मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चीन र अमेरिकाद्वारा पोखरा विमान दुर्घटनाप्रति दुःख व्यक्त

चीन र अमेरिकाद्वारा पोखरा विमान दुर्घटनाप्रति दुःख व्यक्त


काठमाडौँ । पोखरामा भएको विमान दुर्घटनाप्रति चीन र संयुक्त राज्य अमेरिकाले दुःख व्यक्त गरेका छन् । काठमाडौँबाट पोखराका लागि आइतबार बिहान उडेको यति एयरलाइन्सको विमान पोखरामा अवतरण गर्नुअघि दुर्घटनामा परेको थियो । विमानमा चालक दलका चार सदस्यसहित ६८ यात्रु सवार थिए ।
 
यहाँस्थित अमेरिकी राजदूतावासले सामाजिक सञ्जालमार्फत उक्त दुःखद दुर्घटना अत्यन्त मर्माहत भएको उल्लेख गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ । 
 
यसैगरी चिनियाँ राजदूत छेन सोङले ट्विट गर्दै विमान दुर्घटनाले निकै स्तब्ध भएको उल्लेख गर्दै दुःखद घडीमा नेपाली जनताका साथमा रहेको बताएका छन् । उनीहरुले विमान दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । 
 
राष्ट्रपतिद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त
 
राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् । 
 
राष्ट्रपति भण्डारीले ट्वीट गर्दै दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी छन् । 
 
“यती एयरलाइन्सको एटिआर–७२ विमान पोखरामा दुर्घटना भएको खबरले स्तब्ध भएको छु । दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु”, राष्ट्रपतिले ट्वीटमा उल्लेख गरेकी छन् । 
 
प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा आइतबार भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको थियो । 
 
प्रधानमन्त्रीले उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री पोखरा विमानस्थल पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दुर्घटनाको विषयलाई लिएर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । 
 
कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पोखरामा आइतबार भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ जहाज पोखरामा आइतबार बिहान दुर्घटनाग्रस्त भएको थियो । 
 
सभापति देउवाले दुर्घटनाको तत्कालै प्रभावकारीरुपमा उद्धार गर्न सरकारसँग आग्रह गर्दै उद्धारमा खटिन कांग्रेसका स्थानीय कार्यकर्तालाई निर्देशन दिएका छन् । विमान दुर्घटनामा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य थिए । 
 
विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि सेती नदी किनारमा दुर्घटना भएको थियो ।  
 
पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त
पूर्वराजा ज्ञानेन्द्र शाहले विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनामा पूर्वराजा शाहको सचिवालयले  एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन् ।  
 
जारी विज्ञप्तिमा आइतबार पोखराको सेती खोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको उल्लेख छ । साथै विमान दुर्घटनामा परी जीवन गुमाउनेका परिवारप्रति समवेदनासमेत व्यक्त गरेका छन् । 
 
अध्यक्ष ओलीद्वारा दुःख व्यक्त 
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारी उद्धारका लागि सरकारलाई आग्रह गरेका छन् । 
      
काठमाडौँबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरले अत्यन्तै दुःखी बनाएको बताएका छन् ।
      
सामाजिक सञ्जालमार्फत् अध्यक्ष ओलीले लेलेका छन्, “दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”
 
अध्यक्ष नेपालद्वारा दुःख व्यक्त
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।  
 
काठमाडौँबाट आइतबार बिहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटनामा परेको हो । दुर्घटनाको तत्कालै प्रभावकारीरुपमा उद्धार गर्न अध्यक्ष नेपालले सरकारसँग आग्रह गर्दै उद्धारमा खटिन आफ्ना पार्टीका स्थानीय कार्यकर्तालाई निर्देशन दिएका छन् । 
 
उक्त विमानमा चालक दलका चार जना सदस्यसहित ६८ यात्रु सवार थिए । विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि दुर्घटनामा परेको हो । 
 
प्रदेश प्रमुखद्वारा दुःख व्यक्त
 
पोखरामा भएको यती एयरलायन्सको जहाज दुर्घटनाप्रति गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दुःख व्यक्त गरेका छन् । 
 
प्रदेश प्रमुख गुरुङले आइतबार शोक वक्तव्य जारी गर्दै दुर्घटनाको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गरेका छन् । दुर्घटनाबाट गण्डकी प्रदेशसहित सिङ्गो मुलुक स्तब्ध भएको भन्दै वक्तव्यमा मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।