मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   
टेक्सस   
मुख्य समाचार   

एनआरएन नागरिकता कागजको खोस्टो बन्यो

एनआरएन नागरिकता कागजको खोस्टो बन्यो

प्रवासका नेपालीद्वारा वंशजकै नागरिकता अभियान थालनी


ड्यालस (टेक्सस) । नेपाली नागरिकताको निरन्तरताको पक्षमा विश्वव्यापी रुपमा नेपाली समुदायबाट पहल सुरु भएको छ ।

नेपाल सरकारले गत वर्षदेखि वितरण गर्न थालेको गैर आवासीय नेपाली नागरिकता अधिकारविहिन कागजको खोस्टो जस्तो भएको भन्दै नेपालीहरुले पुरानै नेपाली नागरिकताको पक्षमा लबिङ्ग थालेका छन् । ‘मैले नेपाली कांग्रेसको गत महाधिवेशनमै एनआरएन नागरिकता अधिकार नभएको कागजको खोस्टो हो र पुरानै नागरिकताको पक्षमा नेपाल सरकार उदार हुनुपर्ने आवाज उठाएको थिएँ’ नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं ड्यालसका व्यबसायी हरिबोल भण्डारीले भने ।

अहिले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, युरोपका सेन्जेन देशहरु, जापान लगायतमा बसेर त्यही देशको नागरिकता लिएका नेपालीहरुले पुरानै नागरिकताको निरन्तरताका लागि विशेष अभियान सुरु गरेका छन् ।

गैर आवासीय नेपाली नागरिकताले राजनीतिक बाहेकका अधिकार दिएको भनिएपनि नेपालका कुनै पनि सरकारी निकायहरु, बैंकहरुले कानुनतः नचिनेको हुँदा प्रवासमा रहेका नेपाली समुदायले ‘कागजको खोस्टो’ नाम दिएका छन् ।

‘नागरिकताधारी व्यक्ति आफ्नै देश जाँदा अध्यागमनमा भिसा लिनुपर्ने पनि कुनै नागरिकता हुन्छ ? प्रवासमा रहेका आम नेपालीहरु एक भएर यो विषयलाई उठाउने निधोमा पुगेका हाैँ’ प्रवासी नेपाली मञ्च अमेरिकाका अमेरिका इन्चार्ज प्रभु थापाले भने-‘यो पुस्तालाई मात्र हेरेर होइन, हामीले नेपाल बाहिर जन्मिने नाती पनाती पुस्तालाई हेरेर वंशजकै नागरिकतालाई निरन्तरता दिन जरुरी छ ।’

यो अभियानमा अहिले प्रवासमा रहेका नेपालका सबै राजनीतिक दल निकट संस्थाहरु एकमत भएका छन् । प्रवासी मञ्च, जनसम्पर्क समिति, पानस, जनप्रगतिशिल मञ्च लगायतका संस्थाका नेतृत्वमा रहेकाहरु यो अभियानमा संलग्न छन् ।

प्रवासमा रहेका नेपालीहरुले आफूले विगतमा पाएको वंशजको नागरिकताकै निरन्तरताको लागि अब संगठित रुपमा नेपाल सरकारको ध्यानाकर्षण दिने भएका छन् । ‘यो अभियान एनआरएनए मार्फत अघि बढिसक्नुपर्ने थियो । तर एनआरएनए पनि आफैँ रुमल्लिएको, हराएको, विवादमा परेका कारण सबै मिलेर अभियान सुरु गर्न लागेका हौं’ भण्डारीले भने ।

यो अभियानलाई अघि बढाउन अहिले संसारभरि रहेका सबै नेपालीहरु एकजुट भएका छन् । केही दिनमै गुगलशीट मार्फत हस्ताक्षर संकलन हुने र संकलन भैसकेपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने, सांसदहरुलाई राखेर गैर आवासीय नागरिकताले निम्त्याएका समस्याहरुका बारेमा जानकारी गराउने योजना रहेको छ ।

सरकारले गत वर्ष एनआरएनएका तत्कालिन अध्यक्ष कुल आचार्य र बद्री केसीलाई पहिलोपटक वितरण गरेर एनआरएन नागरिकताको वितरण थालनी गरेको थियो । त्यसपछि देशभरिका जिल्ला प्रशासन कार्यालयबाट वितरण सुरु भएको हो ।

जुन देशको नागरिकता प्राप्त व्यक्ति हो, त्यो व्यक्तिलाई त्यही देशमा भिसा शुल्क लाग्ने भन्ने संसारमा कहिँ पनि र कतै पनि नभएको व्यबस्था हो । तर नेपालमा भिसा शुल्क तिर्नुपर्ने, डलरमा मात्र बैंक खाता खोल्न पाउने, मालपोत कार्यालयहरुले जग्गा नामसारी, किनबेचमा लफडा गर्ने कारणले गर्दा नेपालीहरुले पुरानै वंशजको नागरिकताको लागि पहल थालेका हुन् ।

प्रवासी मञ्च अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सञ्जय थापाले केही महिना अघि ड्यालसमा आयोजना गरिएको कार्यक्रममा गैर आवासीय नागरिकता पाउँदा सुरुमा गज्जबको जस्तो लागेको तर अधिकार बिहिन भएको थाहा पाएपछि वंशजकै नागरिकताको पक्षमा लाग्नुपर्ने देखिएको औंल्याएका थिए ।

आउँदो साता संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क आउन लागेका प्रधानमन्त्रीलाई समेत त्यतिखेर यो विषयमा ध्यानाकर्षण गर्नेमा नेपालीहरु पुगेका छन् ।