‘पापा, प्रेसिडेन्सियल डिबेटसँगै बसेर हेरौ है’ छोराले अफिसबाट फर्कना साथ भन्यो।
म निकै खुशी भएँ। मलाई राजनीतिमा निकै चासो लाग्छ र सबैले राख्नु पर्छ भन्ने मान्यता राख्छु। छोराछोरीले राजनीतिका कुरा गर्दा झन उत्साहित हुन्छु।
राजनीति निकै कठीन कार्य हो (अपवादमा नेपाल) । राजनीति गर्न भन्दा पनि बुझ्न र राजनीतिज्ञको देश र जनता प्रतिको इमान्दारिताले मेरो लागि निकै अर्थ राख्छ।
अमेरिकामा आगामी नोभेम्बर ५ मा हुने राष्ट्रपतीय निर्वाचनका दुई प्रतिस्पर्धी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस बीचको बहस बाबु-छोराले सँगै बसेर हेर्यौ। अमेरिकाको परिप्रेक्ष्यमा यस वहसले निकै महत्व राख्दछ। उम्मेदवारहरूको नीतिहरू र योजनाहरू बुझ्नको लागि यो बहस बढी महत्त्वपूर्ण हुन्छ, र उम्मेदवारहरू पनि अधिक जिम्मेवार ढंगले प्रस्तुत हुन्छन्।
यस्ता वहसले उम्मेदवारहरूको विश्वसनीयता र इमान्दारीको मूल्यांकन गर्न मद्दत गर्दछ, जसले मतदाताहरूलाई सही निर्णय लिन सजिलो बनाउदछ। अमेरिकी राजनीति मात्र अमेरिकाको होइन, विश्वको ठूलो अर्थतन्त्र भएकाले, यसले विश्वका नीतिहरूमा पनि ठूलो प्रभाव पार्दछ। त्यसैले यो राष्ट्रपतीय बहस संसारभर हेरिन्छ।
स्वार्थ बिनाको मान्छे हुँदैन। मेरा पनि केही स्वार्थहरू छन। यो बाटो हराएको मान्छेले भेट्टाएको देश हो। यहाँ अधिकांश अन्तबाटै आएका हुन । तसर्थ यो देश यस देशमा कानूनी प्रक्रिया पूरा गरेर बसोबास गर्ने सवैको हो। कोही ५०/१०० वर्ष अघि पछि आएको भरमा कसैले कसैलाई आप्रवासीको रुपमा हेप्न होच्याउन पाइदैन। मेरो स्वार्थ त्यति नै हो।
कसरी प्रस्तुत भए डोनाल्ड ट्रम्प र कमला ह्यारिस ?
डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच तीव्र वहस भयो र दुबै उम्मेदवारले आफ्ना नीतिहरू र भविष्यका योजनाहरू प्रस्तुत गरे। ट्रम्पले आफ्नो विगतको प्रशासनकालको उपलब्धिहरूमा जोड दिएर अमेरिकी अर्थतन्त्रको सुधार, सीमाको सुरक्षा, र अमेरिकालाई पहिले राख्ने दृष्टिकोणमा ध्यान केन्द्रित गरे। उनले विश्व मञ्चमा अमेरिकाको सशक्त उपस्थिति कायम राख्नुपर्ने कुरा दोहोर्याए ।
कमला ह्यारिसले जनताको दैनिक जीवनसँग सम्बन्धित मुद्दाहरूमा बढी ध्यान दिइन्। उनले स्वास्थ्य सेवा, शिक्षा, र सामाजिक न्यायमा सुधार गर्ने आफ्नो योजना प्रस्तुत गरिन्। साथै, उनले जलवायु परिवर्तन र प्रविधिमा भएका परिवर्तनहरूलाई आत्मसात् गरेर अमेरिकालाई भविष्यको लागि तयार पार्नुपर्ने बताइन्।
बहसमा मूलतस् आप्रवासन नीति, गर्भपात र महिलाको प्रजनन अधिकार, कर नीति र आर्थिक योजना, स्वास्थ्य बिमा र ओबामा केयर, जातीय विभाजन र सामाजिक न्याय, शिक्षा नीति, जलवायु परिवर्तन र वातावरणीय नीति, अमेरिकाको विदेश नीति, राष्ट्रिय सुरक्षा, र श्रमिक अधिकार र रोजगार जस्ता एजेण्डाहरु केन्द्रीत भयो ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस बीचको यो बहस संयमित नै देखिए पनि दुवै उमेद्वारहरुले यी एजेण्डाहरुमा राजनीतिक चासो राख्ने मतदाताहरुलाई बुझ्न गाह्रो नहुने जवाफ दिए। अब कुन भोटर्स कुन स्वार्थमा बढी महत्व राख्दछ उअसले त्यही आफ्नो स्वार्थ मिल्ने उमेद्वार छान्नेछ।
आप्रवासी तथा जातीय नीतिका सम्बन्धमाः
डोनाल्ड ट्रम्पले आजको बहसमा आप्रवासीहरूलाई ‘कुकुर र बिरालो खान्छन्’ र ‘बलात्कारी हुन्’ ‘अपराधी, लागु अाैषधका कारोवारी हुन्’ भनेर अत्यन्त आपत्तिजनक टिप्पणी गरिरहे । जसले आप्रवासी समुदायलाई असभ्य र अपराधीको रूपमा चित्रित गरेको छ। यस्तो टिप्पणीले आप्रवासीहरूको योगदानलाई कमजोर अाँकिएको छ । हेपिएको छ । जबकि उनीहरूले अमेरिकाको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासमा महत्वपूर्ण भूमिका निभाएका छन्।सदाझैँ यस पटक पनि ट्रम्पले चर्का र उत्तेजित स्वरमा अाधा दर्जन झुठ बोले ।
कमला ह्यारिसले यसमा कडा प्रतिक्रिया दिइन् । ट्रम्पको टिप्पणीलाई विभाजनकारी र असहिष्णु भन्दै आप्रवासीहरूको सम्मान र योगदानको रक्षा गर्नुपर्ने कुरा जोड दिइन्। उनले अमेरिकी समाजको विविधता र समावेशिता अमेरिकाको बलियो पक्षको रूपमा प्रस्तुत गरिन् र आप्रवासीहरूको योगदानले देशलाई समृद्ध बनाएको बताइन्।
जब वहशका मोडरेटर डेबिडले कमलालाई ट्रम्पले उनको जातीय पहिचान नचिनेको कुरा सोधे, कमलाले आफ्नो जातीय पहिचानमा गर्व गर्दै अमेरिकाका सबै समुदायहरूको प्रतिनिधित्व गर्न थप जिम्मेवारी महसुस गरेको बताइन्। उनले जातीय विविधताको वास्तविकता र यसको महत्वलाई जोड दिइन्। ट्रम्पले भने उनले कहिल्यै जातीय पहिचानमा ध्यान नदिएको दाबी गरे। आफूले सबैलाई अमेरिकीको रूपमा हेर्ने पनि दावी गरे ।
यो वहसले दुई फरक दृष्टिकोणलाई उजागर गर्यो । ट्रम्पको विभाजनकारी र आक्रामक शैली र कमलाको समावेशी र सम्मानजनक दृष्टिकोण, जसले मतदातालाई स्पष्ट रूपमा दुई फरक प्रकारका नेतृत्वबीच छनोट गर्ने अवसर दिएको छ।
कर नीतिका सम्बन्धमाः
कर (ट्याक्स) नीतिका सम्बन्धमा मंगलबारको बहसमा डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच स्पष्ट फरक मत देखियो। ट्रम्पले ठूला व्यबसायीलाइ कर कटौतीलाई आफ्नो प्रमुख आर्थिक रणनीतिका रूपमा प्रस्तुत गरे । ठूला व्यवसायहरूलाई कर घटाएर अमेरिकामा रोजगारीको अवसर बढाउने दाबी गरे। उनका अनुसार, व्यवसायिक करहरूमा कटौती गरेर अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ, जसले आर्थिक वृद्धिमा मद्दत गर्नेछ र राम्रो तलबका कामहरू सिर्जना गर्नेछ। उनले धनी व्यक्तिहरू र ठूला व्यवसायहरूलाई सहयोग गर्नुले मध्यम वर्ग र श्रमिक वर्गलाई पनि फाइदा पुर्याउने तर्क गरे।
तर, कमला ह्यारिसले ट्रम्पको कर योजना धनीहरूलाई मात्र फाइदा पुर्याउने र मध्यम तथा श्रमिक वर्गलाई बेवास्ता गर्ने दाबी गरिन्। उनले ट्रम्पको कर कटौती योजनालाई असमान र अन्यायपूर्ण भन्दै धनी व्यक्तिहरू र ठूला व्यवसायहरूको कर बढाउने योजना प्रस्तुत गरिन्। यसबाट प्राप्त राजस्वलाई स्वास्थ्य सेवा, शिक्षा र सामाजिक सुरक्षामा लगानी गरिनेछ, जसले मध्यम वर्ग र गरिबलाई प्रत्यक्ष रूपमा राहत दिनेछ।
कमलाको आर्थिक योजना सामाजिक न्याय, समानता, र समावेशितालाई ध्यानमा राखेर प्रस्तुत भएको देखिन्छ । यसलाई लागू गर्न बढी भरोसायोग्य र व्यावहारिक मानिन्छ। जबकि ट्रम्पको योजना व्यवसायिक दृष्टिकोणमा आकर्षक भए पनि यसले ठूला व्यवसायहरूलाई मात्रै फाइदा पुर्याउन सक्छ र जनतामा असमानता बढाउन सक्ने जोखिम देखिन्छ।
त्यसैले, मलाई भने कमलाको योजना बढी विश्वासिलो र अमेरिकामा दीर्घकालीन सामाजिक तथा आर्थिक समृद्धि ल्याउन सजिलो हुनेजस्तो लाग्यो।
शिक्षा, स्वास्थ्य र गर्भपतन नीतिका सम्बन्धमाः
शिक्षा, स्वास्थ्य र गर्भपतन नीतिका सम्बन्धमा आजको बहसमा डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच स्पष्ट भिन्नता देखियो। ट्रम्पले शिक्षा सुधारका लागि निजीकरण र विद्यालय छनोटमा जोड दिए, सरकारी नियन्त्रण कम गरेर निजी र चार्टर स्कूलहरूलाई प्रोत्साहन गर्ने कुरा गरे। उनका अनुसार यसले शिक्षाको गुणस्तर सुधार्न मद्दत गर्नेछ। यसको ठीक विपरीत, कमलाले सर्वसाधारण स्कूलहरूको सुधार, शिक्षकहरूको तलब वृद्धि र समान शिक्षाको पहुँचलाई प्राथमिकता दिने प्रस्ताव राखिन्।
स्वास्थ्य बिमा र ओबामा केयरको विषयमा ट्रम्पले ओबामा केयरलाई असफल र महँगो स्वास्थ्य सेवाको आरोप लगाउँदै, यसको खारेजी र वैकल्पिक योजना ल्याउने कुरा गरे। तर, उनले नयाँ योजनाको विस्तृत जानकारी भने दिएनन्। उनले बजारमा आधारित स्वास्थ्य सेवा प्रणालीलाई प्राथमिकता दिने कुरा गरे। अर्कोतर्फ, कमलाले ओबामा केयरलाई सुदृढ गर्दै यसको विस्तार गर्ने योजना प्रस्तुत गरिन्। उनले यस योजनाले लाखौं अमेरिकालाई स्वास्थ्य बिमाको पहुँच दिएकोमा जोड दिइन् र यसलाई सुधार गर्नुपर्ने बताइन्।
गर्भपतनको विषयमा, ट्रम्पले गर्भपातलाई अनैतिक र अनुचित बताउँदै यसको विरोध गरे र कानूनी कदम चाल्ने कुरा गरे। उनले गर्भपातविरोधी दृष्टिकोणलाई प्राथमिकता दिए। कमला ह्यारिसले भने महिलाहरूको प्रजनन अधिकारको पक्षमा दृढ उभिइन्। उनले गर्भपातको निर्णयमा महिलाहरूको पूर्ण नियन्त्रण हुनु पर्नेमा जोड दिइन् र सरकारले यस मामिलामा हस्तक्षेप गर्नु अनुचित हुने बताइन्।
कमलाको दृष्टिकोण व्यक्तिगत स्वतन्त्रता र महिलाका अधिकारको पक्षमा देखिन्छ । जुन आधुनिक समाजका लागि महत्वपूर्ण मुद्दा हो। ट्रम्पको दृष्टिकोण पुरातनवादी, नैतिक र धार्मिक विश्वासमा आधारित देखिन्छ । जसले गर्भपातको अधिकारलाई सीमित गरेर सामाजिक र धार्मिक मान्यताहरूलाई प्राथमिकता दिन खोजेको देखिन्छ।
जलवायु परिवर्तन, विदेश नीति तथा राष्ट्रिय सुरक्षाका सम्बन्धमा :
जलवायु परिवर्तन, विदेश नीति, र राष्ट्रिय सुरक्षाका विषयमा बहसमा ट्रम्प र कमलाबीच ठूला भिन्नताहरू देखिए। ट्रम्पले जलवायु परिवर्तनको मुद्दामा शंका व्यक्त गर्दै कोइला र तेलजस्ता परम्परागत उर्जा स्रोतको संरक्षणमा जोड दिए । उनले हरित उर्जालाई प्राथमिकता दिएनन्। यसको विपरीत, कमलाले जलवायु परिवर्तनलाई गम्भीर चुनौती मान्दै हरित उर्जामा लगानी बढाउन र स्वच्छ उर्जा स्रोतहरूको विकासलाई प्राथमिकता दिनुपर्ने बताइन्।
विदेश नीतिमा ट्रम्पले ‘अमेरिका फस्ट’ नीति दोहोर्याउँदै अमेरिकालाई अरू देशहरूबाट अलग राख्न र सैन्य बललाई प्राथमिकता दिनुपर्ने बताए। कमलाले भने कूटनीतिक सम्बन्ध बलियो बनाउन, मानव अधिकारको संरक्षण गर्न र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रोत्साहित गर्न जोड दिइन्।
राष्ट्रिय सुरक्षामा, ट्रम्पले सीमामा कडा सुरक्षा, आप्रवासी नियन्त्रण, र आतंकवादविरुद्ध कडा कदम चाल्नुपर्ने कुरा गरे भने कमलाले साइबर सुरक्षा, आतंकवादविरुद्धको लडाइँ र घरेलु सुरक्षामा लगानी बढाउनुपर्ने कुरा गरिन्, साथै आप्रवासीहरूको मानव अधिकारलाई पनि संरक्षण गर्नुपर्नेमा जोड दिइन्।
अन्तमा,
यस अघि मैले लेखेको ‘ट्रम्पको प्रोजेक्ट २०२५’ ले नेपालीलाई पर्नसक्ने प्रभाव आलेख करिव ७० हजार शेयर भएको देखेर दङ्ग परेको छोरोले सायद त्यही सम्झेर बहस अन्तिम तर्फ पुग्दै गर्दा मलाई जिस्काउदै भन्यो -अब फेरी अर्को आर्टिकल लेख्ने हो ?
खै, म दोधारमा परेँ। अर्को आर्टिकल लेखिस्यो भने हजुरको पाठकलाई ‘प्रेसिडेन्सियल डिबेटको शुरुवात नै ट्रम्पले प्रोजेक्ट २०२५ को बारेमा आफू जानकार छैन’ भनेर झूटो बोलेर शुरु गरे भनेर लेख्न चै नबिर्स्यो है ?’ नभन्दै भयो पनि त्यस्तै । ट्रम्पले अाफूलाइ प्रोजेक्ट २०२५ का बारेमा थाहा नभएको भन्दै प्रश्नबाट पन्छिए ।
यस बहसमा कमला ह्यारिसले बढी यथार्थवादी र इमान्दार दृष्टिकोण प्रस्तुत गरिन्। उनले अमेरिकी जनताका लागि दीर्घकालीन योजनाहरूमा विश्वासयोग्य तरिकाले कुरा राखिन्, जसले उनलाई जनताको पक्षमा देखायो। ट्रम्पले पनि आफ्नो पक्ष मजबुत राखे तापनि उनका केही कुरा पुनः पुराना नीतिहरूमा मात्र केन्द्रित देखिए।
कमलाको दृष्टिकोण बढी समावेशी, व्यावहारिक र समय सापेक्ष देखियो । जसले उनलाई अमेरिकाका साथै विश्वस्तरमा पनि बढी वफादार र सत्यनिष्ठा भएको उम्मेदवारको रूपमा चित्रण गरायो।
प्रतिक्रिया