चितवन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने ११ औँ महाधिवेशनमा महासचिव पदमा पुनः गौरीराज जोशीले उमेदवारी दिएसँगै प्रचारप्रसार अभियानलाई तीव्र पारेका छन् । जोशीले २०२३–२५ कार्यकालका लागि फेरि महासचिव पदमा उमेदवारी दिएसँगै नेपालमा आफ्नो प्रचारप्रसार अभियानलाई तीव्र पारेका हुन् ।
गैरआवासीय नेपाली संघमा स्मार्ट एनआरएनए अवधारणा अघि सारेका उनले त्यो अवधारणामा अझै धेरै काम गर्न बाँकी रहेको भन्दै आफूले पुनः उमेदवारी दिएको बताए । ‘मैले सुरू गरेको स्मार्ट एनआरएनए (पोलिसी) अघि बढेर बामे सर्ने अवस्थामा रहेको छ । सबै गैरआवासीय नेपालीहरुले केन्द्रीय नेतृत्वको लागि मतदान गर्ने व्यवस्था गर्नको लागि एउटा इच्छाशक्ति भएको नेतृत्वको आवश्यक हुन्छ मेरो काम पनि सबैले हेर्नु र देख्नुभएकै छ, त्यसको लागि म तयारीमा छु’ जोशीले भने ।
अमेरिकाका सफल युवा व्यवसायी तथा सामाजिक अभियन्ता जोशीले ‘सक्षम, समावेशी र साझा एनआरएनए निर्माण हाम्रो अभियान’ नारासहित उमेदवारी दिने घोषणा गरेका थिए । महासचिव रहँदा उनले गरेका प्रशंसनीय कामले जोशीलाई फेरि महासचिव पदमा उमेदवारी दिन विश्वभरका नेपालीको दबाब छ । एनआरएन अभियानमा पछिल्लो कर्मले उनले सारेका अभियानमुखी कामलाई पूरा गर्न फेरि महासचिवको दाबेदारीमा उनलाई बलियो देखाएको गैरआवासीय नेपालीको बुझाइ छ ।
एनआरएनए अभियानमा लामो समयदेखि लागेका गौरीलाई यतिबेला साथीभाइले महासचिवका लागि अगाडि बढ्न हौँस्याएका छन् । ‘कर्म गरे अवश्य फल पाइन्छ’ भन्ने सोचका साथ अगाडि बढेका गौरीलाई पछिल्लो कार्यकालमा पनि सर्वाधिक भोटका साथ महासचिवमा विजयी गराएका थिए ।
यस कार्यकालमा संस्थामा निकै सक्रिय रहेका जोशी एनआरएनमा भावी अध्यक्ष बनिरहँदा फरक र भिन्नै शैलीमा यसलाई अगाडि बढाउने सोचमा छन् । समूह व्यवस्थापनका कारण यसपटक पनि जोशीलाई महासचिवमा राखेर अध्यक्षको तयारी गराउनका लागि पुनः महासचिवमा उमेदवारी दिएको गैरआवासीय नेपालीहरु बताउँछन् । उनको विकल्पमा कोही नभएको गैरआवासीय नेपालीहरुकै दाबी छ ।
को हुन् गौरी जोशी ?
चितवनको रत्ननगर नगरपालिका वडा नं–१० मा मध्यम वर्गीय परिवारमा जन्मिएका गौरी जोशी सफल व्यवसायी र समाजसेवीका रुपमा अमेरिकीमा अहिले निकै लोकप्रिय छन् । सरल सहयोगी निडर र आत्मीयपनका धनी गौरी जोशी सबैमाझ सहजरुपमा घुलमिल हुनसक्छन् । सहमति, सहकार्य र एकतालाई मूल मन्त्र मान्दै उनले जहिले पनि सबैको भलो हुने गरी काम गर्न रुचाउँछन् । हरेक आपतविपतमा केही न केही सहयोग र सद्भाव काय राख्ने उनको फरकशैली पनि एउटा सफलता कडी मान्न सकिन्छ ।
लामो संघर्षपछि अमेरिकामा स्थापित भए जोशी । तर, उनको प्रारम्भिक यात्राको गोरेटो भने सहज थिएन । काठमाडौँबाट उच्च शिक्षा सकेर उज्ज्वल भविष्यको खोजीमा अमेरिका भासिएका जोशीले सुरूमा जागिर, कोठा अनि पढाइका लागि निकै दौडधूप गरे ।
पुर्ख्यौली जग्गा बेचेर विद्यार्थी भिसामा अमेरिका पुगेका गौरीले डालासबाट आइटीमा मास्टर्स डिग्री गरे । अमेरिका आमनेपालीका लागि सपनाको संसार भएका बेला गौरीले आफ्नो भविष्यको बाटो रोजिसकेका थिए । पढाइ पूरा गर्नासाथ सन् २००० तिर उनले एउटा आइटी कम्पनीमा जागिर पाए । काम र अनुभवसँगै उनले आफ्नै आइटी कम्पनी खोले ।
भस्टीका नाम दिइएको उनको आइटी कम्पनीले बिस्तारै बजार लियो र व्यवसायमा सफलता पाउन थाले । यतिखेर डालासस्थित उनको आइटी कम्पनी अमेरिकाकै उत्कृष्टमध्येको एक मानिन्छ । गौरीको प्रगति र उन्नतिका कथाहरु एकपछि अर्को चम्कँदै गए । धनसँगै उनको मित्रवत् व्यवहार र सहयोगी भावनाले उनलाई संसारभर छरिएका प्रवासी नेपालीबीच छोटो समयमै घुलमिल गरायो । लाखौँ प्रवासी नेपालीको मन मष्तिस्कमा रहन सफल भए उनी ।
गैरआवासीय नेपाली संघ (आइसिसी) को विभिन्न पदमा रही जोशीले व्यावसायिक सफलतासँगै एनआरएन अभियानका सारथिका रूपमा आफूलाई अगाडि बढाउँदै लगे । दुई जनाबाट सुरू भएको उनको व्यवसायले हजारौँलाई रोजगार दिएको छ । भास्तिकाका चारदेखि पाँच हजार उत्पादन विश्व बजारमा स्थापित भइसकेका छन् ।
एटिएन्ड टी, सिटी बैंक र अमेरिकन एअरलाइन्सजस्ता प्रसिद्ध व्यावसायिक घरानामा समेत जोडिएको उनको कम्पनीले भारत र नेपालमा समेत सेवा विस्तार गरिसकेको छ । जोशीले यस व्यवसायबाट सफलता हात पाएसँगै रियल स्टेट, ग्यास स्टेसनलगायतमा हात हालिसकेका छन् । अमेरिकाको टेक्सासलाई आधार बनाएका जोशी व्यवसायसँगै परोपकारी कार्यमा पनि क्रियाशील छन् ।
डेढ दशकअगाडि नेपाली समाज टेक्सासमार्फत परोपकारी कार्यमा जुटेका गौरीको मुलुकसँग जोडिने अभियानमा महत्त्वपूर्ण भावहरू अझै छचल्किन्छन् । ‘सबैभन्दा पहिलो कुरा भनेको ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने मूलमन्त्रलाई बोकेर विदेशमा सिकेको ज्ञान र सीपलाई मुलुकसम्म पुर्याउने अनि विदेशमा स्थापित नयाँ पुस्तालाई मुलुकसँग जोड्ने उनको अभियान अझै जारी छ’, उनले भने, ‘विदेशमा पढेँ, व्यवसाय गरेँ, धन कमाएँ र अहिले अमेरिकामा बसेर ससारभर छरिएर रहेका प्रवासी नेपालीको मन जित्ने अभियानमा लागेको छु ।’
सुरूका दिनमा समाजसेवा गर्दा उनको महत्त्वपूर्ण अभियान थियो–भाषा पाठशाला । दोस्रो पुस्तामा जबसम्म हामीले नेपाली भाषा हस्तान्तरण गर्न सक्दैनौँ, तबसम्म मुलुकसँग जोड्ने अभियान अधूरै हुने उनको विश्वास छ ।
‘विदेशमा हुर्केका र जन्मेका नयाँ पिंढीले नेपाली बुझेनन् र जानेनन् भने उनीहरूले नेपाली कला संस्कृति अनि भेषभूषा पनि जान्दैनन् । त्यसपछि विस्तारै मुलुकसँग पनि पर हुन्छन् त्यसैले पहिलो कामका रुपमा हामीले नेपाली भाषाको हस्तान्तरण गर्ने काम गर्नुपर्छ’, गौरीले आफ्नो अभियानमा क्रममा भने ।
सहयोग र परोपकारी अभियानमा सधैँ अगाडि सर्ने गौरीले टेक्सासको नेपाली सांस्कृतिक केन्द्र होस् या चितवनको हिन्दु विद्यालय अनि चेपाङ बस्ती या सिन्धुका शिक्षालयमा लाखौँ सहयोग गरेका छन् । उनले आफ्नै सहयोगी संस्था आमा फाउन्डेसनमार्फत समेत विभिन्न सामाजिक काम गरेका छन् । उनकै पहलमा चितवनमा भरतपुर रक्त संकलन गर्ने बससमेत सहयोग भएको थियो ।
प्रतिक्रिया