मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पत्रकार त्रिभुवन पौडेलको निधनमा महासंघ स्तव्ध, १३ दिनसम्म शोक मनाउने निर्णय

पत्रकार त्रिभुवन पौडेलको निधनमा महासंघ स्तव्ध, १३ दिनसम्म शोक मनाउने निर्णय


भरतपुर । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको ३७ वर्षको अल्पायुमै निधन भएको छ ।
 
पत्रकार पौडेल २०७७ फागुन ५ गते महासंघको २६औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । २०७४ सालमा महासंघ गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्ष र त्यसअघि कास्की शाखामा एकपटक उपाध्यक्ष र दुईपटक सचिवका रुपमा योगदान दिएका थिए ।
 
आइतबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलायन्सको नाइनएन एएनसी एटिआर–७२ जहाज अवतरणका क्रममा पोखराको पुरानो र नयाँ एयरपोर्टको बीचमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा पत्रकार पौडेलसहित ६८ यात्रु र चालक दलका चार सदस्य गरी ७२ जना रहेका थिए ।
 
नेपाल पत्रकार महासंघले केन्द्रीय सदस्य पौडेलसहित विमान दुर्घटनामा निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । महासंघका महासचिव रोसन पुरीद्वारा जारी शोक विज्ञप्तिमा शोकसन्तप्त सम्पूर्णको परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गरिएको छ ।
पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरू गरेका पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रिन्जरका रूपमा काम गरेका थिए । विभिन्न पत्रपत्रिकामा स्तम्भ र लेख लेख्दै आएका पत्रकार पौडेल पछिल्लो समय पोखरा हटलाइन दैनिक पत्रिकाकै प्रकाशक/सम्पादकका रूपमा कार्यरत थिए । स्वर्गीय पौडेलका आमा, श्रीमती र एक छोरा छन् ।
 
यसैबीच, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले केन्द्रीय सदस्य पौडेलको निधनमा महासंघ केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ ।

जसअन्तर्गत सोमबार महासंघ केन्द्र, प्रदेश र सबै शाखा कार्यालय बन्द गर्ने तथा १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने र सोमबारदेखि १३ दिनसम्म केन्द्रीय कार्यालयलगायत प्रदेश र शाखा कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

 
यसैबीच, नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष विकासराज न्यौपानेले शोक वक्तव्य प्रकाशित गर्दै पत्रकार एवं आत्मीय मित्र त्रिभुवन पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको र भातृसंस्था पत्रकार महासंघले उदीयमान पत्रकार नेता गुमाएको स्मरण गरेका छन् ।
 
उनले शोक वक्तव्यमा भनेका छन्, ‘निशब्द छु आज ! अलबिदा प्रिय साथी, सहकर्मी मित्र त्रिभुवन पौडेलको दुःखद निधनको खबरले अत्यन्तै मर्माहत र स्तव्ध भएको छु । स्वर्गीय मित्र त्रिभुवनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
 
अध्यक्ष न्यौपाने एक साताअघिमात्र उनीसँग भेट गरेर छुटेका थिए । उनले अगाडि भनेका छन्, ‘कुन बेला जीवनमा कस्तो मोड आउँछ कसैले भन्न र सोच्न नसकिने रहेछ…, आज यो हरफ तिमीमै लागू भयो । तिमीले दुई दिनअगाडि सेयर गरेको यो हरफले निकै विक्षिप्त बनायो त्रिभुवन ! कति निष्ठुरी रहेछ दैव ! जनप्रिय स्कुलअगाडिको कफी सपको बसाइ नै अन्तिम भयो । हार्दिक श्रद्धाञ्जली । सधैँ स्मरणमा रहने छौ । परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस्, अलबिदा मित्र… ।’
 
उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् : 
त्यो अन्तिम भेट ! “विकास सर अब तपाईंको नेपाल बसाइ अलि बाक्लो बनाउनुपर्यो । हाम्रो क्षेत्रमा हामीले गर्न सक्ने र गर्नुपर्ने धेरै छ । अब नियमित कुराकानी भइहाल्छ, अमेरिका यात्रा सुखद रहोस् ।” पोखराबाट हामी छुट्टिने बेला जनप्रिय स्कुलअगाडिको कफी सपमा भएको यही संवाद नै अन्तिम बन्यो । साह्रै राम्रो सम्भावना बोकेका थियौ, यति चाँडै हामीबाट बिदा हुने भएरै वा किन हो ? रसिक, सक्रिय र उद्देश्यमा तेज थियौ । हरेक भेटघाट र बैठकहरुमा तिम्रो उपस्थिति अविस्मरणीय हुन्थे । अब केबल ती दिनहरु सम्झनामा मात्र रहिरहने छ । आज पोखरामा भएको विमान दुर्घटनामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, सबैका प्रिय सहकर्मी मित्र, त्रिभुवन पौडेलको दुःखद निधनको खबरले अत्यन्तै मर्माहत र स्तव्ध भएको छु । स्वर्गीय त्रिभुवनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । त्रिभुवनजीलगायत यो दुर्घटनामा ज्यान गुमाउने सबैको आत्मालाई चिरशान्तिको कामना । निशब्द छु आज ! अलबिदा प्रिय साथी !