मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

ट्रम्पको प्रोजेक्ट २०२५ ले नेपालीलाई पर्न सक्ने प्रभाव

ट्रम्पको प्रोजेक्ट २०२५ ले नेपालीलाई पर्न सक्ने प्रभाव


‘पापा हजुरहरु कस्लाइ भोट गरिसिन्छ’ छोरीले प्रश्न सोधिन् ।

प्रश्न घरका हामी तीनैजना भोटर्स म, मेरी श्रीमती र छोरोलाई थियो।

मेरी पत्नी सबुले प्रश्नको जालोबाट उम्कन फ्याट्ट बोलिन् -‘मेरो छोरीलाई भोट हाल्न पाउने भए पो धेरै चासो राख्नु।’

‘छोरीलाई भोट हाल्ने इच्छा राख्नेले त झन् धेरै यो चुनावमा चासो राख्नु पर्छ नि मामु’ छोरीले उनकी ममीलाइ तत्कालै जवाफ फर्काइन् ।

उनले अझै थप्दै गइन् यो पटक ट्रम्प प्रेसिडेण्ट भए भने उसले ‘प्रोजेक्ट २०२५’ लागु गर्नेछ, जसले अमेरिकामा हामी जस्ता आप्रवासीहरुलाई अघि बढन ठूलो अवरोध पुर्याउनेछ।

उनको कुरा मैले सुने मात्र । दाजुले पनि बहिनीका कुरामा सहमति जनाउदै अझ कुराहरु थप्यो। म एउटा जिज्ञासु पत्रकार झैँ छोराछोरीको चुनाव सम्बन्धी भित्री अन्तर्य बुझ्न प्रश्नहरु राख्दै गए।

के हो ट्रम्पको ‘प्रोजेक्ट २०२५’ पछाडी को कथा ?
प्रोजेक्ट २०२५ को अवधारणा सन् २०२० को ट्रम्प प्रशासनको अन्तिम वर्षमा ट्रम्प धेरै समर्थकहरू र नीति निर्माताहरूको सहयोगमा शुरु गरिएको एक प्रोजेक्ट हो। यसको मूख्य उद्देश्य ट्रम्पको राष्ट्रपतिको दोस्रो कार्यकालमा लागु गर्न एक योजना तयार पारी नयाँ कन्जरभेटिव (पुरातनवादी) प्रशासनलाई पहिलो दिनदेखि नै प्रभावकारी रूपमा शासन गर्न सक्षम बनाउन गरिएको थियो।

सन् २०२० मा ड्राफ्ट भएको यो प्रोजेक्टलाई मूर्त रुप दिदै ‘प्रोजेक्ट २०२५’ को नाम दिइएको थियो। यो प्रोजेक्ट पूर्व ट्रम्प प्रशासनका अधिकारीहरूद्वारा समर्थित हेरिटेज फाउन्डेसनको अगुवाइमा तयार पारिएको हो।

प्रोजेक्ट २०२५ को मिसन भनेको उदारबादीहरू (डेमोक्र्याटहरु) ले गरेका सैद्धान्तिक नीतिगत निर्णयहरूलाई उल्ट्याएर कन्जरभेटिभ (रिपब्लिकन) शासनलाई पुनर्स्थापित र सुदृढ गर्नु थियो । यसको उद्देश्य अझ शक्तिशाली कार्यकारी व्यवस्था सिर्जना गरि नयाँ प्रशासनको पहिलो दिनदेखि नै पुरातनवादी कन्जरभेटिभ नीतिहरू कार्यान्वयन गर्न सकियोस भन्ने हो।

कार्यकारी शक्तिको केन्द्रीकरणलाई प्रमुख लक्ष्य राखि, यसको कार्यान्वयनमा संघीय व्यापार आयोग (FTC) र संघीय सञ्चार आयोग (FCC) जस्ता स्वतन्त्र फेडरल एजेन्सीहरूलाई सिधै राष्ट्रपतिको नियन्त्रणमा ल्याएर कार्यकारी शक्तिको केन्द्रीकरण गर्नु हो।

त्यसैगरि यस प्रोजेक्टले कन्जरभेटिभ एजेन्डा कार्यान्वयन गर्न कर्मचारीको तयारीको महत्त्वलाई जोड दिएको छ। यसमा प्रशासनका लक्ष्यहरू प्रति निष्ठा भएको सम्भावित नियुक्तिहरूको पूर्व-स्क्रीनिङ र तिनीहरूलाई प्रभावकारी रूपमा आफ्नो भूमिका पूरा गर्न व्यापक प्रशिक्षण प्रदान गर्ने कुरा समावेश छ।

प्रोजेक्ट २०२५ ले संघीय कर्मचारीहरूलाई पुनर्वर्गीकृत गर्ने बलियो नीतिगत एजेन्डाको आउटलाइन निर्माण गरेको छ, जसले प्रशासनका उद्देश्यहरूलाई पूरा गर्न अवरोधको रूपमा देखिएका व्यक्तिहरूलाई प्रतिस्थापन गर्न सजिलो बनाउँछ। यसो गर्दा कुटनीतिक पदोन्नति, स्थापित सिस्टम भन्दा बाहिर गएर पनि स्थापित कर्मचारीहरुको विस्थापन र राजनीतिक नियुक्तिहरू गर्न सकिन्छ।

यस प्रोजेक्टमा न्यायिक र प्रशासनिक क्षेत्रमा रिपब्लिकनको पडक कायम गर्न न्याय विभाग र अन्य न्यायिक निकायहरूको स्वायत्ततालाई कम गर्न उपायहरू समेत समावेश छन्, जसले तिनीहरूलाई कार्यकारी प्रशासन प्रति अधिक उत्तरदायी बनाउँछ। बढ्दो आप्रवासीलाई ध्यानमा राखेर यसको नियन्त्रणको निमित्त जनगणनामा नागरिकता सम्बन्धी प्रश्न थप्ने जस्ता कुराहरु समावेश छन् जुन ट्रम्पको पहिलो कार्यकालको क्रममा प्रयास गरिएको थियो तर लागु हुन सकेको थिएन।

‘प्रोजेक्ट २०२५’ को कार्यान्वयन रणनीतिः
विशेष गरेर यो प्रोजेक्ट मुख्यतया चार बुदाहरुको सेरोफेरोमा रहेका छन। पहिलो, प्रशासनलाई मार्गदर्शन गर्न एक व्यापक नीति खाका विकास गर्नु। दोश्रो, नीति एजेन्डा कार्यान्वयन गर्ने कर्मचारीहरूलाई पहिचान दिनु। तेश्रो, नियुक्तिहरूलाई प्रशासनको नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न राम्रोसँग प्रशिक्षण गरि तयार पार्नु। चौथो, नीतिहरूको तीव्र र निर्णायक कार्यान्वयन सुनिश्चित गर्न पहिलो १८० दिनको लागि विस्तृत कार्य योजना प्रदान गर्नु।

यी क्षेत्रहरूमा केन्द्रित गरेर, ‘प्रोजेक्ट २०२५’ ले ट्रम्प प्रशासनको पहिलो कार्यकालमा देखिएका प्रारम्भिक चुनौतीहरूलाई सम्बोधन गर्न र नयाँ कन्जरभेटिव प्रशासनको सुरुवातलाई अधिकतम प्रभावकारी बनाउन तयार गरिएको हो।

‘प्रोजेक्ट २०२५’ ले कसरी नेपालीहरुलाई प्रभाव पार्न सक्छ ?
अमेरिका भन्दा बाहिरको देशमा जन्मेर अमेरिका आई आप्रवासन प्रक्रियाबाट अमेरिकी नागरिकता प्राप्त नागरिकहरुलाई नेचुरलाइज्ड सिटिजन भनिन्छ। पहिलो पुस्ताका प्रायस् सबै अमेरिकी नागरिकता लिएका नेपालीहरु नेचुरलाइज्ड सिटिजन हुन। अधिकांश नेचुरलाइज्ड नागरिकहरू ट्रम्पको ‘प्रोजेक्ट २०२५’ प्रति असहमति जनाउनेहरू छन् । किनभने यसको प्रत्यक्ष प्रभाव आप्रवासीहरुमा पर्ने देखिन्छ।

‘प्रोजेक्ट २०२५’ अन्तर्गत ट्रम्प प्रशासनले आप्रवासन नीतिहरू र सीमा नियन्त्रणलाई थप कडा बनाउन योजना बनाएको छ। यसले नयाँ आप्रवासीहरूलाई अमेरिका आउन कठिन बनाउँछ र पहिले नै यहाँ बसोबास गरिरहेका नेचुरलाइज्ड नागरिकहरूको परिवारलाइ ग्रीनकार्ड दिलाउने गरि बोलाउने तथा अन्य फेमिली भिसाहरुमा थप कडाइ तथा समस्या उत्पन्न गर्न सक्छ।

हाल अमेरिका मै ग्रीनकार्डमा रहेकाहरुलाई नागरिकता प्राप्त गर्न थप र नयाँ कडा मापदण्ड र थप नियमहरूको कारण नेचुरलाइज्ड नागरिकता प्रक्रिया पूर्ण गर्न कठिनाइ हुन्छ। पढ्न आएका बिद्यार्थीहरु, पढाई सकेर ओपीटी तथा एच वान भिसामा रहेकाहरुलाई समेत इएडी, ग्रीनकार्ड प्राप्त गर्न थप कठोर मापदण्डहरू लागु हुनेछन्। यसरी धेरै नेपालीहरुलाई यो प्रोजेक्टले कानूनी समस्यामा पर्न सक्छ र उनीहरूको भविष्य अनिश्चित बनाउन सक्छ।

ट्रम्पको अघिल्लो कार्यकालमा भन्दा अझ बढी आप्रवासीहरूको अधिकार हनन हुनेछ। प्रोजेक्ट २०२५ ले गैरकानूनी आप्रवासीहरूलाई गिरफ्तार र देशनिकाला गर्ने प्रक्रियालाई तीव्र बनाउन खोज्छ। यसले नेचुरलाइज्ड नागरिकहरूका लागि पनि परिवार छुट्टिने र मानसिक तनाव बढ्न सक्छ। यसले गर्दा समुदायमा असुरक्षा बढ्नुको साथै विविध समुदायहरूका आप्रवासी विरुद्धको कडा नीतिहरूले उनीहरूलाई असुरक्षित र अलग महसुस गराउँछ। यसले सामाजिक सद्भावमा प्रतिकूल प्रभाव पार्छ।

प्रोजेक्ट २०२५ को कारण ग्रीनकार्ड र अन्य कानूनी भिसा मै रहेर बिभिन्न सरकारी सामाजिक सेवाहरू प्राप्त गरिरहेको भए त्यसमा पनि कटौती हुन सक्छ । जसले स्वास्थ्य सेवा, शिक्षा र अन्य आवश्यक सेवाहरूमा नेचुरलाइज्ड नागरिकहरूको पहुँचमा छेकबार लाग्ने संभावना देखिएको छ ।

प्रोजेक्ट २०२५ को विवाद र ट्रम्पको स्पस्टोक्तिः
प्रोजेक्ट २०२५ को आलोचना गर्दै उपराष्ट्रपति कमला ह्यारिसको चुनावी टोलीले ट्रम्पको यस प्रोजेक्टलाई प्रमुख मुद्दा बनाउँदै मतदाताहरूलाई जानकारी गराइरहेका छन्। मिनेसोटाका गभर्नर टिम वाल्जले ट्रम्पको प्रोजेक्ट २०२५ को बारेमा तीव्र आलोचना गरेका थिए। उनले यो प्रोजेक्टलाई खतरनाक र जडसुत्रवादी विचारको रुपमा व्याख्या गरेका थिए।

वाल्जले यो प्रोजेक्टले अमेरिकी समाजलाई विभाजित गर्ने र महिला अधिकारलाई हनन गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्। यो प्रोजेक्टले संघीय सरकारको कर्मचारिहरूलाई व्यापक रूपमा हटाएर ट्रम्प समर्थकहरूलाई राख्न खोजिरहेको बताएका छन्, जुन अमेरिकी लोकतन्त्रका लागि खतरनाक हुने बताउँदै आएका छन। कमला ह्यारिसले टिम वाल्जका ट्रम्पको प्रोजेक्ट २०२५ विरुद्धमा लडन सही टिममेटको रुपमा उनलाई भाइस प्रेसिडेण्टको छनौट गरेको भनिन्छ।

यसैबीच यो प्रोजेक्ट हालै विवादमा परेको छ र यसको निर्देशक पाउल डान्सले राजीनामा दिएका छन्। ट्रम्पले आफूलाई यो प्रोजेक्टबाट टाढा राख्दै यसमा कुनै संलग्नता नरहेको दाबी गरेका छन्। त्यसैगरी उनका उपराष्ट्रपति पदका उम्मेदवार जेडी भान्स र ट्रम्पको प्रचार टोलीले पनि यो प्रोजेक्ट २०२५ सँग कुनै सम्बन्ध नरहेको बताएको छ।

ट्रम्पले आफ्नो योजनालाई ‘एजेण्डा ४७’ को नाम दिँदै, आगामी राष्ट्रपतीय अवधिका लागि आफ्ना नीतिहरू प्रस्तुत गरेका छन्। उक्त एजेन्डामा अवैध आप्रवासीहरूको व्यापक रूपमा निर्वासन गर्ने योजना, अमेरिकी (मेक्सिको सीमा पर्खाल निर्माण गर्ने, व्यापारलाई बढावा दिने र कर कटौती गर्ने नीतिहरू, बाइडेन प्रशासनको विद्युत वाहन विस्तार प्रयासहरूलाई रोलब्याक गर्ने, अपराध नियन्त्रण र कानून प्रवर्तन सुदृढ गर्ने कुराहरुलाई प्राथमिकतामा राखेका छन।

झण्डै एकहजार पेजको प्रोजेक्ट २०२५ मा अमेरिकाको ‘अोभरहल’ को सोच देखिन्छ । बाँकी विश्वबाट अमेरिकालाइ अलग पार्दै एउटा सेल्फिस समाजको बाटोमा लाग्न यसले बाटो देखाएको छ । स्कुलहरूमा पाठ्यक्रममा क्रिश्चियनिटी लाद्ने, खाजामा कटाैती गर्ने जस्ता कुराले नेपाली समुदायलाइ निकै प्रभाव पार्नेछ । कामदार, कर्मचारीहरूले सातामा ४० घण्टा भन्दा बढी काम गरेमा पाउने अोभरटाइम (डेढी रकम) भुक्तानी समेत प्रोजेक्ट २५ मा रोक्ने उल्लेख छ ।

समग्रमा अमेरिकालाई सुरक्षित राख्ने, अमेरिकी नागरिकहरुको जागिर सुरक्षा गर्ने, व्यापारमा सुधार र कर नीतिमा कटौति गर्ने कुराहरु उच्च कमाई हुने व्यापारिक, प्रोफेशनल तथा अकाडेमिक पृष्टभूमिमा रहेका नेपालीहरुलाई आकर्षक लाग्नु स्वाभाविकै हो। तर यथार्थतामा यसले २१ अाै शताव्दीको अमेरिका सुहाउँदो अवस्थामा पुर्याउँदैन ।

तर उनको आप्रवासी प्रतिको कठोर नीतिले अमेरिकामा तीन पुस्ता देखि बसेको आप्रवासीहरु चाहे व्यापारिक, प्रोफेशनल तथा अकाडेमिक पृष्टभूमिमा रहेको भए पनि अर्को मुलुकको नागरिक झैँ देख्ने र होच्याउन खोज्ने प्रवृत्ति उनको अघिल्लो कार्यकालमा देखिएको थियो। प्रोजेक्ट २०२५ को कार्वान्वनबाट शुरु भएको उनको चुनावी अभियान अहिले त्यस प्रोजेक्टबाट अलग भए भने पनि उनको ब्यबहारबाट उनी प्रोजेक्ट २०२५ कै बाटोमा हिडिरहेको झैँ देखिन्छ।

यसरी यस पटकको निर्वाचनलाई विश्लेषण गर्दा आप्रवासी स्वाभिमानको निमित्त पनि मैले छोराछोरीकै निष्कर्षलाई आफ्नो पनि निचोड बनाएको छु।

ड्यालस, टेक्सस