मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   

सुरुङमार्ग ‘ब्रेक थ्रु’को विष्फोटनसँगै यातायातमा नयाँ युगको सुरुआत

सुरुङमार्ग ‘ब्रेक थ्रु’को विष्फोटनसँगै यातायातमा नयाँ युगको सुरुआत


शेयर गर्नुहोस:

459
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नागढुङ्गा सुरुङ निर्माण आयोजनाअन्तर्गत आपत्कालीन उद्धार सुरुङ (रेस्क्यु टनेल)को सोमबार ‘ब्रेक थ्रु’ भएको छ । उक्त सुरुङमार्ग वारपार छिचोलिएसँगै मुलुकको यातायात क्षेत्रमा नयाँ युगको सुरुआत भएको बताइएको छ ।

नेपालको यातायात क्षेत्रको पहिलो आधुनिक सुरुङमार्ग निर्माण थालिएको तीन वर्ष सात महिनामा आपत्कालीन सुरुङको आज ‘ब्रेक थ्रु’ गरिएको हो ।

Advertisement

नागढुङ्गा सिस्नेखोला सुरुङमार्गअन्तर्गत उक्त सुरुङको आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदूत किकुता युताकाले दुवै देशको संस्कृतिअनुसार पूजा गरेर ‘ब्रेक थ्रु’ गरेका हुन् । सो अवसरमा भौतिक राज्यमन्त्री नन्दा चपाईं, सडक विभागका महानिर्देशक सुशीलकुमार ढकाल, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सञ्चारकर्मी, सो क्षेत्रका स्थानीय तहका प्रमुखलगायत सुरुङभित्रै सहभागी थिए ।

मुख्य सुरुङ छिचोल्न बाँकी नै भए पनि आपत्कालीन सुरुङ भने छिचोलिएको हो । आपत्कालीन उद्धार सुरुङको सफल ‘ब्रेक थ्रु’ उत्सवका अवसरमा मन्त्री ज्वालाले यो शुभारम्भ ऐतिहासिक र गौरवपूर्ण दिन भएको बताए । उनले केही समयपछि मुख्य सुरुङको पनि ‘ब्रेक थ्रु’ हुने र एक वर्षमा सुरुङमार्गमा यातायातका साधन सुचारु हुने विश्वास दिलाए ।

हाम्रै पालामा यातायात सुरुङमार्गमा प्रवेश गरेको उल्लेख गर्दै मन्त्री ज्वालाले नियमित अनुगमन गरेर निर्धारित समयमा सो मार्ग सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । निर्माणका क्रममा केही समस्या भए सरोकारवालासँग बसेर हल गर्न आफू तत्पर रहेको उनले विश्वास दिए । साथै मन्त्री ज्वालाले आयोजनामा आर्थिक सहयोग गर्ने जापान सरकार र जाइकालाई धन्यवाद दिँदैै नेपालको पूर्वाधार क्षेत्रको विकासमा आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।

सो अवसरमा राजदूत किकुताले सुरुङमार्गको ‘ब्रेक थ्रु’मा भएको विष्फोटनको आवाजले नेपालमा नयाँ युगको आरम्भको सङ्केत गरेको बताउँदै आफू यसको प्रत्यक्षदर्शी हुन पाउनु गौरवको विषय हो भने । उनले यस्तो चुनौतीपूर्ण निर्माण परियोजनामा संलग्न सबैप्रति सम्मान व्यक्त गर्दै सबैको एक एक योगदानले आजको सफलता सम्भव भएको उल्लेख गरे ।

आयोजनाको निर्माण सम्पूर्ण कार्य सम्पन्न हुन केही समय लाग्ने र त्यसदिनको प्रतीक्षारत रहेको उल्लेख गर्दै उनले नेपालमा आजको यो दिन अविष्मरणीय रहने बताए ।

यो आयोजनाको सुरुआत धादिङको धुनीवेशी नगरपालिकाबाट भई काठमाडौँको चन्द्रागिरि नगरपालिकामा अन्त्य हुनेछ । आयोजनाको दोस्रो पटक म्याद थपपश्चात अप्रिल २०२४ मा सम्पन्न गर्ने समयावधि रहेको छ । आयोजनाको कुल लागत रु २० अर्ब ६० करोड मध्ये जाइकाले रु १५ अर्ब ८० करोड सहुलियत ऋणमार्फत उपलब्ध गराउने छ भने बाँकी रु चार अर्ब ८० करोड नेपाल सरकारले व्यहोर्ने प्रावधान रहेको छ ।

साढे दुई किलोमिटर लम्बाइ र साढे चार मिटर चौडाइको आपत्कालीन सुरुङमा सातवटा क्रस प्यासेज राखिएको छ । सुरुङभित्र कुनै दुर्घटना हुँदा वा अन्य कारणले मुख्य सुरुङ अवरुद्ध हुँदा प्रयोगमा ल्याउन मुख्य सुरुङसँगै निर्माण गरिएको आकस्मिक सुरुङ छिर्न मुख्य सुरुङमा सातवटा गेट राखिएको छ ।

आयोजनाको मुख्य सुरुङको लम्बाइ भने दुई हजार छ सय ८८ मिटर छ । त्यसमध्ये सोमबारसम्म दुई हजार एक सय ८६ मिटर सुरुङ खन्ने काम सकिएको आयोजनाले जनाएको छ । मुख्य सुरुङ खन्न अब पाँच सय दुई मिटर मात्र बाँकी छ । आगामी मङ्सिरसम्ममा मुख्य सुरुङ पनि वारपार छिचोल्ने गरी काम भइरहेको छ ।

विसं २०७६ कात्तिक ६ गते सुरुङमार्गको औपचारिक शिलान्यास भए पनि सुरुङ खन्ने काम भने झन्डै १४ महिनापछि २०७७ पुस ८ गतेदेखि मात्रै सुरु भएको हो । काठमाडौँ उपत्यकाको मुख्य प्रवेश विन्दु मानिने नागढुङ्गा क्षेत्रमा हुने ट्राफिक जाम कम गर्न, इन्धनको बचत गर्न तथा सहज यात्राका साथै वायुप्रदूषण कम गर्नका लागि सुरुङमार्ग उपयोगी हुनेछ ।

मुलुकका प्रमुख सहरसँग सम्पर्क गर्दै काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक नारायणगढ–मुग्लिन–नौबिसे–काठमाडौँ खण्डमा पर्ने नागढुङ्गा भञ्ज्याङमा सुरुङमार्ग निर्माण गरिएको हो । जापानी कम्पनी हाजमा एन्डो करर्पोरेसनले सो सुरुङमार्ग निर्माणको जिम्मा पाएको छ । आयोजनाअन्तर्गत हाल बलम्बुमा ‘फ्लाईओभर’ निर्माण कार्यसमेत भइरहेको छ ।

शेयर गर्नुहोस:

459
Shares