मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्य   

ममताको घरमै विभत्स हत्या भएको आशंका

ममताको घरमै विभत्स हत्या भएको आशंका

नेपाली समुदाय तरंगीत, 'घरेलु हिंसा लुकाउने होइन कानुनी उपचार खोजौं'


भर्जिनियाको मनाससमा नेपाली महिला ममता काफ्लेलाई उनकै पतिले घरमै हत्या गरेको आशंका गरिएको छ । ममताका पति नरेश भट्टले एक वर्षीय छोरीकी आमा श्रीमती ममताको निकै विभत्स रुपमा हत्या गरी प्रमाण लुकाएको शंका प्रहरीले गरेको छ ।

हत्या भएको करिब तीन सातापछि विहीबार नरेशलाई प्रहरीले शंकास्पद अभियुक्तका रुपमा लिई पक्राउ गरेको थियो । प्रहरीले तयार गरेको विवरणमा पनि जुलाई ३० मै ममताको हत्या घरभित्रै भएको र प्रमाण लुकाईएको जनाएको छ ।

उच्च डिजीटल र फोरेन्सिक प्रविधि प्रयोगवाट गरिएको अनुसन्धानमा केही रगतका टाटाहरु बाथरुम र कोठामा भेटिएको अनौपचारिक रुपमा सार्वजनिक विवरणले देखाएको छ । बेडरुममा समेत रगतका टाटाहरु भेटिएको जनाईएको छ ।

शंकास्पद अभियुक्त नरेशले जुलाई ३० मा नजिकको वालमार्टबाट तीनवटा चक्कु किनेको, सरसफाई गर्ने विभिन्न समग्रीहरु किनेको अनुसन्धानमा देखिएको छ । हत्यापछि प्रमाण नष्ट गर्न ती सरसफाई सामग्रीहरूको प्रयोग गरिएको प्रहरीको दाबी छ ।

यस आधारमा अभियुक्तले घरमै ममताको हत्या गरेको हुन सक्ने प्रमाण देखिएका हुन् । अहिलेसम्म अभियुक्तले अपराध स्विकारेका छैनन् । अभियुक्त नरेश जमानतमा छुट्न नपाउने गरी अहिले प्रहरीले हिरासतमा छन् । प्रहरीले यो मुद्दा भोली शुक्रबार अदात लैजाने तयारी गरेको छ ।

ममताको शरीर भने अहिलेसम्म भेटिएको छैन । शंकास्पद अभियुक्त नरेशले पनि प्रहरीलाई यसबारेमा जानकारी दिएका छैनन् ।यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नाबालक छोरीको हेरविचारका लागि नियम अनुसार समाजिक सुरक्षा संस्थामा जिम्मा लगाईएको छ । यसैबीच ममताका माइती परिवारका सदस्यहरु अमेरिका आउने तयारीमा रहेको बताइएको छ ।

नेपाली समुदाय स्तब्ध

यो विभत्स घटनाले अमेरिका बस्ने नेपाली समुदाय स्तब्ध भएको छ । कैयौंले समाजिक संजालमा समस्या लुकाउनु भन्दा नियम अनुसार समाधानतिर लाग्नु नै उचित हुने स्टाट्स लेखेकाछन् ।

पनौतीस्थित समान्य परिवारबाट आएकी ममताले फेसबुकको चिनजानका भरमा नरेशसंग बिबाह गरेकी थिईन्। ममताको  परिवारको पनौतीमा चिया/तरकारी पसल रहेको बताइन्छ। अभियुक्त नरेशले भने अमेरिकी सेनामा काम गरेर छिट्टै अवकास लिएका थिए । सेनामा रहंदा उनले अफगानिस्तानमा पनि सेवा गरेको बताईएको छ।

अमेरिकाको नियम अनुसार सेनामा भर्ना भएपछि सजिलै अमेरिकाको नागरिकता पाइन्छ । श्रीमती लगायत परिवारका सदस्यलाई पनि अमेरिका ल्याउन पाईन्छ ।

ममतालाई लोग्ने नरेश र उनको परिवारले विभिन्न प्रकारले पीडा दिने गरेको परिवार निकटले बताएकाछन् । पेशाले नर्स रहेकी २८ वर्षीय ममताले पनि केही महिना अघि पतिले घरेलु हिंसा गर्ने हुँदा कसरी अलग हुन सकिन्छ भन्ने खालको स्टाटस लेखेकी थिईन । अमेरिकाका ममताका माइतीतिरका परिवारका निकट कोही पनि थिएनन्।

अमेरिकामा काम, परिवार हेरचाह सजिलो हुँदैन । नाबालक सन्तान छन भने त झनै कठिन हुन्छ । परिवारका सदस्यहरूबीच राम्रो समन्वय भएन भने झनै कठिन हुन्छ ।

अहिले नेपाली समुदायले समाजिक सञ्जालमा समाज, परिवार भन्दै हिंसा सहेर बस्न नहुने सुझाव साझा गर्न थालेका छन् । ‘मन मिल्दैन भने अमेरिका हो अलग भएर पनि बस्न सकिन्छ’, धेरैले यही आशयका स्टाटस लेखेका छन् ।

एक बर्ष अघि टेक्ससको डलासमा कृष्ण लामिछानेले आत्महत्या गरेका थिए  भने  केही महिना अघि चर्चित रक्तदाताले पनि आत्महत्या गरे । ती दुबै घटना पनि घरेलु हिंसासँग सम्बन्धित थिए । नेपाली समुदायमा परिवारिक बेमेल र समस्या वढ्दै गएकाले यस बारेमा बहस शुरु भएको हो ।

ममताका बारेमा अमेरिकाका संचार माध्यमले पनि चासोका साथ समाचार दिएका थिए । सीएनएनले बालककी आमा ममता हराएको बारेमा लामो समाचार दिएको थियो भने अन्य प्रमुख मिडियाहरुले समेत ममता हराएदेखि नै खोजी कार्यका लागि नेपाली समुदायका गतिविंधिहरुलाई सघाईरहेका थिए। स्थानीय प्रहरी र प्रशासनले पनि यो घटनालाई महत्वका साथ अनुसन्धान गरिरहेको छ । केही दिन यता नियमितरुपमा जानकारीहरु पनि दिईरहेको छ ।

अदालतमा प्रहरीले अभियोग पत्र वुझाएको छ । त्यहाँ पनि घर मै हत्या गरेर शरीर घिसार्दै बाथरुमसम्म लगेको बताइन्छ । स्थानीय नेपाली संचारकर्मी गुणराज लुइँटेलले समाजिक संजालमा राखेको विवरण अनुसार अभियुक्त नरेश अदालतमा उपस्थित हुँदा टुलुटुल सुनेर बसे । आफ्नो कुरा वकिल मार्फत मात्र भन्ने बताएर मौन वसे । अदालतले अभियुक्तलाई वकील राख्ने सुविधा दिइएको थियो । अदालतमा उपस्थित हुनेहरूका अनुसार नरेशको हाउभाउले  उनमा खुंखार हत्याराको जस्तो चालढाल देखाएका थिए ।