेमा विस्तृत जानकारीका लागि महावाणिज्यदूतावास, न्यू योर्कको आधिकारिक वेबसाइडमा हेर्न अनुरोधसमेत गरेको छ।

थप जानकारीका लागि तल 👇को लिङ्कमा क्लिक गर्नु होला।

https://nyc.nepalconsulate.gov.np