–हिमालयखबर संवाददाता
विदेशमा बस्ने नेपालीहरुको संस्था एनआरएन(NRNA)को नेतृत्वका लागि अमेरिकाबाट अध्यक्ष, उपाध्यक्ष, महासचिवदेखि विभिन्न पदहरुमा उम्मेदवारी दिन्छु भन्नेहरुको होडनै चलेको छ । अमेरिकाबाट धेरै आकाङ्क्षीहरु देखिएपछि यति धेरै किन भन्ने प्रश्न पनि उठ्न थालेको छ । यसप्रति अन्य देशका डेलिगेटहरुले असन्तुष्टि व्यक्त गर्न थालेका छन्। र, अमेरिकाबाट धेरै उम्मेदवार भएमा, के हामीले त्यहाँकालाई मात्र भोट दिनु पर्छ भन्ने छ र ? यो अष्ट्रेलियाका महाधिवेशन प्रतिनिधिले गम्भिरताका साथ उठाएको गहन प्रश्न हो।
अमेरिकाबाट अध्यक्षम रविना थापा, उपाध्यक्षमा डाक्टर केशव पौडेल, सुनिल शाह, राजन त्रिपाठी, महासचिवमा गौरीराज जोशी, बुद्धि सुवेदी, उपमहासचिवमा प्रमोद सिटौला, सचिवमा राम पोखरेल, कृष्णजिवी पन्त, प्रकाश सापकोटा, महिला सहकोषाध्यक्ष तृष्णा शर्मा लगायतले उम्मेदवारी घोषणा गरेका छन् ।
संस्थाको विधानले व्यवस्था गरे अनुसार, अध्यक्ष १, खुला उपाध्यक्ष ६ ,महिला १ र युवा उपाध्यक्ष १, महासचिव १, उपमहासचिव २ र सचिव ३ पद छन् । यसपटकको कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव कोषाध्यक्ष लगायतका पदमा अमेरिकाबाट प्रतिनिधित्व रहेता पनि यसका कुनै अर्थ रहेन । आईसिसिको ठूला पदमा बसेका यि पदाधिकारहरु बिच एनआरएनए, आईसीसी र एनसीसीलाई कसरी अगाडी वढाउने, विदेशमा बस्ने नेपालीहरुका मुद्दा कसरी उठाउने भन्ने विषयमा एउटा पनि सार्वजनिक छलफल भएन । एनआरएनए अमेरिकालाई विवादमुक्त बनाउन पनि उनीहरु असफल रहे ।
अहिले उम्मेदवारी दिने विषयमा पनि उनीहरुका बिच घनिभूत छलफल हुन सकेको छैन । उ भन्दा म के कम भन्ने शैलीमा उम्मेदवारी दिने घोषणा गर्दै प्रचारबाजीमा जुटिरहेका छन्।
एनआरएनए, एनसीसी अमेरिकाले पनि यति धेरै उम्मेदवारहरुका विषयमा कुनै पनि धारणा सार्वजनिक गरेको छैन । केही महिना अघि आएको नयाँ नेतृत्व सर्वसम्मत रुपमा डेलिगेटको नाम पठाउन समेत असफल भयो । सल्लाहकार र प्रवक्ताहरु चयनको विषयमा नेतृत्व विवादमा परेपछि, एनआरएनए अमेरिका पहिले भन्दा पनि कमजोर र लथालिङ्गको अवस्थामा पुगेको भन्दै एनआरएनए अभियान्ताहरु तथा संस्थाका शुभचिन्तकहरुले चिन्ता व्यक्त गरिरहेका छन्। अन्य देशका उम्मेदवारहरुलाई अमेरिकाबाट के कति मत आउछ भन्ने आंकलन गर्न समेत कठिन भइरहेको अवस्था छ । अमेरकाका डेलिगेटहरुपनि गुट उपगुटमा विभाजित भैरहेका छन् ।यसले गर्दा उपाध्यक्ष पदका लागि बलियो दावेदार मानिएका डाक्टर पौडेलाईसमेत असर पर्न सक्ने देखिएको छ ।
महासचिवमा टक्कर
एनएनआरएनए, आईसीसीको महासचिवमा कसले बाजी मार्ला ? एनआरएनए, अमेरिकाको चासो राख्नेहरुका बिच अहिले अमेरिकामा सबैभन्दा मुख्य चासोको विषय बनेको छ, महासचिवको पद।
अमेरिकावासी द्वय गौरीराज जोशी र बुद्धि सुवेदीले, आसन्न निर्वाचनमा महासचिव पदमा उमेदवारी दिने घोषणा गरेर चुनावी मैदानमा उत्रिरहेका छन्। जोशी एनआरएनए, आइसिसिका वर्तमान महासचिव हुन् भने, अर्का उम्मेदवार बुद्धि सुवेदी एनआरएनए, अमेरिकाका पुर्व अध्यक्ष हुन् । अध्यक्षको पद हस्तान्तण गरेको भोली पल्ट नेपाल गएका सुवेदीले, त्यहीबाट महासचिव पदमा उम्मेदवारी दिने निर्णय गरेका हुन् ।
हिमालयखवरसंगको कुराकारीमा दुबै उम्मेदवारीहरुले आफूले जित्ने दावी गरिरहेका छन् । सुवेदीलाई अलि हतार गरे भनेर आलोचना गरिन्छ भने, जोशीलाई महासचिव भएपछि एनआरएनए अभियानमा लागेकालाई खासै वास्ता नगरेको आरोप लाग्ने गरेको छ।
अमेरिका र क्यानडाबाट महासचिवमा कसलाई कति भोट जाला ? यो अहिलेको सबै भन्दा चासोको विषय बनेको छ। दुबै देशका केही डेलिगेटहरुसंग अनौपचारिक कुराकानीका आधारमा, यदि यही अवस्था रहिरहेमा दुबैले अमेरिका क्षेत्रबाट लगभग बराबरी भोट ल्याउने देखिन्छ। धेरैले यि दुइका बिच यहाँ १९, २० को अवस्था रहेको अनुमान गरिरहेका छन् । अमेरिकाबाट उम्मेदवार दिनेहरुका बिच कुनै सरसल्लाह, समन्वय र सहकार्य नहुदा यस्तो स्थिति आउन पुगेको हो ।
यस्तो अवस्थामा, अष्ट्रेलिया, युरोप , मध्यपूर्व एशियाको मत निर्णायक हुने देखिएको छ । मध्यपूर्वको धेरै मत आर के शर्माको प्रभावमा रहेको बताइन्छ । शर्मा अहिले अध्यक्ष पदका दावेदार हुन् । उनले महासचिवमा जसलाई समर्थन गर्छन् त्यसले नै जित्छ भनेर विश्लेषण गर्नेहरुको जमात पनि कम छैन।
जापानबाट श्रेष्ठलाई धक्का
जापान बस्ने महेशकुमार श्रेष्ठ अध्यक्ष पदका आकाङ्क्षी हुन् । उनलाई कांग्रेस पार्टी समर्थित उम्मेदवार पनि भनिन्छ । तर, उनी जापानमै कमजोर देखिएका छन् । एनआरएनए, एनसिसि जापानका अध्यक्ष अहिले आरकेको पक्षमा देखिएको वताईएको छ। वर्तमान एनआरएनए, आइसिसिका बोर्ड सदस्य तथा आसन्न निर्वाचनमा उपाध्यक्ष पदका आकाङ्क्षी रोबिन शेरचनलाई श्रेष्ठले आफ्नो कित्तामा पार्न सकिरहेका छैन। जापान मध्यपूर्वी क्षेत्र, अष्ट्रेलिया, यूरोप तथा बेलायतमा शेरचनको राम्रो प्रभाव देखिन्छ। यदि शेरचनसंगको बेमेल कायमै रहेमा त्यसले श्रेष्ठलाई निकै क्षति पुग्ने चर्चा चलिरहेको छ।
प्रतिक्रिया