मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोस्टन   

नेपालमा बाल अस्पताल सञ्चालन गर्ने डा.कोइरालाको अभियानमा जुट्दै अमेरिकावासी प्रवासी नेपालीहरु

नेपालमा बाल अस्पताल सञ्चालन गर्ने डा.कोइरालाको अभियानमा जुट्दै अमेरिकावासी प्रवासी नेपालीहरु

अस्पताल सञ्चालन र दिगोपना चुनौतिपूर्ण छ तर त्यसका लागि पर्याप्त आधारहरु छन् : डा.कोइराला


अमेरिका- नेपालमा पहिलो पटक खुला मुटु शल्यक्रिया गरेर ख्याति कमाएका कार्डियोथोरासिक सर्जन, प्राध्यापक एवम् सामाजिक अभियान्ताका रुपमा चिरपरिचित डाक्टर भगवान कोइरालाको नेतृत्वमा नेपालमा अत्याधुनिक सुविधा सम्पन्न सर्व सुलभ बाल अस्पताल सञ्चालनमा ल्याउने अभियान केही वर्षदेखि द्रुत गतिमा भइरहेको छ। बालबालिकाहरुका सबै खाले रोगहरुका गुणस्तरीय उपचार सेवाहरु एउटै छाना मुनीबाट सरकारी अस्पतालकै सरह शुल्कमा उपलब्ध गराउने उद्देश्यका साथ यो अभियान चालिएको अभियान्ताहरुको उद्घोष छ।

यस अभियानमा नेपाल सरकार, विभिन्न संघ संस्था, व्यापारी, विभिन्न पेशाकर्मीहरु, देश विदेशमा रहेका नेपालीहरुलगायत प्रत्यक्ष परोक्ष रुपमा जोडिएर अभियानलाई सफल बनाउन होस्टेमा हैसे गरिरहेका छन्। अभियानलाई समयमै टुङ्गोमा पुर्याउन आवश्यक आर्थिक, प्राविधिक र विषय विज्ञहरुको सहयोग जुटाउने अभियानले पनि तिब्रता पाइरहेको छ।

यसैक्रममा, काठमाण्डू इन्स्टिच्युट अफ चाइल्ड हेल्थका प्रमुख एवम् अत्याधुनिक सुविधा सम्पन्न सर्वसुलभ बाल अस्पताल सञ्चालन अभियानका अभियान्ता डा. भगवान कोइरालाले अमेरिकाको न्यू इङ्गल्याण्डवासी प्रवासी नेपालीहरुसंग अन्तरक्रिया गरेका छन्। उक्त अभियानलाई साथ सहयोग जुटाउने प्रमुख उद्देश्यका साथ स्थापना भइ अमेरिकामा सक्रिय रहेको किओच पार्टनर्स अफ अमेरिकाले डा.कोइरालाको प्रमुख आतिथ्यतामा बोस्टनमा तेश्रो वार्षिक बैठकको आयोजना गरेको थियो। गत सेप्टेम्बर ८ तारिख आइतबार सम्पन्न उक्त बैठकमा स्वाथ्यकर्मी, व्यापारी, सामाजिक अभियान्ता, विद्यार्थी एवम् सरोकारवाला प्रवासी नेपालीहरुको सहभागिता रहेको थियो।

यसैक्रममा, सुप्रबल गोरखा दक्षिण बाहु, बिरेन्द्र ऐश्वर्य पदकबाटसमेत सम्मानित भइसकेका डाक्टर कोइरालाले नेपालमा अत्याधुनिक सर्व सुलभ सुविधा सम्पन्न बाल अस्पताल सञ्चालन अभियानका बारेमा संक्षिप्त जानकारी गराएका थिए। प्रविधिको सहयोग लिदै उनले यस अभियानको नेतृत्व गरिरहेको संस्था काठमाण्डू इन्स्टिच्युट अफ चाइल्ड हेल्थको परिचय, उद्देश्य, लक्ष्य, हाल सम्मको उपलब्धिको अवस्था, भावी योजना आदिका बारेमा संक्षिप्त रुपमा जानकारी गराएका थिए। डाक्टर कोइरालाका अनुसार कोशी प्रदेशको झापा जिल्लाको दमकमा एक बिघा जमीनमा फैलिएको बाल अस्पताल सञ्चालमा आइसकेको छ। त्यसले मूख्य गरी त्यस क्षेत्रमा पर्ने पाँचवटा जिल्लाका बालबालिकाहरुलाई गुणस्तरीय सेवाहरु प्रदान गरिरहेको र त्यो निकै प्रभावकारी भइरहेको उनले दावी गरे। डाक्टर कोइरालाका अनुसार गत वर्ष २०२३ को अप्रिल महिनादेखि यो वर्ष २०२४ को अप्रिल १६ तारिखसम्ममा दमक अस्पतालले पचासी हजार चार सय एघार बिरामीहरुलाई स्वास्थ्य सेवाहरु प्रदान गरिसकेको छ।

डाक्टर कोइरालाले जनाए अनुसार काठमाडौंको गोल्फुटारमा करिब ४२ रोपनी जमीनमा दुइसय सैय्याको अत्याधुनिक सुविधा सम्पन्न बाल अस्पतालको निर्माण कार्यको पहिलो चरणको काम द्रुत गतीमा भइरहेको छ। जग्गा व्यवस्थापनमा साँडे छ करोड, क्लिनिकल तथा रिसर्च भवन निर्माणमा ३ करोड पन्चानब्बे लाख र अस्पतालको भवन निर्माणमा एक अरब उन्नाईस करोड चौरासी लाख गरी कूल एक अरब तिस करोड उनान्तिस लाख लागत लाग्ने अनुमान गरिएको यस अस्पतालको हालसम्म कोष व्यवस्थापनको अन्तर अवस्था १९ प्रतिशत रहेको देखिन्छ।

आफ्नो प्रस्तुतिको क्रममा डाक्टर कोइरालाले आगामी सन् २०३१ सम्ममा सातै प्रदेशमा कम्तिमा ५० सैय्यासहितको स्याटेलाइट सेन्टरहरु स्थापना गरी सञ्चालन गर्ने महत्वाकाक्षी लक्ष्य संस्थाले लिएको बताए। उनले आफू मुटु सम्बन्धी चिकित्सक भएतापनि, काम गर्ने दौरानको भोगाइ, कार्य अनुभव, बुझाइ, बालबालिकाहरुको स्वास्थ्य अवस्था, नेपाल सरकारको अवस्था, बालबालिकाहरुको स्वास्थ्य सेवामा पहुँच, देशको आवश्यकता, विश्व परिवेशआदिलाई मध्यनजर गरेर बालाबालिकाको समग्र स्वास्थ्य सेवामा काम गर्ने अभियानमा होमिएको बताए।

काठमाण्डौंमा निर्माणाधिन सर्व सुलभ अत्याधुनिक सुविधा सम्पन्न बाल अस्पताको त्री डि तस्बिर।

सहभागीहरुको जिज्ञासा मेटाउने क्रममा उनले देश निर्माणका लागि आवश्यक पर्ने योग्य जनशक्ति निर्माण गर्न बालबालिकाहरु स्वस्थ हुनै पर्ने जिकिर गर्दै उनले त्यही भएर आफू बालबालिकाको स्वास्थ्य क्षेत्रमा बिषेश काम गर्न अभिप्रेरित भएको प्रस्टिकरण दिए। सहभागीहरुले सातै प्रदेशमा सुविधा सम्पन्न अस्पताल सञ्चालन गर्ने महत्वाकांक्षी अभियानको दिगोपनाका बारेमा चिन्ता व्यक्त गरेका थिए। सहभागीहरुको चिन्तालाई सम्बोधन गर्दै डाक्टर कोइरालाले अस्पताल सञ्चालन र त्यसको दिगोपना चुनौतीपूर्ण रहेको स्विकार गरे। तर, उनले त्यसका लागि आफूहरुसंग पर्याप्त आधारहरु भएको र नेपाल सरकारको साथ पाएमा गाह्रो परिस्थिति नआउने, कथनकदाचित गाह्रो परिस्थिति आइहाले पनि अन्तिममा गैर सरकारी संस्थाको अपनत्व नेपाल सरकारले नै ग्रहण गर्ने भएकाले दिगोपना हुनेमा ढुक्क हुन अनुरोध गरे।

बोलकबोल गरेर एउटा छ सय डलरमा र दुइटा पाँचसय डलरमा बिक्री भएका चित्रहरु।

कार्यक्रममा किओच पार्टनर्स अफ अमेरिकाकी अध्यक्ष बिनिता खरेल नेपालले आफ्नो संस्था, काम र अभियानका बारेमा संक्षिप्त जानकारी गराएकी थिइन्। उनले किओचलाई आवश्यक पर्ने सबै खाले सहयोगहरुको खोजी गर्ने, जुटाउने र सहयोग गर्ने नै आफ्नो संस्थाको मूख्य उद्देश्य रहेको बताइन्। उनले किओचलाई आर्थिक, प्राविधिक र विषय विज्ञताको सहयोग प्रदान गरेर अभियानमा जोडिन सकिने बताउदै सबैलाई सहयोगका लागि अपिल गरिन्।

अभियानलाई सहयोग पुर्याउन डा.कोइरालाको पुस्तक ‘हृदय’ २० डलर तिरेर खरिद गरी डा. कोइरालासंग तस्बिर खिचाउदै फोटोग्राफर सुरेन्द्र नापित।

कार्यक्रममा बाल अस्पताल निर्माण अभियानलाई सहयोग पुर्याउने उद्देश्यले २० डलर तिरेर सहभागीहरुले डाक्टर भगवान कोइरालाद्वारा लिखित पुस्तक ‘हृदय’ खरिद गरेका थिए। यसैगरी, नेपालको सुन्दरता र पहिचान बोकेको आकर्षक तीनवटा सुन्दर चित्रहरु सहयोग स्वरुप बोलकबोलमा बिक्री गरिएको थियो। जस मध्य दुइवटा चित्र ५/५ सय डलरमा र एउटा चित्र छ सय डलरमा बिक्री भएको थियो।

नेपालको राजधानी काठमाण्डौंको बुढानिलकण्ठ नगरपालिका वडा नंबर -७ हेपाली हाइटमा रहेको किओच एक मूनाफारहित गैर सरकारी संस्था हो। यसको स्थापना सन् २०१७ मा भएको थियो। यसको मूख्य उद्देश्य बालबालिकाहरुलाई सर्व सुलभ मूल्यमा उच्च गुणस्तरीय एकिकृत स्वास्थ्य सेवाहरु एउटै छाना मुनीबाट उपलब्ध गराउनु रहेको छ। जसको मूलभूत मान्यताहरु उत्कृष्टता, दक्षता, समानता, नैतिक, र समानुभूति रहेका छन्।