बोस्टन। नेपालको जाजरकोटमा हालै गएको भूकम्पले गरेको जनधनको क्षतिप्रति अमेरिकामा रहेका नेपालीहरुले गहिरो दुस्ख प्रकट गर्दै शोक व्यक्त गरेका छन्।
गत कात्तिक १७ गते अर्थात नोभेम्बर ३ तारिख शुक्रबार राति जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण भएको जनधनको क्षतिप्रति अमेरिकाको न्यू इङ्गल्यान्ड क्षेत्रका नेपाली समुदायमा क्रियाशील संघसंस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुलगायत मन्दिरमा उपस्थित रहेका भक्तजनहरुले शोक व्यक्त गरेका हुन्।
उनीहरुले नोभेम्बर ५ तारिख आइतबार साँझ बोस्टनस्थित पशुपतिनाथ बुद्ध मन्दिरमा भेला भइ उक्त घटनाप्रति समानुभूति प्रकट गर्दै सामूहिकरुपमा शोक प्रकट गरेका हुन्।
शोक प्रकट गर्ने क्रममा सहभागीहरुले मृत्युवरण गर्नेहरुको आत्माको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए। तन टाढा भए पनि मन टाढा नभएको र यस घटनाले आफूहरु निकै मर्माहत भएको जनाउदै सहभागीहरुले एक मिनट मौनधारण गरेका थिए।
यसैक्रममा, उनीहरुले मन्दिरमा दीप प्रज्वलन गर्दै शोक सन्तप्त परिवारजनहरुप्रति हार्दिक समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका थिए। उनीहरले यस विपद्को घडीमा सो भूकम्पबाट प्रभावितहरुलाई तत्काल आवश्यकीय सहयोग जुटाउन सबैले आआफ्नो क्षेत्रबाट सक्दो योगदान पुर्याउनका लागि अपिलसमेत गरेका छन्।
यो समाचार तयार पार्दासम्म, भूकम्पमा परी १५७ जनाभन्दा बढीको ज्यान गइसकेको छ। ३७५ भन्दा बढी घाइते भएका छन् भने हजारौँ भौतिक संरचनाहरुमा क्षति पुगेको छ। भूकम्प पीडितहरुलाई तत्काल आवश्यक राहत उपलब्ध गराउनका लागि नेपाल सरकार, राजनैतिक दलहरु, नेपाल तथा नेपाल बाहिर रहेका संघसंस्थाहरु, विभिन्न राष्ट्रहरु, सामाजिक अभियान्ताहरु, सहयोगी हातहरुसमेत भूकम्प गएको क्षेत्रमा जुटिरहेका छन्।
यद्यपि, भौगोलिक विकटता, श्रोत साधनको कमी, कमजोर सरकारी संयन्त्र, कमजोर भौतिक संरचना आदिका कारण राहत तथा उदार कार्य भने यथोचित रुपमा प्रभावकारी हुन सकिरहेको छैन।
प्रतिक्रिया